आफ्नो नियन्त्रणमा रहेका भारतीय पाइलटलाई पाकिस्तानले आज रिहा गर्दैछ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले बिहिबार पाकिस्तानी संसदको संयुक्त सत्रमा सम्बोधन गर्दै भारतीय पाइलट रिहा गर्ने जानकारी दिएका थिए ।
भारतीय पाइलटको रिहाइ हुने खबरले भारतमा खुसीयाली छाएको छ । पाइलट अभिनन्दनकी आमाले टेलिभिजनमा इमरानले सम्बोधन गर्दा छोरालाई रिहा गर्ने खबर सुनेपछि उनको तस्बिरमा हात जोडेर धन्यवाद प्रकट गरेको तस्बिर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।
यसैबीच पाइलटको रिहाईको राजनीतिक श्रेय लिनका लागि भारतमा होडबाजी सुरु भएको छ। खासगरी सत्तामा रहेको भारतीय जनता पार्टीका नेताहरुले प्रधानमन्त्री मोदीको पहलमा पाइलटको रिहाई सम्भव भएको प्रचार गरिरहेका छन् ।
भारत–पाकिस्तानबीच बुधबार भएको हवाई हमलामा भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमान्डरलाई पाकिस्तानले नियन्त्रणमा लिएको थियो। भारतले उनको सुरक्षित फिर्तीको लागि पाकिस्तानसँग माग गरेको थियो।
अभिनन्दन भारतीय वायु सेनाका लेफ्टिनेन्ट कमाण्डर हुन्। उनी बुधबार लडाकु विमान मिग २१ लिएर पाकिस्तान उडेका थिए। तर हवाई मुठभेडमा पाकिस्तानले विमान खसाले पछि कब्जामा परेका हुन्। पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका अभिनन्दनको अवस्था ठिक रहेको पाकिस्तानी सेनाले दाबी गरेको छ।
तर एक भिडियोमा अभिनन्दनलाई केही व्यक्तिले पिटिरहेका देखिएको छ। अनि, अर्को भिडियोमा अभिनन्दनको आखामा पट्टि छ र उनी भन्दै छन्, ‘म लेफ्टिनेन्ट कमान्डर अभिनन्दन हुँ। मेरो सर्विस नम्बर २७९८१ हो। म एक लडाकु विमानको पाइलट हुँ।’
यस्तै अर्को भिडियोमा अभिनन्दनले चिया वा कफि पिउँदै गरेको देखिएको छ। उनलाई कसैले सोधिरहेको र उनी जवाफ दिइरहेको देखिएको छ।
अभिनन्दनका वुबा र भाइ पनि वायुसेनामै कार्यरत छन्। अभिनन्दन सन् २००४ मा भर्ती भएका थिए।

                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































