
पोखरा – सरकारले तोके भन्दा बढि शुल्क विद्यार्थीबाट असुल्दै आएको आरोपमा गण्डकी मेडिकल कलेजका सिइओसहित दुईजनालाई बुधबार प्रहरीले पक्राउ गरेको छ ।
विद्यार्थीले दिएको उजुरी प्रमाण आधारमा ठगी मुद्धा उपर कारवाही स्वरुप कलेजका सिइओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख तथा एसपी ओम रानाले जानकारी दिए ।
‘मेडिकल कलेज सञ्चाकल खुमा अर्याल लगायतका व्यक्तिले शैक्षिक शुल्कका नाममा तोकिएको भन्दा बढि ९ लाख रुपैयाँसम्म लिएर ठगी गरेको, अवैध शुल्क उठाउने नाममा परिक्षामा सामेल नगराउने, कलेजबाट निकाल्ने धम्की दिइ मानसिक तनाव दिएको,’ विद्यार्थीको उजुरीमा उल्लेख छ । हालसम्म कलेजले विद्यार्थीबाट अवैध रुपमा ५३ करोड रुपैयाँ ठगि गरेको विद्यार्थीले बताउँदै आएका छन् ।
गएको माघ १७ गतेबाट आन्दोलित विद्यार्थीले वार्ताबाट सहमति जुट्ने नदेखेपछि अन्ततः ठगी मुद्धामा मंगलबार सम्पत्ति शुद्धिकरण विभाग र प्रहरी कार्यालयमा कलेजका सञ्चालकहरु विरुद्ध छुट्टाछुट्टै उजुरी दिएका थिए ।
कलेजका सञ्चालक खुमा अर्याल, प्रशासकीय अधिकृत कृष्ण घिमिरे, प्रिन्सिपल रवीन्द्रप्रसाद श्रेष्ठ, फाइनान्स कन्ट्रोलर युवराज शर्मा र लेखा शाखा प्रमुख हरिमाया पौडेल तथा कलेजमै कार्यरत दिनेश पौडेलको मिलेमतोमा रकम असुलेको विद्यार्थीले दाबी सहित उजुरी दिएका हुन् ।
आरोपी सम्पर्कमा नआई फरार रहेको र सबैको खोजी तीव्र पारिएको प्रहरी स्रोतले जानकारी दिएको छ । विद्यार्थीले कलेज सञ्चालकहरुको खाता रोक्का गरी छानबिन गर्नुपर्ने, क्षतिपूर्ती सहितको बढि लिएको रकम फिर्ता गर्नुपर्ने जाहेरीमा जनाएका छन् ।