
धनगढी-राप्रपाका अध्यक्ष कमल थापाले बिगतमा भएको १२ बर्षे जनयुद्ध राजा र हिन्दु राष्ट्र फाल्न षडयन्त्र भएको बताएका छन्।
उनले अहिले पनि एउटा कम्युनिष्टका नाममा विप्लव समुहले गरिरहेको आन्दोलनले १२ बर्षे जनयुद्ध राजा र हिन्दुराष्ट्र फाल्ने षडयन्त्र प्रष्ट भएको बताए।
राप्रपाले शुरु गरेको राष्ट्रिय स्वाभिमान यात्राका क्रममा शनिवार धनगढीमा आयोजित सभामा अध्यक्ष थापाले शान्ती स्थापनका नाममा तत्कालिन माओवादीको अगुवाईमा राजा र हिन्दु धर्मलाई पाखा लगाएको तर अहिले पनि विप्लव माओवादीले देशभर आक्रमण गरिरहेको बताए। उनले भने–‘जनताले शान्तिको आशा जगाएका वेला फेरी अशान्ति शुरु भएको छ, अब माओवादी देखि राजा सम्म अटाउने प्रजातन्त्र स्थापनाको आवश्यकता छ।’
अध्यक्ष थापाले सरकारले नाटकिय ढंगले राष्ट्र बिखण्डनका अगुवासंग सम्झौता गरेको उल्लेख गर्दै सम्झौताको वास्तविक अर्थ आमज नतालाई तत्काल प्रष्ट पार्न सरकारलाई आग्रह गरे। उनले भने– ‘सिके रावतले बिखण्डनको ऐजेण्डा छोडेको भए स्वागत छ, तर सम्झौतामा स्वतन्त्र मधेसका बारेमा जनमत संग्रह हुने उल्लेख भएको हो भने त्यो राष्ट्रघात हो।’
त्यस्तो खालको सम्झौता भएको भए राप्रपा त्यस विरुद्ध संघर्ष गर्ने पनि थापाले बताए। अध्यक्ष थापाले आफ्नो पार्टीका तर्फबाट प्रधानमन्त्रीलाई २२ बँुदे ज्ञापनपत्र बुझाएको स्मरण गर्दै फागुन मसान्त भित्र ज्ञापन पत्रमा उल्लेख भएका मागका बारेमा उचित सम्बोधन नभए चैत १ गते देखि जनसंघर्ष गर्ने उल्लेख गरे।
उनले त्यो संघर्ष कुनै पार्टी र व्यक्तिका विरुद्ध नभई हिन्दु राष्ट्र र राजसंस्था स्थापनाका लागि शान्तीपुर्ण संघर्ष हुने उल्लेख गरे। ‘स्वाभिमान यात्राका क्रममा देशभर हिन्दु राष्ट्र र राजसंस्थाका बारेमा जनलहर पाएँ’ अध्यक्ष थापाले भने–‘यस लहरलाई हामी निरास हुन दिन्नौं।’ अहिले देश संकटको चक्रव्युहमा फसेको बताउँदै थापाले वर्तमान सरकारलाई कमी कमजोरी सच्चाएर अघि बढ्न आग्रह गरे।