
धनगढी – आफू अपहरणमा परेको नाटक गर्ने धनगढीका व्यापारी जगतबहादुर सिंह पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई भारतको पञ्जाब स्थित लुधियानाबाट पक्राउ गरेको हो । उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । भारतीय नम्बरबाट फोन गरी १५ लाख रुपैयाँ फिरौती माग गर्ने उनी आफै रहेको प्रहरीले जनाएको छ ।
फागुन २२ गते बुधबार धनगढी बजारमा आरम्भ फेन्सी पसल संचालन गरी बस्ने सिंहले आफू अपहरणमा परेको भनी भारतीय नम्बरबाट घरका सदस्यलाई फोन गरी १५ लाख माग गरेका थिए ।
जिल्ला प्रहरी कार्यालयले प्रहरी परिचालन तथा भारतीय प्रहरीसँग सम्पर्क समन्वय गरी खोज तलास गर्दा व्यापारी सिंहले घरमा फोन गरेको नम्बरको लोकेसन भारतको पंजाबमा देखिन आएको र त्यहाँबाट शुक्रबार बेलुका ल्याई सोधपुछ गर्दा आफूले धनगढीका स्थानीय व्यापारीसँग ऋण कर्जा लिएको र सो ऋण कर्जा बापत अनादर चेक दिएको हुँदा अनादर चेकका कारण कारबाही हुने डर त्रासका कारण आफू भारत पंजाब लुधियाना गई भारतीय नम्बरबाट घरमा फोन गरी आफू अपहरणमा परेको र अपहरण मुक्त हुन पैशा माग गरेको स्विकारेको कैलालीका प्रहरी प्रमुख आभुषण तिमिल्सेनाले जानकारी दिए ।