
वीरगञ्ज – विवाहको जन्तीसँगै आएका थिए सुरज माझी र विजय माझी । बाजागाजा तयार पारिएको थियो । एकैछिनमा गाडीको लाइनसँगै बाजागाजासहित जन्ती दलहीको घरतर्फ हिँड्यो । नाँचगान चल्दै थियो उमंगका साथ ।
तर, त्यही जन्तीमा आएका सुरज र बिजय माझी आफ्नो टाउकोमा मरकरी लाइट जडान गरिएको बाक्स बोकेर गाडीसँगै हिँडिरहेका थिए । उनीहरु १० देखि १२ वर्षका जस्तै देखिन्थे । जन्ती गाउँमा प्रवेश गरेपछि साँघुरो रोडमा सुरज र विजयले टाउकोमा बोकेका मरकी लाइटलाई सम्हालन निक्कै गाहो भइरहेको प्रष्टै देख्न सकिन्थ्यो ।
‘तिमीहरु त जन्तीमा आएका छौ, यो मरकरी लाईट किन टाउकोमा बोकेको?’ प्रश्न भुइमा झर्न नपाउँदै सुरजले जवाफ दिए, ‘पैसा पाईन्छ त्यही भएर काम गर्छाैँ, चार सय दिने भनेका छन् ।’
तराई–मधेसका विपन्न परिवारका बालबालिकाहरु अहिले पनि गाउँका व्यक्तिहरुको विवाहमा यसरी नै बालश्रम गर्न बाध्य छन् । उनीहरुको पढाई पनि प्रभावित हुने गरेको छ । कतिपय त विद्यालयमा भर्ना समेत भएका छैनन् ।
‘विवाहमा लाइट बोक्दा चारसय रुपैयाँ पाईन्छ, हामी गरिब छौँ विद्यालय जाँदैनौँ काम नपाएका बेला घरमै खलेर बस्छाैँ’, सुरजले मलिन स्वरमा भने ।
सुरजसँगै लाइट बोकेर हिँडिरहेका बिजयले भने त्यो काम गरेबापत तीनसय रुपैयाँ पाउने कुरा भएको रहेछ ।
सुरज र विजयलाई उनीहरुको ठेगाना सोध्दा पर्साको सखुवा प्रसौनी गाउँपालिकाको महुवन घर रहेको थाहा भयो । उनीहरु कहिले एउटा काँधमा त कहिले अर्को काँधमा लाइट बोकेर दुलहीको घरमा पुग्छन् । मरकरी लाईटहरु भुईँमा राख्छन् । अनि हातमुख धुन जान्छन् । शायद उनीहरुलाई अब आफूहरु पनि जन्तीमा आएका व्यक्ति जस्तै बन्नुपर्छ लागेको हुँदो हो ।
उनीहरु जन्तीमा आएका अरु पाहुनाहरु जस्तै खाना खान खोज्छन । साहुको अनुमति पाएपछि उनीहरुले खाना खाए । तराइ–मधेसमा अहिले पनि सुरज र बिजय जस्तै सयौँ बालबालिकाहरु आफ्नो परिवारको आर्थिक अवस्था कमजोर भएपछि यस्तै काम गरिरहेका छन् ।
विवाहमा तल्लो तहको काम गर्ने देखि लिएर होटलहरुमा बालश्रम गर्न बाध्य छन् बालबालिकाहरु । प्रदेश २ सरकारले ‘बेटी बचाऔँ, बेटी पढाऔँ’ जस्ता कार्यक्रम लागु गरेको छ । तर, सुरज र विजयको जीवन भोगाइले सरकारको यो कार्यक्रमलाई गिज्याइरहेको छ ।