
पोखरा-भ्रमण वर्ष सन् २०२० लाई प्रवर्द्धन गर्न विवील राइज फाउण्डेसनले ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो प्रतियोगिता आयोजना गरेको छ।
नेपालका कुनाकाप्चा, दूरदराजका गाउँहरुको पहिचान भिडियो मार्फत सम्प्रेषण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको फाउण्डेसनका अप्ररेसन डाइरेक्टर अनुप कुमार बरालले आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
‘हरेक गाउँ, ठाउँको आफ्नै पहिचान छ। संस्कृति, परम्परागत पेसा उजागर गर्दै पर्यटन प्रवर्द्धन गर्ने हाम्रो लक्ष्य हो,’ उनले भने, ‘जुन देख्दा सामान्य झैं लाग्ने तर इतिहासमा त्यो पक्षले सशक्त मानक कायम गर्न सकोस् त्यस किसिमको कन्टेन्टको खोजीमा छौं।’
प्रतियोगिताको लागि फाउण्डेसनले नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेको बरालले जानकारी दिए। भिडियो निर्माताले गाउँको प्राकिृतक, सांस्कृतिक, भेषभुषा, खानपान, कला आदी विषयलाई आधार बनाई अधिकतम ५ मिनेटसम्मको भिडियो बनाउन सक्नेछन्। एचडी क्वालिटीमा भिडियो खिचेर बनाइएको डकुमेन्ट्री आवश्यक सम्पादन, स्क्रिष्ट सहित प्रतियोगितामा सहभागि हुनुपर्ने प्रावधान छ।
प्रतियोगितामा उत्कृष्ट हुने भिडियो र लाइक, शेयर र कमेन्टको आधारमा उत्कृष्ट हुने भिडियोले एक÷एक लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गर्ने छन्। उत्कृष्ट भिडियोलाई नेपाल फिल्म एकेडेमीले २ लाख बराबरको छात्रवृत्ति समेत उपलब्ध गराउने भएको जनाइएको छ। प्रतियोगितामा फष्ट रनर्सअप हुने भिडियोले ५० हजार र सेकेण्ड रनर्सअप हुने भिडियोले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन्।
त्यस्तै, सर्वोत्कृष्ट सम्पादन र सर्वोत्कृष्ट स्क्रिप्ट भएकोले भिडियोले पनि २५÷२५ हजार रुपैयाँ पाउने फाउण्डेसनले जनाएको छ। प्रतियोगितामा सहभागि हुन फाउण्डेसनको वेबसाइट ‘डब्लुडब्लुआरएफ डट ओआरजी डट एनपी’मा आफूले छनोट गरेको विषय बारेमा आवेदन फारम मार्फत अंग्रेजी महिनाको अप्रिल अन्तिमसम्ममा जानकारी गराउनु पर्नेछ।
नतिजा आगामी जुनमा प्रकाशित गरिने भएको छ। भिडियो नेपाल भित्र नै निर्माण गरिएको हुनुपर्ने अनिवार्य प्रावधान गरिएको फाउण्डेसनका संस्थापक निर्देशक निर्मल श्रेष्ठले जानकारी दिए।