
नेपालगञ्ज – २०६७ सालदेखि बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियान चलिरहेको छ । १५ गतेदेखि नवौ चरणको अभियान थाल्ने तयारी भएको छ।
आठौं चरणसम्म अभियान चल्दा बाँकेमा रोगीको संख्या १३ प्रतिशतमा झरेको छ । अभियान चल्नु अघि बाँकेमा हात्तीपाइलेका रोगी २०.८ प्रतिशत थिए । ठूलो धनराशी खर्च गरेर लगातार अभियान चलिरहदा बाँकेमा आठ प्रतिशत हाराहारीमात्रै रोगी घटेका छन्।
छैठौ पटकसम्म अभियान चलेपछि बिरामीको संख्या एक प्रतिशत भन्दा कममा झार्नु पर्ने थियो । बाँकेमा त्यस्तो हुन सकेन । हात्तीपाइले अभियानमा बाँके ‘फेल’ भयो । सोचे अनुसारको नतिजा नआएपछि सरकारले बाँकेमा लगातार अभियान चलाइरहेको छ ।
सरकारले सन् २०२० सम्ममा हात्तीपाइले रोग निवारण गर्ने लक्ष्य लिएको थियो । ६१ जिल्लामा थालिएको अभियानमा अझै १५ जिल्लामा जारी नै रहेको छ । बाँकेमा नवौं चरणको अभियान चलिरहदा कपिलबस्तुमा ११ औं चरण शुरु हुँदैछ । ५ नम्बर प्रदेशको बाँके र दाङमा नवौं, बर्दियामा आठौं र कपिलबस्तुमा ११ औंको चरणको अभियान शुरु हुँदैछ ।
अभियान शुरु भएको ६ वर्षपछि २०७२ मा सर्वे गर्दा हात्तीपाइलेका रोगी १६ प्रतिशतमा झरेको थियो । त्यसपछि २०७४ कात्तिकमा सर्वे गर्दा हात्तीपाइलेको रोगी १३ प्रतिशत देखियो । यो बेला कोहलपुरको रझेना, नेपालगञ्जको वडा नं. ४ र बैजापुरमा सर्वे गरिएको थियो । रझेनामा ३ सय २४ जनाको परीक्षण गर्दा ७२ जनामा हात्तीपाइले भेटिएको थियो । नेपालगञ्जमा तीन सय जनाको स्याम्पल लिदा २५ जनामा हात्तीपाइले भेटिएको थियो । बैजापुरमा तीन सय १६ जनाको स्याम्पल जाँच गर्दा १७ जनामा हात्तीपाइले भेटियो ।
२०६७ सालमा पहिलो पटक अभियान चल्दा ‘सावधानी’ अपनाउन नसक्दा बाँकेवासीले हात्तीपाइलेको औषधी नै खान मानेका छैनन् । महिला स्वयंसेविकाले घर परिवार संख्या गनेर ‘पोको’ दिएको औषधी जथाभावी खादा शुरुवाती वर्षमा धेरै जना बिरामी परे । औषधीले उल्टो असर गरेको बुझेर त्यसपछिको अभियान चल्दा औषधी खानेको संख्या कम हुँदै गएको छ । शुरुको वर्ष बाँकेका ९१ प्रतिशतले औषधी खाएको जिल्ला स्वास्थ्य कार्यालय, बाँकेको तथ्यांक रहेको छ । त्यसपछि औषधी खानेको प्रतिशत ५३, ६६, ७३, ७५, ६७, ७३ मा खुम्चियो ।
स्वास्थ्यकर्मीले खुवाउने
सरकारले यसपालीदेखि स्वास्थ्यकर्मीले औषधी खुवाउने रणनीति बनाएको छ। यसअघि महिला स्वयंसेविकाले खुवाउने गर्दथे।
जिल्लामा ३ सय ६८ जना स्वास्थ्यकर्मी औषधी खुवाउन परिचालन हुँदैछन्। औषधी खुवाउन अहेव र अनमीहरुलाई परिचालन गर्ने तयारी भएको छ । ७ सय ८९ जना महिला स्वयंसेविकाले औषधी खुवाउन स्वास्थ्यकर्मीलाई सहयोग गर्नेछन्।
नेपालगञ्ज उपमहानगरपालिकाको स्वास्थ्य शाखाले शुक्रबार पत्रकार सम्मेलन गर्दै नगरमा ८८ वटा बुथ राख्ने जानकारी दिएको छ । एक वडामा कम्तीमा एउटा बुथ राख्न भनिएकोमा नगरमा भने एउटा वडामा ६ वटासम्म बुथ राखिएको छ । सबैभन्दा धेरै वडा नं. १० मा ६ वटा बुथ राखिएको छ भने वडा नं. ४ मा सबैभन्दा कम दुई वटा बुथ राखिएको स्वास्थ्य शाखाका प्रमुख केशवराज गौतमले जानकारी दिए ।
स्थानीय तहले पाँचदेखि १५ दिनसम्म घरघरमा गएर औषधी खुवाउने रणनीति बनाइएको छ । यसअघि तीन दिनसम्म अभियान चल्ने गर्दथ्यो । पहिलो दिन १५ गते बुथमा औषधी खुवाइदैछ । त्यसपछि घरघरमा गएर औषधी खुवाउने गौतमले जानकारी दिए ।
नेपालगञ्जका मेयर धवलशमशेर राणाले औषधी खाएपछि संक्रमण भएकालाई केही सामान्य असर गर्ने कुरा बुझाएर सबैलाई औषधी खुवाउनु पर्ने बताए । स्वास्थ्य अधिकृत सरोज शाह र दुर्गा गौतमका अनुसार, औषधी खाएपछि संक्रमण भएका व्यक्तिलाई तत्कालका लागि अण्डाकोण सुनिने, पखाला लाग्ने, वाकवाकी हुने, रिंगटा लाग्ने हुन सक्छ । नेपालगञ्जमा औषधी खुवाउन महिला स्वयंसेविकाले धेरै नै मेहनत गर्दै आएका थिए ।