
नेपालगञ्ज – बर्दियाका ईश्वरकुमार थारु सिकलसेल एनिमियाका बिरामी हुन् । उनी २०७२ सालदेखि भेरी अस्पताल, नेपालगञ्जको सम्पर्कमा छन् । सरकारले दिने गरेको एक लाख बराबरीको निशुल्क औषधि थारुले खाइसके ।
गएको बिहीबार थारु अस्पतालमा आए । सरकारबाट एक लाख बराबरको औषधि खाइसकेपछि थारुलाई अब कहाँबाट औषधि दिने अन्यौल भयो । भेरी अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट (मेसु) डा. राजन पाण्डेले सामाजिक सेवा इकाईबाट निशुल्क औषधि दिलाइदिए ।
थारु जातीमा जनस्वास्थ्यको समस्या बनेको सिकलसेल एनिमियाका बिरामीलाई सरकारले एक लाख बराबरको औषधि निशुल्क दिने व्यवस्था गरेको छ । तीन वर्षदेखि बिरामीको तथ्यांक राखेर निशुल्क औषधि दिन शुरु गरिएको हो ।
अहिले भेरीमा ६ सय ४७ जनाले सिकलसेल एनिमियाको निशुल्क औषधि लिइरहेका छन् । बर्दियाकै दशीराम थारुले पनि ३४ पटक औषधि लिइसके । उनको पनि एक लाख बराबरको औषधि पुग्न थालेको छ ।
थारु जातीमात्रै देखिएको यो रोगको ‘पुष्टि’ नहुँदा बिरामीहरु लामो समयसम्म भौतारिए । केही वर्षयता सिकलसेल एनिमिया ‘पुष्टि’ भएपछि सरकारले तोकेको अस्पतालमा आएर औषधि लगिरहेका छन् । बाँके, बर्दिया, दाङ, कैलाली, कञ्चनपुरजस्ता थारु बाहुल्य क्षेत्रमा सिकलसेल एनिमिया देखिएको छ । विगतमा मलेरियालाई जितेका थारु समुदायमा सिकलसेल एनिमिया देखिएको डा. पाण्डेको भनाई छ ।
सरकारले एक लाखसम्मको औषधि त उपलब्ध गराएको छ । त्यति औषधि खाएपनि रोग त निको हुँदैन, भएको छैन । अब के गर्ने ? २०७२ सालदेखि औषधि खान शुरु गरेका पहिलो लटका अधिकांश बिरामीहरु यो चिन्तामा परिसकेका छन् ।
एक लाखको औषधि खाइसकेका जतिलाई फेरि ‘गरीव’ को कोटीमा राखेर औषधि दिने व्यवस्था त छैन । सरकारले फेरि ध्यान दिनु पर्ने बेला आइसकेको छ । २०७२ सालदेखि भेरीबाट निशुल्क औषधि लगेर खान शुरु गरेका दुई जनाको मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
मेसिन बिग्रियो
विगत ६ महिनादेखि भेरी अस्पतालले सिकलसेल एनिमियाको निशुल्क जाँच गर्न शुरु गर्यो । तर, तीन महिना पुग्दा नपुग्दै ‘इलेक्ट्रो फोसिस’ मेसिन बिग्रियो । आजको दिनसम्म उक्त मेसिन बनेको छैन ।
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले दिएको ४० लाख हाराहारीको मेसिन बिग्रिदा दैनिक जाँच गर्न आउने १०/१२ जना निराश भएर फर्किनु परेको छ । ‘६ महिनादेखि निशुल्क जाँच सेवा शुरु गरेका थियौ ।
ढाई महिनादेखि मेसिन नै बिग्रिदा समस्या भएको छ, निमित्त मेसु डा. पाण्डेले भने, बनाउने प्रक्रिया अघि बढिसकेको छ ।’ अस्पतालका उपप्रमुख मेडिकल ल्याब टेक्नोलिष्ट बालकृष्ण अवालले सिकलसेलको जाँच गर्ने अर्को बैकल्पिक मेसिन नहुँदा समस्या भएको बताए ।
अस्पताललाई तत्कालिन जिल्ला जनस्वास्थ्य कार्यालयले एउटा मेसिन नदिएको होइन । तर, त्यो दिएको दिनदेखि नै चलेन । ल्याब टेक्नोलिष्ट अवालका अनुसार, नचलेपछि जनस्वास्थ्यले दिएको मेसिन तत्काल फिर्ता पठाइएको थियो । जनस्वास्थ्यले बुझ्न मानेन । फिर्ता आएको मेसिन अहिले स्टोरमा थन्किएको छ ।