
कीर्तिपुर पाँगा सुन्दर बजारमा एउटा रेस्टुराँ छ जहाँ मानिसहरु फरक स्वादको लागि आउ-जाउ गरिरहेका छन्।
माथि टीनको छानो, भित्र इँट्टाले बनाएको पर्खाल, पर्खालको भित्ताभरी हातले बुनेका हस्तकलाका सामग्रीहरु टाँगिएका छन्।
त्यसमा पनि सामग्रीको आ-आफ्नै नामहरु नामाकरण गरिएका छन्।
जस्तै माछा मार्ने ढरिया, जोत्ना टोपी, बेररी, पौवा, डिल्या, सिरट्टा, ढकिया। यी सामग्रीहरुको बीचमा काठले बनेको नेमप्लेटमा लेखिएको छ, ‘बरघर रेस्टुरेन्ट’।
शनिबार थारु परिकारहरुको स्वाद चाख्न मात्र होइन कला, संस्कृति र संस्कारको बारेमा बुझ्न पनि यहाँ आउनेक्रम चलिरहेको छ।
तीन जना युवतीहरु बरघर रेस्टुरेण्ट खोज्दै आइपुग्छन् पाँगा सुन्दर बजार।
‘एक्सक्युज मी दाइ, थारुको परिकार खान पाइने रेष्टुरेन्ट यही हो ?’ एक युवती सोध्छिन्।
टेबल पुछिरहेका युवक जवाफ दिन्छन्, ‘हो, बस्नुस् न। हजुरलाई के सेवा गरौं?’
खुसी हुँदै ती युवतीले भन्छिन्, ‘धन्यवाद दाइ, हामी त बानेश्वरबाट खोज्दै आएका थारु परिकार चाख्न। आज शनिबार हो, हाम्रो अफिस छुट्टी पनि छ।’
साथीहरुलाई ती युवतीले इसारा देखाउँदै भित्रै जान भन्छिन्। उनीहरु सरासर भित्र जान्छन्।
उनीहरु टेबलमा बसेर मेनुतिर आँखा लगाइरहेका हुन्छन्। त्यतिबेलै वेटर आइपुग्छन्।
‘तपाईहरुलाई के खान मन?’ वेटरले सोध्छ।
उनीहरु मुखामुख गर्छन्। तीमध्ये एक युवतीले भन्छिन्, ‘हाम्रो पूर्वतिर त थारुहरुले घोङ्गी धेरै खान्छन्। त्यो खाउँ न दाइ।’
वेटरले अर्डर लिन सुरु गर्छन्।
अर्कीले भन्छिन्,’मलाई त गंगटो, झिँगे माछा, ढिक्री र घोङ्ही खान मन छ। यो पनि खाउँ न है, हुन्न?’
तिनै जनाले हुन्छको सहमतिमा टाउको हल्लाउँछन्। वेटरले फेरि अर्डर टिप्छन्।
थारु परिकार घुङ्गी, गंगट्टा र ढिक्रीको अर्डर दिइसकेपछि त्यहा राखिएका हस्तकलाका सामग्रीतिर आँखा हेराहेर गर्छन्।
हातको इसाराले बोलाउँछन्, ‘दाइ, तपाई एकछिन् यहाँ आउनुस् न।’
‘भन्नुस्। केही अर्डर गर्न छुट्यो कि !’ युवकले सोध्छन्।
युवतीले भन्छिन्, ‘छुटेको होइन दाइ, तपाईसँग थारु परिकार र ह्याण्डिक्राप्टबारे केही कुरा गरौँ की भनेर।’
‘हुन्छ,’ उसले सहमति दिन्छ।
‘तपाईँलाई यस्तो रेस्टुरेन्ट खोल्ने सोच कसरी आयो?’ ऊतिर हेर्दै युवतीले प्रश्न गरिन्।
‘एकदिन भाइहरुले मकहाँ कफी सप खोलौँ भन्ने प्रस्ताव लिएर आए। तर मैले कफी, म: म चाउमिन धेरै भए, हामीले कुनै नयाँ नयाँ स्वाद दिन सक्यो भने ग्राहक तान्न सजिलो हुन्छ भनेर यो काम गर्ने निष्कर्षमा पुग्यौँ।’
उनले सामग्रीतिर देखाउँदै भने, ‘दुई जनाको पार्टनरसीपमा एकदमै न्यूनतम बजेटमा २०७५ सालको नयाँ बर्षदेखि थारु परिकार पाउने बरघर रेस्टुरेन्टको सुरुवात गर्यौँ।’
कुरा चल्दै गर्दा अघि अर्डर गरेको खाना र परिकारहरु आइपुग्यो।
प्लेटमा भरिएको ढिक्री, टपरीभरी ग्रेभीमा बनाइएको घोङ्ही। अर्को प्लेटमा झिंगे माछा।
यो देखेर सबै जनाको मुहारमा उज्यालो छायो। उनीहरु खुसी भए।
एउटीले घोङ्गी चुस्दै सोधिन्,’ दाई हामीलाई घुङ्गी साह्रै मनपर्छ। तपाईले कहाँबाट ल्याउनुहुन्छ नि?’
‘तराईबाट’, उसले जवाफ दियो।
अर्कीले गंगटा टोक्दै सोधिन्, ‘अनि तपाईँहरु रेस्टुरेन्टबाट सन्तुष्ट हुनुहुन्छ त?’
‘मैले रेस्टुरेन्ट तीन चार वटा उद्देश्य लिएर खोलेको हो। पहिलो उद्देश्य थारु भाषा, साहित्य र सस्कृति सम्बन्धि कार्यक्रम गर्छौँ, अहिले ६४औं भाग पूरा गरिसकेका छौ।’
उसले संग्रहालय देखाउँदै भने, ‘बरघर रेस्टुरेन्ट अलि फरक बिशेषता बोकेको छ। यहाँ हामीले मिनी संग्रहालय बनाएका छौँ जहाँ थारुको परिकारको स्वाद लिदै थारुले प्रयोग गर्ने हस्तकला लगायत थारु संस्कृति सम्बन्धि किताबहरु उपलब्ध गराउँछौँ। यो परिकार बेचेर पैसा कमाउने मात्र होइन कि थारुको हरेक पहिचानलाई देश विदेशमा चिनाउन चाहन्छौँ। त्यसकारण हामी त सन्तुष्ट छौँ।’
कुराकानीसँगै उनीहरुले घोङही, ढिक्री र गंगटा सके।
‘साँच्चै गफैगफमा तपाईँको नाम त सोध्नै भुलेछौँ, दाइ, हजूरको नाम भन्नु न।’
युवाले भन्यो, ‘ सीताराम थारु, बर्दिया स्थायी ठेगाना। हाल कीर्तिपुर। ‘
युवतीले आफ्नो परिचय दिँदै भनिन्, ‘हामी त पूर्व इटहरीका हौँ। म कञ्चन कटुवाल, ऊ मेरो साथी तारा राई र सुमिता। धन्यवाद है नयाँ टेस्ट चखाउनु भएकोमा।’
‘तपाईँहरुलाई पनि धेरै धेरै धन्यवाद आएर थारु परिकारको स्वादसँगै लिइ दिनुभयो। खुसी लाग्यो। फेरि-फेरि आउनुहोला। ‘
‘हस् धन्यवाद दाई’ भन्दै तीनै जना युवतीहरुले थारु हस्तकलाका सामग्री लगाए, सेल्फि खिचे अनि ‘बरघर रेस्टुरेन्ट’बाट बाहिरिए।