
ललितपुर-गत साता एक कैदीलाई भेट्न उनकी आमा नख्खु कारागारमा पुगिन्। मानसिक रोगबाट पीडित उनलाई भर्ना गरेरै उपचार गर्नुपर्ने देखिएको कारागारमा कार्यरत स्वास्थ्यकर्मीले सल्लाह दिएका थिए । त्यहाँबाट आमा छोराको उपचारका लागि कुरा गर्न अस्पताल आएकी थिइन्।अस्पतालले अहिले कुनै पनि श्यया खाली नभएको भन्दै फर्काएको उनले बताइन्। उनले भनिन्, ‘खै कहिलेसम्म कुर्नुपर्ने हो टुङ्गो छैन।’
लगनखेलस्थित मानसिक अस्पतालमा दैनिक देखिने दृष्य हो यो। मानसिक रोग सम्बन्धी केन्द्रीय अस्पतालमा श्यया अपर्याप्त हुँदा उपचारका लागि त्यहाँ आएका धेरै बिरामी फर्किने गरेका छन् ।
बहिनीलाई जचाँउन नुवाकोटबाट आउनुभएका एक युवक श्यया अभावकै कारण फर्कन लागेको बताइन्। कडा खालका मानसिक रोग भएकाले भर्ना गरेर उपचार गर्नुपर्ने मानसिक रोग विशेषज्ञ सल्लाह दिएको उनले बताए।
उनले भने, ‘कुरेर यहाँ बस्नुभन्दा यहाँ श्यया खाली भएको खबर आएपछि नै आउनुपर्ला।” अस्पतालमा श्यया अभावका कारण मानसिक रोग विशेषज्ञले सल्लाह दिनासाथ भर्ना गरेर उपचार गर्न नपाइएको कुरुवा बताउँछन्। पछिल्लो समयमा बिरामीको चाप बढेपछि यहाँ रहेको श्यया अपर्याप्त भएको हो।
कडा खालका मानसिक रोगीको आगमन बढिरहेकाले श्यया अपर्याप्त भएको अस्पतालले जनाएको छ। बिरामीका परिवारका सदस्य वा आफन्त कडा मानसिक रोग लागेकालाई घरमै राख्दा आफू स्वयं र अरुलाई क्षति पुर्याउने भन्दै अस्पतालमा राखेर उपचार गर्न चाहेको बताउँछन्। अस्पताल परिसरमा भेटिएका उनीहरुले अस्पतालले एकातिर भर्ना गर्न सल्लाह दिने अर्कातिर ठाउँ छैन भन्दै फर्काएको गुनासो गर्छन्।
यस अस्पतालमा अहिले जम्मा ५० श्यया रहेको छ । यहाँ भएका श्यया कहिले पनि खाली नहुने गरेको अस्पतालमा कार्यरत प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट अनन्त अधिकारीले बताए। अस्पतालमा भर्ना भएका एक जना बिरामी अस्पतालबाट छाड्ने अनुमति (डिस्चार्ज) हुँदा अर्को लाममा नै हुने गरेको उनले बताए।
श्यया नभएकाले गर्दा धेरै बिरामीलाई घर पठाएर लाममा राख्ने गरिएको छ। उनले भने, ‘अस्पतालमा आएकालाई नफर्काउन र विशिष्ठकृत सेवा दिन ३०० श्यया आवश्यक रहेको छ ।” श्यया अपुग भएको भन्दै स्वास्थ्य सेवा विभागसँग ३०० श्ययाको माग गरेको उनले बताए।
उनका अनुसार अस्पतालले लामो समयदेखि जनशक्ति अभाव भोग्दै आएको छ। उनले भने, ‘अहिलेका लागि ५० श्यया थप गरेर १०० श्यया बनाउँदा तत्काल काम गर्न सहज हुन्थ्यो।” रोगको अवस्था र सुधार हेरेर एक÷दुई सातादेखि एक महीनासम्म पनि बिरामीलाई राखेर उपचार गर्ने गरिएको प्रमुख कन्सल्टेन्ट साइक्याट्रिस्ट अधिकारीले बताए।
उनका अनुसार अस्पतालले कडा खालका बिरामीलाई अस्पतालको प्रत्यक्ष निगरानीमा राखेर उपचार गर्ने र सामान्य बिरामीलाई औषधि दिएर घर फर्काउने गरेको छ। अस्पतालमा श्ययासँगै मानसिक रोग विशेषज्ञसमेत अपर्याप्त रहेको उनले बताए।
उनका अनुसार अस्पतालमा निर्देशकसहित सातको दरबन्दी छ । तर अहिले चार जना मात्रै कार्यरत छन्। एकातिर भएको दरबन्दी अपर्याप्त रहेको र अर्कोतिर दरबन्दीभन्दा कम जनशक्ति कार्यरत रहेको उनले बताए।
जनशक्ति अपर्याप्त हुँदा एकै जना मानसिक रोग विशेषज्ञले ५० देखि १०० जनासम्म बिरामी हेर्नुपर्ने अवस्था रहेको उनले बताए। उनले भने, ‘अस्पतालको श्यया र जनशक्ति दुवै बढाउन हामीले स्वास्थ्य सेवा विभागलाई भनिरहेका छौँ।” अस्पतालको बहिरङ्ग विभागमा दैनिक १५० देखि २००सम्म बिरामी उपचारका लागि आउने गरेका छन्। सञ्चिता घिमिरे