तीन ठाउँमा बर्ड फ्लु

काठमाडौँसहितका ठाउँमा बर्ड फ्लुको संक्रमण, चिकित्सक भन्छन्, ‘आत्तिनु पर्दैन’

काठमाडौँसहितका ठाउँमा बर्ड फ्लुको संक्रमण, चिकित्सक भन्छन्, ‘आत्तिनु पर्दैन’
+
-

काठमाडौँ – देशका तीन ठाउँका कुखुरामा बर्ड फ्लुको संक्रमण देखिएको र त्यसलाई नियन्त्रण गर्ने प्रयास जारी रहेको पशु सेवा विभागले जनाएको छ ।

हेटौँडा, पोखरा र काठमाडौँको तारकेश्वरमा बर्ड फ्लुको संक्रमण देखिएको र आफूहरुले त्यसलाई फैलिन नदिनका लागि सुरक्षात्मक उपाय अपनाएको पशु सेवा विभागका महानिर्देशक विमलकुमार निर्मलले देश सञ्चारलाई जानकारी दिएका छन् ।

हेटौँडा र काठमाडौँमा विशेष गरि लेयर्स कुखुरामा योपटक एच ५ एन वान भाइरसको संक्रमण देखिएको हो । यस्तै पोखरामा भने लोकल कुखुरामा संक्रमण देखिएको महानिर्देशक निर्मलले बताए । हेटौँडा र काठमाडौँमा संक्रमण फैलिन नदिनका लागि गर्नु पर्ने प्रयास भएको उनले जानकारी दिएका छन् ।

महानिर्देशक निर्मलले भने, ‘हेटौँडा र तारकेश्वरमा फर्ममा रहेका लेयर्स कुखुरामा संक्रमण देखिएकाले मन्त्रीस्तरीय निर्णय अनुसार चार किल्ला छुट्याएर संक्रमित फर्मका कुखुरा गाड्ने काम भएको छ । पोखरामा भने लोकल कुखुरामा देखिएकाले सुरक्षात्मक उपाय अपनाउन केही समय लागेको छ । त्यहाँ पनि अबको केही दिनमा सबै नियन्त्रणमा आउने छ ।’

उनले अहिले देखिएको संक्रमण त्यति भयानक नरहेको र सुसुप्त अवस्थामा रहेको भाइरस सक्रिय हुँदा फैलिएको बताए । महानिर्देशक निर्मलले भने, ‘अहिलेको संक्रमण नयाँ होइन, सुसुप्त अवस्थामा रहेको भाइरस संक्रिय हुँदा संक्रमण देखिएको हो । चिसोमा भाइरस सक्रिय भएकाले संक्रमण देखिएको हो ।’

महानिर्देशक निर्मलले बाहिरबाट आएका कुखुराका कारण अहिलेको संक्रमण नरहेको दाबी गरेका छन् । आफूहरुले क्वारेन्टाइन नगरिएका कुखुरा र कुखुराजन्य उत्पादन बाहिरबाट ल्याउन नदिएकाले अहिलेको संक्रमण गम्भीर र संक्रामक नरहेको बताए ।

तर बर्ड फ्लु रोग विशेषज्ञ डा. होमबहादुर बस्नेतले भने प्रायः गरि बर्ड फ्लुजन्य संक्रमण नेपालमा भारतबाट भित्रने गरेको र अहिले भारतमा संक्रमणको अवस्था रहेकाले हेटौँडा हुँदै काठमाडौँसम्म पुगेको हुन सक्ने बताए । उनले भने, ‘कुखुरा क्षेत्र संवेदनशिल छ र अहिलेको संक्रमण पनि यसअघिका जस्तै भारतीय क्षेत्रबाट लुकी चोरी ल्याएका संक्रमक कुखुराबाट फैलिएको हुनुपर्छ ।’

उनले चितवनमा अहिलेसम्म संक्रमण देखिएको छैन, तर कुखुरा व्यवसायको केन्द्र चितवन संक्रमणको जोखिममा भने रहेको उनले बताए । बर्ड फ्लु संक्रामक रोग भए पनि यसबाट अत्तालिनु पर्ने अवस्था भने नरहेको डा. बस्नेतले बताए । डा. बस्नेतले भने, ‘सर्न थाल्यो भने डराउनु पर्छ । तर अहिलेको अवस्था बर्ड फ्लुले संक्रामक रुप लिएको होइन । नियन्त्रणका उपायहरु पनि भएका छन् । किसानले सुरक्षात्मक उपाय अपनाउने हो भने डराउनु पर्दैन ।’

बायो सेक्युरिटी अर्थात जैविक सुरक्षात्मक उपाय अपनाएमा संक्रमणबाट जोगिन सकिने डा. बस्नेतले बताए ।

उनले भने, ‘जैविक सुरक्षा भनेको किसानले आफ्नो फर्मको खोर र त्यस वरपर अपनाउने सुरक्षात्मक उपाय हो । अनावश्यक रुपमा फरक फरक व्यक्ति खोरमा नजाने, खोरको सरसफाइमा ध्यान दिने, वरपरकोको वातावरण सफा राख्ने र चराचुरुङ्गीको अवातजावत विचार गर्नु पर्छ । यस्तै संक्रमण भएको क्षेत्रका कुखुरा र कुखुराजन्य उत्पादन बाहिर जान दिनु हुँदैन ।’ बर्ड फ्लु मानिसमा सर्‍यो भने खतरा हुने तर अहिलेसम्म त्यस्तो अवस्था नेपालमा नआएको डा. बस्नेतको भनाई छ ।

जैविक सुरक्षा कमजोर भएका क्षेत्रमा संक्रमणको जोखिम हुने भएकाले आफूहरुले त्यसका लागि पहल गरिरहेको पशु सेवा विभागका महानिर्देशक विमलकुमार निर्मलले पनि बताएका छन् ।

कुखुरामा बर्ड फ्लु भन्दा रानिखेत भन्ने रोग झन भयानक गरि देखिने गरेकामा अहिले खोपले त्यसमा नियन्त्रण आएको र बर्ड फ्लु विरुद्धको खोप पनि प्रयोगमा ल्याउनु पर्ने डा. बस्नेतले बताएका छन् । तर यसमा सरकार उदासिन हुनु दुःखद रहेको उनले बताए ।

डा. बस्नेत भन्छन्, ‘जैविक सुरक्षासँगै बर्ड फ्लु विरुद्धको खोप पनि प्रयोग गर्न सरकारले तदारुकता देखाउनु पर्छ । देश आत्मनिर्भर बनेको एक मात्र क्षेत्र पोल्ट्रीको सुरक्षाका लागि सरकारले त्यति चासो दिएको देखिएको छैन । खोप ल्याउने वा स्थानीय अवस्था मूल्यांकन गरि यहिँ बनाउन पहल गर्ने त भनिएको छ तर त्यो आलटाले मात्रै छ ।’ पोल्ट्री क्षेत्रले देशको अर्थतन्त्रमा ठूलो योगदान दिएकाले बर्ड फ्लुसहितका रोग विरुद्ध सरकार सजग हुनु पर्ने उनले बताए ।

यस्तै पोल्ट्री क्षेत्र नेपाल आत्मनिर्भर रहेको र अर्थतन्त्रमा पनि बलियो सहयोग दिँदै आएको क्षेत्र भएकाले यसमा देखिने समस्याको असर समग्र अर्थतन्त्रमा पर्ने भएकाले सचेत हुनु पर्ने वरिष्ठ कृषि अर्थविद विनोद भट्टराईले बताएका छन् ।

कुखुरापालनबाट नेपालले वार्षिक ३३ अर्ब ७२ करोड अर्थोपार्जन गरिरहेको छ । झण्डै एक लाख ५० हजार व्यक्तिले रोजगार पाएका छन् भने कूल गार्हस्थ्य उत्पादनको झण्डै चार प्रतिशत र कूल कृषि गार्हस्थ्य उत्पादनमा झण्डै आठ प्रतिशत पोल्ट्री क्षेत्रको भूमिका रहेको छ ।

यो पनि पढ्नुहोस्

के पकाइसकेको कुखुराको मासुबाट पनि बर्डफ्लू सर्छ?

के पकाइसकेको कुखुराको मासुबाट पनि बर्डफ्लू सर्छ?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?