
काठमाडौँ– गायिका मेलिना राईले आफैले गाएको गीतप्रति असन्तुष्टि व्यक्त गरेपछि निर्माताले प्रतिक्रिया दिएका छन्। ‘१० महिना अगाडि फाइनल भएको गीतलाई मन परेन भनेर अहिले भन्न कत्तिको उपयुक्त होला,’ भट्टराई भन्छन्, ‘मेलिनाले पछि दिएको गीतको आवाज म्याच नै भएन त्यसैले पुरानो नै हालेका हौ।’
निर्माता केशव भट्टराईले निर्माण गर्न लागेको चलचित्र ‘यात्रा– द म्यूजिकल भ्लग’ मा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम’ मा स्वर दिएकी मेलिनाले राम्रो, म्याच हुने गीत नराखेको भन्दै स्टेटस लेखेर असन्तुष्टि पोखेकी थिइन्। शुक्रबार बिहान उनले अन्तराष्ट्रिय महिला दिवसको शुभकामना दिँदै फेसबुक स्टेटस मार्फत आफ्नो असन्तुष्टि पोखेकी थिइन्।
यो गीत चलचित्र ‘आफ्नो मान्छे’ मा समावेश गीत ‘चट्ट रुमाल क्या मालुम’ को रिमेक हो। संगीतकार तथा गीतकार शम्भुजित बास्कोटा र गायिका साधना सरगमको स्वरमा रहेको थियो। गीतको शब्द बाबुराम दाहालले लेखेका हुन्। यो गीतमा स्वर्गीय नायक श्रीकृष्ण श्रेष्ठ अनि अभिनेत्री निरुता सिंहले नाँचेका छन्।
अहिले बनेको गीतमा भने गायिका मेलिना राई अनि गायक धर्मेन्द्र सेवानको स्वर रेहेको छ।
के भन्छिन् मेलिना राई ?

तस्बिर:मेलिना राईको फेसबुकबाट
गीत प्रति मेलिनाको असन्तुष्टिप्रति स्टेटसमा मेलिना लेखेकी छन्,
‘सुपर स्टार कलाकारले गाएको सुपरहिट भइसकेको गीतलाई रिमेक गरेर बजारमा ल्याउनु ठूलो चुनौति थियो। त्यही अनुसार हामी मेहनत गरिरहेका थियौँ, पछि परेका थिएनौ। मैले यो गीतलाई दुई पल्ट स्वर दिए। सुमन के सीले तीनपल्ट स्वर दिनुभएको थियो तर गीतमा उनको स्वर छैन। श्याम स्वीट दाईले ३ पल्ट मिक्स गर्नुभएको थियो। बाजाहरु थपिएको थियो।
यति गर्दा पनि फाइनल गीत नराखेर पुरानै गीत राखियो, धेरै अनुरोध गरियो फाइनल भएको गीत रिप्लेस गरियोस् भनेर तर ट्रेन्डिङ र भिउजको लागि अस्वस्थ प्रतिस्पर्धाको चपेटामा हामीलाई पारियो। यसले म र संगीत क्षेत्रमा आउँने नयाँ साथीहरुलाई ठेस पुगेको छ।
कलाकार भएको नाताले मसँग बोल्ने अधिकार छ। टिमप्रति घोर निन्दा गर्छु। श्रष्टाहरुप्रति मेरो सम्मान छ।
महिला दिवसको सबैलाई शुभकामना, धन्यवाद।’
देशसञ्चारसँगको कुराकानीमा राईले आफूले गाएको गीत सकेसम्म राम्रो जाओस् भन्ने लागेकाले नै दोहो¥याएर रेकर्ड गरेको बताइन। ‘सात महिना अगाडि रेकर्ड गरिएको गीतलाई मैले दुई महिना अगाडि ट्राक लगेर फेरी रेकर्ड गराएको थिए,’ राई भन्छिन्, ‘समथिङ बेटर देन नथिङ नि त।’
मेलिनाका अनुसार सुमन केसीसँग गाएको गीत अहिलेको भन्दा धेरै राम्रो थियो। उनका अनुसार गीत परिवर्तन गर्न उनले धेरै पल्ट फोन गरेकी थिइन्।
निर्माता केशव भट्टराईको जवाफ

तस्बिर : केशव भट्टराईको फेसबुकबाट
निर्माता केशव भट्टराईले मेलिनाले धेरै पल्ट गीत बदल्ने कुरा गरेको स्वीकार गरेका छन्। ‘५० पल्ट फोन गरी सक्नुभयो।’
उनका अनुसार मेलिनाले रिप्लेस गर भनेको गीत पहिला गरेको भन्दा पनि म्याच हुने खालको थिएन त्यसैले गीत नफेरिएको हो।
१० महिना अगाडि नै गीतको काम सक्किइसकेको थियो। आवाज नराखिएको भनिएका गायक सुमन के सीले पनि भट्टराईलाई ‘मन परे राख्नुहोला’ भनेका थिए। राख्न खोज्दा पनि पहिलाको नै राम्रो सुनिएकोले गीत परिवर्तन नभएको भट्टराईले बताए। गीत गुञ्जन स्टूडियोमा रेकर्ड गरिएको थियो।
गीतका धनी के भन्छन्

तस्बिर : शम्भुजित बास्कोटाको फेसबुकबाट
गायक तथा संगीतकार शम्भुजित बास्कोटाले चलचित्र आफ्नो मान्छेका लागि यो गीत गाएका थिए। संगीत उनैले भरेकाले रिमेक गर्दा निर्माता केशव भट्टराईले बास्कोटालाई सोधेका थिए।
बास्कोटा भन्छन्, ‘संगीत क्षेत्रमा आउने नयाँ पिढिलाई जहिले पनि स्वागत छ। मैले नाई भनिन, दुईओटा सर्त भने राखेको थिए।’
बास्कोटाले राखेका दुई सर्त थिए,
१, गीतलाई कँहि बिगार्न पाइदैन,
२, सार्वजनिक गर्नु अगाडि सुनाउनु पर्ने
तर बास्कोटाले गीत सार्वजनिक भएपछि मात्रै सुने । गएको मंगलबार अर्थात् फागुन ११ मा गीत बिग मुभिजमा गीत सार्वजनिक कार्यक्रम हुँदामात्र उनले गीत सुन्न पाए। देशसञ्चारसँग कुराकानी गर्दै बास्कोटाले भने, ‘मलाई गीत खड्किएको थियो।’
पहिला रेकर्ड भएको गीत परिवर्तन गर्ने भन्ने बारेमा केशव भट्टराईले एरेन्जरसँग पनि कुरा गरेका थिए। एरेन्जर रञ्जन इशानले देश सञ्चारलाई बताए, ‘पहिला रेकर्ड गराएको भन्दा अर्को पटक गीत रेकर्ड गर्ने हो की भनेर सोध्नु भएको थियो तर मैले गर्दिन भने,’ रञ्जन भन्छन्, ‘पहिला १ दिन स्वर रेकर्ड गरेर गायक गएका हुन्, गीत तयार हुन १ महिना लागेको थियो।’
युटुयुबमा ट्रेन्डिङ्मा परेको गीतलाई धेरैले रुचाएका छैनन्। धेरैले पुरानो गीत नै राम्रो भनिरहँदा मेलिना राईको यस्तो स्टेटस आएको हो। यो गीत चैत २९ मा प्रदर्शनमा आउने चलचित्र यात्राको हो।