
पोखरा– ताप्लेजुङ हेलिकोप्टर दुर्घटनामा दिवंगत भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै गण्डकी प्रदेशसभाको मंगलबार बसेको बैठक सकिएको छ।
सभामुख नेत्रनाथ अधिकारीले पेश गरेको प्रस्ताव पारित गर्दै एक मिनेट मौनधारण गरियो। हेलिकोप्टर दुर्घटनामा मन्त्रीसहित निधन भएका सातजनाहरुप्रति श्रद्धान्जलि एवं शोकाकुल परिवारजनलाई समवेदना प्रकट गरिएको छ।
बैठकले नेपाल सरकारका पूर्व अर्थमन्त्री एवं नेकपा नेता भरतमोहन अधिकारीको गएको फागुन १८ गते उपचारको क्रममा निधन भएकोले उनीप्रति पनि श्रद्धान्जलि एवं परिवारजनमा समवेदना प्रकट गरेको छ।
प्रदेशसभाको आगामी बैठक फागुन २२ गते दिनको १ बजे बस्ने जनाइएको छ।