 
                            धनगढी-बाजुराको बुढीनन्दा नगरपालिका-३ नुरी गाउँमा एक सातादेखि भाइरल ज्वरो फैलिएको छ।
दिनहुँ चिसो बढेसंगै नुरीमा एकसाता देखि भाइरलका बिरामी बढेको बुढीनन्दा नगरपालिका वडा न ३ का अध्यक्ष रामबहादुर बोहोराले बताए। टाउको दुख्ने ज्वरो आउने खोकी लाग्ने, आङ्गला गल्ने, खान मन नलाग्ने लगायतका लक्षण देखापरेका छन्।
भाइरल ज्वरोले गाउँका अधिकांश बासिन्दा थला परेका छन्। ज्वरोले सबै थला पर्न थालेपछि घरमा खान पकाई खान समेत नसकेको र पशुचैपाया समेत गोठमै राख्नुपर्ने अवस्था आएको स्थानीयले बताए।
भाईरल प्रभावित क्षेत्रमा स्वास्थ्यकर्मी पुगेर उपचार शुरु गरिएको छ। गाँउका अधिकांश बिरामी भएको खबर पाएपछि औषधि सहित स्वास्थ्यकर्मीको टोली गाँउ पुगेर उपचार शुरु गरेको फेज नेपालमा कार्यरत अनमी सञ्जु कार्कीले बताईन्। अनमी कार्कीले भनिन्– ‘गाउँमा रहेका अधिकांश स्थानीय भाइरल ज्वरोको संक्रमणमा परेका छन्, गाँउमा उपचारसँगै स्वास्थ्य शिक्षा पनि आवश्यक रहेको छ।’
सोमबार पुगेको स्वास्थ्यकर्मीको टोलीले १ सय ८ जनाको उपचार गरेको बताएको छ। ४८ जना पुरुष र ६० जना महिलालाई घर–घरमा पुगेर चेकजाँच सहित उपचार गरेको अनमी कार्कीले बताइन्। उपचारका लागि गाँउमा कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट २ जना र फेज नेपालबाट तीन जना गरी ५ जना स्वास्थ्यकर्मीको टोली गाँउ पुगेको वडा नम्बर २ का अध्यक्ष बोहोराले जानकारी दिए।
यो गाउँ स्वास्थ्य सेवाको पहुँच बाट टाढा रहेको गाउँ हो। ‘पुरै गाउँले नै बिरामी हुँदा स्वास्थ्य संस्थामा समेत ल्याउन सकेका थिएनौं’, वडा अध्यक्ष बोहोराले भने– ‘स्वास्थ्यकर्मी गाउँमै पुगेर उपचार गर्दा निकै सहज भएको छ।’
कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रबाट यो गाउँ ६ घण्टाको पैदल दुरीमा रहेको छ। चिसोका कारण जिल्लाका अन्य ठाँउमा पनि बिरामी भएको स्वास्थ्यकर्मीले बताएका छन्। उत्तरी क्षेत्रका ४ वटा स्थानीय तहमा पनि केही दिन यता बिरामीको संख्या बढ्दै गएको स्वास्थ्य संस्थाले जनाएका छन्।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































