
दिलरुबा,
यो पत्र तिमीसम्म पुग्छ या पुग्दैन, त्यो भन्न सक्दिनँ। तर तिम्रो सम्झनाको झरीमा रुझ्दै आज तिम्रो नाममा यो पत्र कोर्दैछु। लेख्नुपर्ने धेरै कुराहरु भए पनि औंलाहरु तिम्रै नाममात्र लेख्न खोज्छन्। भन्नुपर्ने कुराहरु पनि धेरै छन्। तैपनि ओठहरु तिम्रै नाममात्र बोलेर बसिदिन्छन्। ओठलाई सम्झाएर, औंलाहरुलाई बुझाएर, लेख्दैछु यो पत्र। कतै भेट्यौ भने पढ ल!
अस्ति ‘रोज डे’ भनेर फेसबुकका भित्ताहरु रंगिएको देखेँ। अनि तिमीलाई सम्झिएँ। मेरो अँगालोको गमलामा हरदम फुलिरहने गुलाब जो थियौ तिमी। यता प्रणयको याम शुरु भएको छ। जताततै प्रेमको चर्चा छ। कोही आफ्ना प्रेयसीका निम्ति उपहार किनिरहेछन्। कोही कविता कोरिरहेछन्। जबजब प्रणयका कुराहरु आउँछन्, म तिमीलाई सम्झिन्छु। जबजब प्रेमका चित्रहरु बनाउन खोज्छु, तिम्रै अनुहार सम्झने गर्छु। आखिर मैले लेख्ने शायरीमा प्रेमिल अलंकार बनेर तिमी नै त बसेकी छौ।
मेरो भौतिक सम्बन्धको गोलार्धबाट तिमी टाढिएकी धेरै भयो। तैपनि मेरो आत्माको आँगनमा छुनुमुनु गरेर घुमिरहने पुतली आज पनि तिमी हौ। निर्दोष थियौ तिमी। तर दोषी त म पनि थिइनँ। हामीले परिस्थितिलाई अपराधी बनाएर हाम्रा प्रेमका खातापाता बन्द गरेको दिन सम्झन्छु। मन कहालिन्छ। ‘मायाको भारी बिसाउनु पर्छ हामीले,’ यति भन्न कति गह्रुङ्गो भएको थियो तिमीलाई, याद छ?
‘म मांगलिक हुँ। म तिमीसँग बिहे गर्न सक्दिनँ,’ तिमीले भनेकी थियौ।
‘के फरक पर्छ र?’ मैले सोधेको थिएँ।
‘तिमीलाई अनिष्ट हुन्छ,’ तिमी घाँटीको किलकिलोमा रुवाइ अड्काएर बोलेकी थियौ।
‘तिमी भएनौ भने झन् ठूलो अनिष्ट हुनेछ मेरो जीवनमा,’ मैले त रुवाइ पनि अड्काउन सकेको थिइनँ। ‘प्लिज, छोडेर नजाउ।’ मैले यत्ति भन्न सकेको थिएँ। याद छ तिमीलाई? मैले बिसाएको बिन्तीमा आफ्ना पैतालाहरुले कुल्चिएर निस्केकी थियौ तिमी। तिमीले टेकेका आँसुका दागहरु अझै छापिएको छ मेरो मानसपटलमा। तिमीले मेट्यौ र?
अन्धबिश्वासको ताकतले पनि मेरो तिमीप्रतिको आस्था छुटाउन सकेन। आशक्ति थिएन मेरो केही पलको। त्यो त प्रेम थियो हरपलको। तिमीलाई धेरै कुराको डर थियो। त्यसैले त मुखै फोरेर भनेकी थियौ, ‘तिम्रो हैसियत पुग्दैन मेरो परिवारसँग नाता जोड्न।’ सत्य यो थियो तिमीले धेरै दिनदेखि भन्न नसकेको।
कति निष्ठुरी बनेकी थियौ तिमी। हामीले एउटै बोत्तलबाट पिएको कोकाकोला भन्दा पनि चिसो थियो त्यतिबेला तिम्रो मन। आखिर केको डर उम्रिएको थियो तिम्रो हृदयमा? शहरमा मेरो आफ्नै घर थिएन होला। एउटा छत दिन सक्थें त तिमीलाई। घामको तापबाट आफू डढेर पनि जोगाउने थिएँ तिमीलाई। लाज ढाकिदिन सक्ने थिएँ। भोक मेटिदिन सक्ने थिएँ। स्वाद र रङ्ग भनेको मान्छेको मन हो। मन भए पानीमा पनि स्वाद भेटिन्छ। बतास पनि रङ्गिन देखिन्छ। अनि यो हैसियत भनेको के थियो दिलरुबा? म अझै तिम्रो यही शब्दजालमा अल्मलिइरहेको छु।
म अझै पनि तिमीलाई निर्दोष देखिरहेको छु। तिमीले सकेनौ बिद्रोह गर्न। सकेनौ आफ्नो प्रेमको पक्षमा लड्न। प्रेमीहरु त बिद्रोही हुन्छन्। क्रान्तिकारी हुन्छन्। तिमी कसरी पराजित हुन सक्यौ आफैँसँग? के महल र गाडीमात्र सुखका बिम्बहरु हुन्? तिमीले बिर्सियौ हामीले सँगै लोकल बसमा उभिएर गरेको यात्रा? तिमीले भेट्न सकेकी थिइनौ गाडीको डण्डी। समाएकी थियौ मेरो कम्मरमा। कति धेरै खुशीहरु फुलाएकी थियौ तिमीले आफ्ना आँखाहरुमा। बिर्सियौ र दिलरुबा, मेरा हातबाट चाउचाउको मसला चाटेर खाएको क्षण?
के मायामा स्वाद थिएन र?
तिमीले बिर्सियौ हामीले सँगै लोकल बसमा उभिएर गरेको यात्रा? तिमीले भेट्न सकेकी थिइनौ गाडीको डण्डी। समाएकी थियौ मेरो कम्मरमा। कति धेरै खुशीहरु फुलाएकी थियौ तिमीले आफ्ना आँखाहरुमा। बिर्सियौ र दिलरुबा, मेरा हातबाट चाउचाउको मसला चाटेर खाएको क्षण?
परिवारलाई सन्तानको भबिष्यको चिन्ता रहन्छ। धन दौलतले भबिष्यको बिमा गर्दछ। तर के पैसाले खुशी किन्न सक्छ र? गलाभरि सुनैसुन पहिरिएर त्यहिभित्र पश्चातापको भक्कानो कसरी रोकेर हाँस्न सक्छ मान्छे? प्रेमबिना त भब्य महलभित्र पनि निस्सासिन्छ मान्छे। प्रेमबिना त शानदार गाडीभित्र पनि गल्छन् हातगोडा। त्यो प्रेम नै हो जसको उपस्थितिमा उज्यालिन्छ मान्छेको अनुहारको बँगैचा। तिमीलाई थाहा छ, मुस्कानमात्र यस्तो फूल हो जो प्रेमको मट्टीमा बाह्रैमास फुल्दछ। के तिमी अहिले हाँसिरहेकी छौ त?
तिम्रा बिहेका फोटाहरु देखेको थिएँ। खुशी थियो तिम्रो परिवार। दम्भी देखिन्थे तिम्रा बाआमा। सायद पूरा भयो होला छोरीको भब्य बिहे गरिदिने सपना। के त्यो खुशी छोरीको बिहेको आडमा आफ्नो रवाफ देखाउनुको सन्तुष्टि मात्र हैन र? आफ्नो आडम्बरको प्रदर्शन गर्ने हेतुले कसरी सक्छ मान्छे आफ्नै सन्तानको खुशीको बस्तीमा डोजर चलाउन?
तिमी पनि मुस्कुराएकी थियौ। तर तिम्रो जिरो वाटको मुस्कान देखेपछि मैले भन्नैपर्छ, साँच्चीकै मुस्कुराउनु र अभिनय गर्नु फरक कुरा हुन्।
तिमीलाई त अभिनय गर्न पनि आउँदैन। जसरी अन्तिम पटक तथानाम गाली गरेर गएकी थियौ मलाई। भनेकी थियौ, ‘आफ्नै पेट पाल्न नसक्ने हुतिहाराले अब मलाई पाउने सपना नदेख्नू।’ तिमी नरिवलको जटाजस्तै कठोर बनेको अभिनय गर्दै थियौ। तर म भने तिमीभित्रको शीतल पानी महशुस गर्दै थिएँ।
तिमी त गयौ। मबाट टाढा भयौ। बा’आमालाई खुशी दियौ। भनिन्छ नि, अरुलाई खुशी दिने मान्छे यसै खुशी हुन सक्छ। संसारका सबै खुशीहरु तिम्रो चरणमा आएर आत्मसमर्पण गर्नेछन्। आखिर माया भनेको पनि मौसमजस्तै न हो। जाडोजस्तै, गर्मीजस्तै न हो।
तिमी मलाई पोहोर परारको मौसमझैँ भुल्दै जानेछौ। जुन याम आज तिमीसँग छ, त्यसैलाई तिमी स्वीकार्ने छौ। उसैलाई महशुस गर्नेछौ।
तिमीलाई अहिले आफूसँगै भएको जाडो धेरै जाडो लाग्नेछ। आफूसँगै भएको गर्मी धेरै गर्मि लाग्नेछ। जब जाडो, गर्मी, झरी, हिउँद उसैसँग झेल्दै जानेछौ, मलाई भुल्दै जानेछौ। तर के म भुल्न सक्छु होला र?
म त यी यसैगरि प्रणयको याम आउनासाथ तिमीलाई सम्झनेछु। जाडो हुनेछ, तिम्रो तिम्रो ओठबाट पिएको तातो चुम्बनको प्याला सम्झनेछु।
गर्मी हुनेछ, तिम्रै केशको छहारीमा छेलिएर काखमा सुस्ताएको सम्झना गर्नेछु। झरी पर्नेछ, तिम्रै कुर्ताको सल ओढेर मेरो पाइन्ट र तिम्रो सुरुवाल कुर्कुच्चाबाट अलि माथि सारेर हिलोमा ढ्यापढ्याप टेकेर हिँडेको सम्झना गर्नेछु।
म त तिम्रा यादहरुसँग जिउनेछु। बिवाह प्राविधिक कुरा हो दिलरुबा। प्रेम आत्मिक। अझ भन्नुपर्दा अध्यात्मिक कुरा हो। के मान्छे देउता देखिएन भनेर पुजा गर्न छोड्छ र? बरु ऊ त मूर्ति स्थापना गरेर भए पनि पूजा गरिरहन्छ। देउताले केही दिएनन् भनेर कोही आस्तिकले देउता फ्याँक्छ र? बरु ऊ आफ्नै प्रारब्धलाई धिक्कारेर भएपनि आफ्नो अर्चनालाई जारी राख्दछ।
त्यसैले दिलरुबा तिमी देउता हौ म भन्दिनँ। तर तिमीलाई मैले गरेको प्रेमपूजाभन्दा चाहिँ कम छैन। के तिमी मलाई मेरो आध्यात्मिक प्रेमको पुजा गर्नबाट रोक्न सक्छौ र?
अन्त्यमा,
तिमी जहाँ रहनु, खुशी रहनु। कुनै दिन मेरो याद आएर हाँस्न गाह्रो भयो सम्झनु, म त्यही तिम्रा लुगाभित्र पात पतिंगरहरु फुत्त राखिदिएर तिमीलाई सताउने बाँदर हुँ। कुनैदिन बेस्सरी दुख पर्दा रुन सकेनौ भने पनि सम्झनु, म तिम्रो त्यही अभागी प्रेमी हुँ, जसले तिमीलाई बेहिसाब प्रेम गर्ने मन लिएर जन्मेको थियो तर बिहे गरेर आफ्नो बनाउने हैसियत बनाएको थिएन।
अरु त के भनौँ। तिमीले यो पत्र पढ्यौ। म यतिकै खुशी भएँ। दुखको महासागरमा हेलिएको मान्छेलाई खुशी हुन अरु के चाहिन्छ र? कसैले आफू रोएको सुनिदियो भने पनि यतिकै खुशी होइँदो रै’छ। अब तिमीलाई कहिल्यै पत्र लेख्ने छैन। तिमी पनि मबाट धेरै टाढा भैसक्यौ। सुनेको छु तिमी गएको ठाउँमा त पानी पनि पर्दैन रे, जाडो पनि हुँदैन रे।
तिमी शितल मानेर बस्नु। अबबाट जाडो, बर्खा सबै भुल्नु है?
तिम्रो बाँदर।