
लोकसभा चुनाव नजिकिँदै जाँदा भारतमा चुनावी सरगर्मी बढ्दै गएको छ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) र विपक्षी कांग्रेससहितका पार्टी आफ्नो चुनावी अभियानमा सक्रिय छन् । दुवै पक्ष एक अर्कालाई पछि पार्दै आउँदो चुनावमा जित निकाल्नका लागि कडा मेहनतमा देखिएका छन् ।
भाजपाको चुनावी अभियानको नेतृत्व गरिरहेका प्रधानमन्त्री नरेन्द्र मोदीले कांग्रेसको गढ क्षेत्रमै आफ्नो चुनावी अभियान केन्द्रित गरेका छन् । कांग्रेसको परम्परागत रायबरेली क्षेत्रमा चुनावी अभियान गरेपछि मोदी आइतबार अर्को कांग्रेसी गढ अमेठी पुगे ।
उनले त्यहाँ विभिन्न परियोजनाको शिलान्यास गरे । त्यसमध्ये एक हो, आर्डिनेन्स फ्याक्ट्री । मोदीले आइतबार यो फ्याक्ट्रीको शिलान्यास गरे ।
तर मोदीले शिलान्यास गरेको योजना यसअघिको सरकारले नै शिलान्यास गरिसकेको कांग्रेसले जनाएको छ । कांग्रेस अध्यक्ष राहुल गान्धीले सोमबार बिहान ट्वीट गरेर अमेठीको अर्डिनेन्स फ्याक्ट्री आफूले सन् २०१० मै शिलान्यास गरेको बताएका छन् ।
राहुलले ट्वीटमा लेखेका छन्, ‘प्रधानमन्त्री जी, अमेठीको अर्डिनेन्स फ्याक्ट्रीको शिलान्यास सन् २०१० मा म आफैले गरेको थिएँ । पछिल्ला केही वर्षदेखि त्यहाँबाट साना हतियार उत्पादन हुँदै आएका छन् । हिजो तपाईँ अमेठी जानुभयो र आफ्नो बानीले बाध्य भएर तपाईँले फेरि झुट बोल्नु भयो । के तपाईँलाई कत्ति पनि लाज लाग्दैन ?’
प्रधानमन्त्री जी,
अमेठी की ऑर्डिनेंस फैक्ट्री का शिलान्यास 2010 में मैंने खुद किया था।
पिछले कई सालों से वहां छोटे हथियारों का उत्पादन चल रहा है।
कल आप अमेठी गए और अपनी आदत से मजबूर होकर आपने फिर झूठ बोला।
क्या आपको बिल्कुल भी शर्म नहीं आती?
— Rahul Gandhi (@RahulGandhi) March 4, 2019
राहुल गान्धी सन् २०१४ को लोकसभा चुनावमा अमेठीबाट विजयी भएका हुन् । यो सिटमा भाजपाको तर्फबाट स्मृति ईरानी उम्मेदवार थिइन् । उनी राहुल भन्दा एक लाख भन्दा बढी मतले पछि परेकी थिइन् । आउँदो चुनावमा पनि भाजपाका तर्फबाट ईरानी नै अमेठीबाट उम्मेदवार बन्ने सम्भावना छ ।
कांग्रेसको गढ अमेठीमा अहिलेसम्म उसले दुईपटक मात्रै हार बेहोरेको छ । सन् १९७७ मा लोकदलका उम्मेदवार रवीन्द्र प्रताप सिंहले सञ्जय गान्धी र सन् १९९८ मा भाजपाका सञ्जय सिंहले कांग्रेसका क्याप्टेन सतीश शर्मालाई हराएका थिए ।