
काठमाडौँ – नेपाली राजनीतिमा बौद्धिक व्यक्तिको हिचान बनाएका नरहरि आचार्यको संस्मरणात्मक पुस्तक आउने भएको छ । उनको ‘गणतन्त्रको यात्रा : बन्दी वृतान्त’ आउँदो चैत पहिलो हप्ता आउने भएको हो ।
नेपालमा थोरै मात्र राजनीतिक नेताहरुले आफ्नो राजनीतिक जीवनको अनुभवलाई लिपिवद्द गरेका छन् । आचार्यले आफ्नो अनुभव र तत्कलीन परिस्थितिलाई मिहिन ढंगले विश्लेषण गरेर आफ्नो विचार यस पुस्तकमा समेटेकाले भावी पुस्ताका लागि यो पुस्तक उपयोगी हुने प्रकाशक सांग्रिला बक्सले जनाएको छ ।
लामो समय नेपाली राजनीतिमा संलग्न रहेर बौद्धिक राजनीतिज्ञको पहिचान बनाएका नरहरि आचार्य नेपाली कांग्रेसका नेता मात्र नभएर गणतन्त्रका सुरुवातकालीन अभियन्ता समेत हुन् ।
नेपाली कांग्रेसमा र बौद्धिक जगतमा गणतन्त्रको बहस सिर्जना गर्ने र त्यसका लागि माहोल बनाउने सन्दर्भमा आचार्यले तेस्रो जनआन्दोलन सुरु हुनुभन्दा धेरै अघि देखि नै विभिन्न अभियान चलाएका थिए ।
बौद्धिक समाज र नेपाली कांग्रेसलाई गणतन्त्रका लागि तयार गर्न आचार्यका ति अभियानहरु सहायक सिद्द भए । २०६१ सालको तत्कालीन राजा ज्ञानेन्द्रले सत्ता लिएपछि नेपाली राजनीतिको कोर्स परिवर्तन भयो । धेरै नेता कार्यकर्ताको धरपकड सुरु भयो र बन्दि बनाइयो ।
२०६१ माघ २१ गते आचार्यलाई पनि बन्दी बनाइयो । त्यहि बन्दि अवस्थामा रहेको बेला आचार्यले टिपोट गरेको वृतान्त हो यो पुस्तक ।
पुस्तकको सन्दर्भमा आचार्य भन्छन्, ‘यो पुस्तक एक समयको मेरो बन्दि जीवनको वृतान्त हो । म बन्दि रहेको त्यहि कालखण्डले नै नेपालमा गणतन्त्रको आगमनलाई थप सुनिश्चित गर्यो र परिवर्तनको आधार तयार गर्यो । खासगरी गणतन्त्रको यात्रामा म हिंडेको बाटोका प्रसंग र सन्दर्भहरु पुस्तकमा स्मृतिका रुपमा समेटेको छु ।’