
काठमाडौँ – ललितपुरको नख्खुमा रहेको एनसेलको मुख्य कार्यालयअघि शुक्रबार बेलुका भएको बम बिस्फोटमा गम्भीर घाइते भएका एकजनाको मृत्यु भएको छ ।
बिस्फोटमा गम्भीर घाइते भएका लमजुङ घर भई भैँसेपाटी बस्दै आएका ४९ वर्षका सिंहप्रसाद गुरुङको उपचारको क्रममा मेडिसिटी अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
गम्भीर घाइते भएका गुरुङलाई लगत्तै उपचारका लागि मेडिसिटी अस्पताल लगिएको थियो र उनको शुक्रबार राति उपचारको क्रममा मृत्यु भएको हो ।
अरु दुई घाइतेको मेडिसिटीमै उपचार भइरहेको छ । काभ्रेकी २५ वर्षकी प्रतीक्षा खड्का र मेडिसिटी अस्पतालकी नर्स २५ वर्षकी उरुषा मानन्धर बिस्फोटमा घाइते भएका हुन् ।
बिस्फोट गराउनेको खोजी भइरहेको प्रहरीले जनाएको छ ।