
संखुवासभाको खाँदबारीस्थित एक होटलमा भेटिएकी हसिलो स्वाभावकी निलिमा तामाङको जन्म धादिङ जिल्ला रुबी भ्यालीमा भएको हो।२२ वर्ष अघि जन्मिएकी निलिमा भाषा रुपान्तरण अर्थात दोभासे पेशामा आवद्ध छिन्। मुख्यतः निमाले बोल्ने भाषा चीनको रहेको छ। गएको ६ वर्ष अघिबाट चीनियाँ लवचलाई अनुसरण गर्दै अघि बढेकी निलिमा यतिबेला पूर्वी पहाडमा रम्दै हिड्न थालेकीछिन्। सन्दर्भ, भाषा सिक्नु र त्यसबाटै जीवनयापनका लागि तयार हुनु। निलिमाको चीनियाँ भाषाप्रति न विगतमा सम्बन्ध थियो न त कुनै पारिवारिक रुची नै। तर, पनि भाषाले उनलाई यतिबेला ब्यस्त बनाइदिएको छ।
निलिमाले कक्षा १ देखि १० सम्मको अध्ययन काठमाडौँको गोठाटारस्थित अर्किड पुपिल स्कुलमा पुरा गरिन् र त्यसपछि निलिमाले चावहिलस्थित सेन्ट लोरेन्स कलेजबाट १२ कक्षाको अध्ययन पुरा गरिन्। यसबीच काठमाडौंको बसाइ सहज थिएन्। उनी कामको खोजीमा पशुपति मन्दिर परिषरमा रहेको एक धार्मिक पसलमा पुगिन्। जहाँ रुदाक्षको व्यापार हुने गथ्र्यो।
सो पसलमा काम गरिरहदाँ उनले आफै फरक तरिकाबाट काम गर्ने योजना बुनिन्। सोही क्रममा उनीको निकटता चीनका व्यापारीसंग बढ्दै गयो। चीनमा बोलिने विभिन्न भाषा मध्ये मन्डारिय बोल्न र बुझ्न थालेकी युवतीले आफ्नो भविष्य रुदाक्ष र भाषामा भेटिइन्।
अफ–सिजनका क्रममा संखुवासभा जिल्लाको खाँदबारीमा भेटिएकी निलिमा चीनका व्यपारीमाझ रुदाक्ष पहिचान गर्ने क्रममा व्यस्त थिइन्। रुदाक्ष देखाउने क्रममा रहेकी निलिमाले भनिन्,‘चीनमा रुद्राक्षको राम्रो बजार रहेको छ। त्यहाँ हुने दैनिक बजार भाउले यहाँको बजार समेत प्रभावित हुनेगर्छ।’
रुद्राक्षको व्यवसाय त फस्टाउँदो छँदैछ र सँगसंगै चीनको भाषा बोल्नेलाई समेत यसले सहज बनाएको छ। उनी भन्छिन्, ‘नेपालमा काम छैन भन्दै विदेशिनु पर्ने अवस्थाको विकल्पका रुपमा यसलाई लिन सकिन्छ। चीनको भाषा बुझ्ने र रुपान्तरण गर्न सक्ने हो भने, यहीँ सहज रुपमा कमाइ गर्न सकिन्छ।’ हास्दै भनिन्, ‘चावहिल हुँदा करिब दुई महिना सामान्य कक्षा लिए त्यसपछि व्यापारकै क्रममा चीनको भाषा सिकें।’
तामाङ परिवारको एक्ली छोरी निलिमाकै अग्रसरतामा दाइ नारायण र भाइ निशान दुवैजना यसै पेशामा रहेकाछन्। कामको सुरुआती समय आमा तारा तामाङलाई सम्झाउन भने निक्कै गाह्रो भएको निलिमाले गुनासो गरिन्। उनले भनिन्, ‘आमाले एक्लै टाढा–टाढा जाँदा गाह्रो हुन्छ भन्नुहुन्थ्यो। म सम्झाउँथें। तर, समाजलाई छेक्न सकिन्न रहेछ। सुरु सुरुमा कुरा काट्ने भेटिए। सम्झाउन गाह्रो भयो। तर अब कामबाट सबै खुशी छन्। आफू भलो त जगत भलो भने झैँ।’
निलिमाको बुझाईमा चीनियाँ भाषा राम्ररी बोल्न र बुझ्न सके यहाँ कमाई राम्रो रहेको छ। उनी भन्छिन्, ‘यहाँ रुद्राक्षको मात्र कुरा होइन। भाषामा पोख्त भए यहाँ निर्माण हुने चिनियाँ लगानीका हाइड्रो, मोबाइल व्यवसायमा राम्रो कमाइ छ।’
उनले भदौबाट रुदाक्षको सिजन सुरु हुने भएपनि यसपटक भने फाल्गुन अन्तिमसम्म पनि चीनबाट व्यापारी आइरहेको बताइन्। रुद्राक्षका लागि मुख्यतः भदौदेखि पुषसम्म सिजन हुन्छ। भदौको सुरुवाती समयको रुद्राक्षको माग धेरै हुने उनले बताइन््।’ उनले भनिन्, ‘सिजनमा २५ देखि ३० लाख रुपैयाँ बराबरको रुद्राक्षको कारोबार हुन्छ। त्यसमा पनि पूर्वी पहाडी जिल्ला धनकुटा, खोटाङ, भोजपुर, संखुवासभा, ताप्लेजुङ, तेह्रथुम, इलाम तथा सुनसरीको धरान र मोरङको लेटाङमा उत्पादन हुने रुद्राक्षको व्यापारिक केन्द्र भनेको खाँदबारी बन्दै गएको छ।
मुख्यतः चिनियाँ व्यापारीहरुले थेप्चो, चिप्लो, बुट्टे, मदने किसिमका रुद्राक्षमा आकर्षण रहेको हुन्छ। यो संगै स्टार(तारा) दाना भए सुनमा सुगन्ध हुने निलिमाले बताइन्। ‘चारै गुण भएको दानाका लागि ज्यापारीले लाखौं रकम हाल्ने गर्छन। उनीहरुले आर्थिक रुपमा सबल हुन र शान्तिका लागि रुद्राक्षबाट ब्रासलेट, माला, सिटको कभर इत्यादि बनाउने गर्छन्।’
रुद्राक्ष व्यवसायी संघ संखुवासभाका अध्यक्ष चक्र विशुन्केले यसै सिजन कार्तिकमा भारत हरिद्धारका एक व्यापारीले ३९ लाख रुपैयाँमा २१ मुखे रुदाक्ष खरिद गरेको जानकारी दिए। यस सिजनमा चीनबाट मात्र करिब १ सय ५० जना व्यापारी रुद्राक्षका लागि खाँदबारी पुगेको उनको भनाइ छ। यूवा दोभाषेहरुको संख्या बढ्दै गएका बताएका विशुन्के भन्छन्, ‘चीनको भाषा जान्ने र रुद्राक्षको विषयमा जानकारी भएकाहरुको लागि आय आर्जन गर्न सहज छ। भाषाकै भरमा धेरै नेपालीले समेत काम पाएका छन्।’
हवाई मार्गबाहेक सडकबाट निर्यात हुने रुद्राक्षको विषयमा यकिन आँकडा नभएपनि वर्षेनी एक अर्व रुपैयाँ बराबरको खरिदविक्री हुने गरेको अध्यक्ष विशुन्केले जानकारी दिए। मुख्यतः चीनमा चार र पाँच मुख भएको रुद्राक्ष बढि खपत हुने गरेको छ। त्यसैगरि, सातमुख भन्दा बढि मुखहुने रुद्राक्ष भने भारतीय व्यवसायीहरुले खरिद गर्ने अनुभव रहेको उनको भनाइ छ। अध्यक्ष विशुन्केका अनुसार मुखद्धार भएका रुद्राक्ष हेरिकन एउटैलाई २० देखि २५ लाख रुपैयासम्म पर्ने गर्छ।