
नेपालगञ्ज– बाँकेमा नवौं चरणको हात्तीपाइले रोगविरुद्धको अभियान शुरु भएको छ। बुधबारबाट हात्तिपाइले विरुद्धको औषधी खुवाउन शुरु गरिएको हो।
नेपालगञ्जका मेयर धवलशमशेर राणाले औषधी खाएर अभियानको शुरुवात गरे। सबै स्थानीय तहले बिहीबारदेखि घरदैलोमा गएर औषधी खुवाउने रणनीति बनाएका छन्।
विगतलाई हेर्दा नेपालञ्जका स्थानीयले औषधी खाने गरेका छैनन्। नगरमै औषधी खानेको संख्या कमी भएपछि अभियान ‘असफल’ भएर लम्बिएको छ।
बाँकेमा २०६७ सालदेखि औषधी खुवाउन शुरु गरिएको हो। पहिलो वर्ष ९१ प्रतिशतले औषधी खाएका थिए। पहिलो वर्ष सावधानी अपनाउन नसक्दा र स्थानीयवासीलाई औषधी खाएपछि संक्रमितलाई केही असर गर्छ भन्ने बुझाउन नसक्दा अर्को वर्षदेखि औषधी खानेको संख्या घट्दै गएको थियो। बाँकेमा २०६७ साल अघि २०.८ प्रतिशत हात्तीपाइलेका बिरामी थिए भने आठौं चरणको औषधी खुवाइसक्दा अहिले १३ प्रतिशत रोगी छन्।
सरकारले यसपालीदेखि औषधी खुवाउन स्वास्थ्यकर्मी परिचालन गरेको छ। यसअघि महिला स्वयंसेविकाले खुवाउने गर्थे। बाँकेमा ५ लाख ८८ हजार २ सय ७८ जनालाई औषधी खुवाउन ३ सय ७८ जना स्वास्थ्यकर्मी परिचालन गरिएको छ। स्वास्थ्यकर्मीलाई सघाउन ७ सय ८९ जना महिला स्वयंसेविका परिचालन गरिएको छ।
हात्तीपाइले अभियान शुरु गरेको छैठौ वर्षमा पुग्दा रोगीको संख्या एक प्रतिशत भन्दा तल झर्नु पर्नेमा बाँकेमा त्यस्तो नभएपछि अभियान लम्बिएको हो। सरकारले सन् २०२० सम्म मुलुकबाट हात्तीपाइले रोग निवारणको लक्ष्य लिएको छ।