
काठमाडौँ– शुक्रबार साँझ नक्खुको एनसेल कार्यालयमा भएको बम बिस्फोटमा घाइते तीनजनामध्ये एकको निधन भइसकेको छ।
बम बिस्फोटनमा घाइते दुईजनाको नेपाल मेडिसिटी अस्पताल नक्खुमा उपचार भइरहेको छ। उनीहरु दुवैलाई शुक्रबार राति अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियाे। उनीहरुको स्वास्थ्य अवस्थाको पछिल्लो अवस्था यस्तो छ।
प्रतीक्षा खड्का
२६ वर्षकी प्रतिक्षा खड्काको दाहिने पातोमा चोट लागेको हो। दुर्घटनास्थलभन्दा झण्डै १०० मिटर टाढा उनी मोटरसाइकलमा आफ्नो श्रीमान्काे पछाडि बसेकी थिइन्। ‘म नक्खुमा एकोरियममा हाल्ने माछा किन्न गएर फर्कदै थिए। ड्वाङ्ग आवाज आयो। मलाई पछाडि के आयो जस्तो लाग्यो। तर हामी त्यहाँबाट हिड्यौ’ खड्का भन्छिन्, ‘घर पुगेर बाइकबाट झर्दा त सिटभरी रगत देखियो।’

बम बिस्फोटनमा घाइते भएकी प्रतीक्षा खड्का।
उनको घर बागडोल हो। सामान नपाइएपछि उनीहरु बिष्णुदेवी पुगेका थिए। उनको ढाडमा घाउ भएको महशुस नै भएको थिएन।
प्रतीक्षाका श्रीमान् रितेसले सिलिण्डर केही पड्केको हो की भनेर हेरेका अनि आफू घर गएको बताए। श्रीमतिलाई चोट लागेको थाहा उनलाई पनि भएन।

प्रतीक्षाका श्रीमान रितेश खड्का
त्यसपछि उनीहरु अल्का अस्पताल गए, ‘मेडिसिटी जाने बाटो जाम छ भन्ने थाहा थियो’, बेडमा ढलिरहेकी प्रतिक्षा भन्छिन्, ‘त्यहाँ एक्स-रे गर्दा भित्र केही क्लिप जस्तो सामान देखियो।’

प्रतीक्षाको पातोमा छिरेको मेटल
त्यसपछि उपचारको लागि उनीहरु मेडिसिटी आए। उनको अहिले शल्यक्रिया पनि भईसकेको छ।
प्रतीक्षाको उपचारमा संलग्न मेडिसिटी अस्पतालका कार्डियोभास्कुलर थेरापिक सर्जन डा.अनिल आचार्यका अनुसार उनलाई हप्तादिन अस्पतालमा राख्नुपर्ने हुनसक्छ।
‘प्रतीक्षा जीलाई अस्पतालमा ल्याउदा रगत बगिरहेको थियो। उहाँको दाहिने पातोमा केही वस्तु देखिएपछि राति १ बजे शल्यक्रिया गरेका हौँ। छाला छेडेर भित्र पुगेको मेटलले भित्री अंगमा नछोएको भएपनि इन्फेक्सनको डर हुन्छ। उहाँको अवस्था अहिले ठीक छ।’
प्रतीक्षा अहिले पोस्ट अपरेटिभ वार्डमा छिन्। उनी अहिले यो वार्डमा डा. शिक्षा खतिवडाको निगरानीमा छिन्। उनको रक्त चाप ठीक छ। अनि खाना मुखबाटै खाइरहेको खतिवडाले बताइन्। उनलाई साधारण वार्डमा राख्न मिल्ने उनले बताइन्।
उरुषा मानन्धर
बनेपाकी उरुषाकाे देब्रे खुट्टामा चोट लागेको छ। २४ वर्षकी मानन्धर नेपाल मेडिसिटिकी आइसियूकी नर्स हुन्। उनी कार्यालयको ड्यूटी सकेर घर फर्कन लागेकी थिइन्, उनलाई मामाको छोरा लिनलाई आएका थिए।

उरुषा मानन्धरको चोट लागेको खुट्टा
दुर्घटनामा उनको खुट्टामा धेरै गहिरो चोट लागेकोले उनको शल्यक्रिया गरिएको छ। मानन्धरको उपचारमा संलग्न अर्थोपेडिक रजिस्टार डा. निभा चित्रकारका अनुसार उनको खुट्टामा भएका बममो छर्रा निकालियो तर उपचार प्रक्रिया अझै बाँकी छ।

वार्ड बाहिर प्रतिक्षा गर्दै उरुषा मानन्धरको परिवार
‘उहाँको इमेजेन्सीमा ल्याएर बमका छर्राहरु निकालिएको हो। सफा गरियो। आज बिहान उहाँ दुईवटा अप्रेशन गरिएको छ। पटक-पटक सफा गरिराख्न पर्ने भएकोले शल्यक्रिया गरिराख्न पर्ने हुन्छ।’

दोस्रो पटकको शल्यक्रिया पछि उरुषा मानन्धर
उनको खुट्टामा झण्डै ६ सेन्टीमिटर लामो घाउ भएको छ। चिकित्सकका अनुसार खुट्टामा फ्याक्चर छ तर बमको छर्रा राम्ररी सफा नहुने बेलासम्म फिक्स गर्न मिल्दैन। उनको अवस्था खतरामुक्त भए पनि घाउको प्रकृतिले पटक पटक शल्यक्रिया गरिराख्नुपर्ने डाक्टरले बताए।