
पोखरा– गण्डकी मेडिकल कलेजमा विद्यार्थीले लगाएको ताला शनिबार ४५ दिनपछि खुलेको छ।
गएको माघ १७ देखि कलेज विरुद्ध चार बुँदे माग राख्दै आन्दोलित विद्यार्थीले लगाएको ताला जिल्ला प्रशासन कार्यालय कास्कीलाई जानकारी गराएर प्रहरीको रोहवरमा खोलिएको हो।
तालाबन्दीका कारण ४५ दिनयता पठनपाठन ठप्प थियो भने कलेजको पृथ्वीचोक स्थित शिक्षण अस्पतालको आकस्मिक बाहेकको सेवा समेत प्रभावित भएको थियो।
‘वार्ता र संवादको माध्यमबाट कुनै निश्कर्ष ननिस्केपछि हामी विद्यार्थीहरु कानुनी प्रक्रियामा गइसकेको र अब न्यायीक फैसला र नियमनकारी निकायको प्रतिवेदन नआउन्जेल हामीले आन्दोलन स्थगित गर्ने निर्णय गरेका छौँ,’ विद्यार्थीले प्रशासनलाई उपलब्ध गराएको पत्रमा भनिएको छ। पठनपाठन र परिक्षा सुरु गरिदिन समेत विद्यार्थीले प्रशासन समक्ष आग्रह गरेका छन्।
अवैधानिक रुपमा ५३ करोड रुपैयाँ बढि असुलेको आरोपमा विद्यार्थीले प्रशासनमा कलेज सञ्चालक खुमा अर्याल सहित ११ जना विरुद्ध ठगि मुद्दामा जाहेरी दर्ता गराएका छन्।
पूर्व सिइओ सन्तोष खनाल र परिक्षा नियन्त्रक लक्ष्मणप्रसाद शर्मालाई गएको फागुन २२ गते प्रहरीले पक्राउगरी ठगि मुद्दामा कारवाही अघि बढाएको छ। फरार भएका सञ्चालक खुमा अर्याल सहित नौं जना पक्राउ परेका छैनन्।
चिकित्सा शिक्षा अन्तर्गत एमबिबिएस, बिडिएस, नर्सिङ लगायतका आठ शैक्षिक कार्यक्रममा अध्यापन गराउँदै आएको कलेजमा सातसय विद्यार्थी छन्।