
दाङ– काँधमा रामनामी, गलामा रुद्राक्षको माला र निधारमा चन्दनको टीका लगाएर कोट पाइन्टमा ठाँटिएका कोटिलाल कवर गोठमा रमाउने भैसकेका छन्।
बजार निस्कनु पर्यो भने मात्रै उनको रोजाईमा कोट पाइन्ट पर्छ नत्र भने उहि गोठालोको पहिरन। चार वर्ष अघि छाडा छोडिएका गाईगोरुले बाटो छेक्न थालेपछि कोटिलालको जीवनको यात्रा गाईगोठ तिर मोडिएको हो।
ग्वालाहरु नुनिलो चौरमा गाईगोरुलाई नुन चटाउन आउने गर्छन्। वर्षमा एकपटक माघेसंक्रान्तिको दिन अनिवार्य जस्तै हुन्छ। नुनिलो चरन भएको यो ठाउँ दाङको लमही–९ रिहारमा पर्छ। यहि चौरको एक छेउमा गौशाला छ। गौशालामा ७५ गाई र भर्खरै जन्मिएका बाच्छा–बाच्छि छन्।
राष्ट्रिय जनावर गाई छाडा रुपमा छोडिन थालेपछि व्यक्तिगत प्रयासमा गाई संरक्षण गर्न गौशाला निर्माण गरिएको हो। ‘सडकमा गाई मात्रै देखेँ। हिन्दु धर्ममा गाईको पुजा हुन्छ। नेपालको राष्ट्रिय जनावर हो। यहि गाई सबैको हेला भयो तर मलाई गाईसंग प्रेम बस्यो’, गाई संरक्षणमा खटिएका लमही–९ रिहार निवासी कोटिलाल कवरले भने, ‘१५ गाईबाट शुरु गरेका हौँ। म र नन्दलाल कवर दुईजना मिलेर गोठ बनाएर गाई पाल्न थाल्यौँ।’ अहिले गाई संरक्षण गर्न समित गठन गरिएको छ।
गौशालाको नाम ‘बगारबाबा गोरक्ष गौ धाम’ राखिएको छ। गौशाला व्यवस्थित गर्ने योजना रहेपनि सबैको सहयोग प्राप्त हुन सकेको छैन। केहि व्यक्तिको सहयोगबाट गोठमा टिनको छानो हाल्ने र गाई बाध्ने किला गाड्ने काम सम्भव भएको छ। लमही निवासी कुलराज गिरीले गौशालामा टिनको छानो हाल्न सहयोग गरेका हुन्।
अरु सहयोगी मन भएका व्यक्तिहरु पनि छन्, जो गाईलाई नियमित दाना, पराल र पानी खुवाउँन पुग्छन्। गौशालाको छेवैमा एउटा कुटी बनाइएको छ। गौशालामा आउनेहरु कुटिमा राखिएको मुर्तिको दर्शन गर्छन्।
झिंगटाले बारेर बनाइएको गोठ अहिले गाईका लागि प्रयाप्त छैन। गोठ थप्ने योजना भएपनि आर्थिक अभावका कारण काम अघि बढ्न सकेको छैन। ‘अहिलेसम्म व्यक्तिगत लगानी हो। महायज्ञबाट २ लाख रुपैयाँ प्राप्त भएको थियो। त्यसबाट नल्का गाडियो’, कवरले भने ‘सरकारको सहयोग विना गौशाला चलाउन गाह्रो भयो।’
प्रदेश ५ का प्रदेश सभा सदस्य रेवतीरमण शर्मा गौशालालाई धार्मिक पर्यटनसँग जोड्नु पर्ने बताउँछन्। गौशालाको अवलोकन गर्न पुगेका शर्माले गौशाला व्यवस्थित बनाउन प्रदेश सरकारसंग सहयाेगका लागि पहल गर्ने बताए। ‘तपाईहरुको काम देखेर प्रशन्न भएका छौँ। यहाँको काममा थप उत्साह थप्छौँ,’ उनले भने,–‘गाईपालन हरेक दृष्टिले उत्तम छ। गौशालालाई गाईको मल मुत्रबाट औषधि बनाउने केन्द्र सम्म बनाउन सक्छौँ।’