 
                            धनगढी – सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको ९ महिना सम्म पनि प्रदेशका एक सय सहकारीलाई वितरण गर्ने भनेको अनुदान रकम वितरण गर्न सकेको छैन ।
प्रदेश सरकारले प्रदेश भरिका सहकारीलाई अनुदान दिनको लागि चालु आर्थिक वर्षमा १२ करोड ३१ लाख रुपैयाँ विनियोजन गरेको थियो ।
प्रदेश भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयले सहकारीहरुलाई अनुदान उपलब्ध गराउन पुष महिनामा आवेदन माग गरेको थियो ।
मन्त्रालयले पुस ११ गते एक महिने सूचना प्रकाशन गरेर सहकारीलाई आवेदन माग गरेको थियो । आवेदन माग गरिएको समय सकिएको झण्डै दुई महिना बितिसक्दा पनि छनोटको कुनै सुरसार नै छैन ।
मन्त्रालयमा सुदूरपश्चिम प्रदेशका नौ वटै जिल्लाका १ सय ७८ सहकारीले अनुदानका लागि आवेदन दिएको मन्त्रालयका सहकारी तथा गरिबी निवारण शाखा प्रमुख सुरेश प्रसाद जैशीले जानकारी दिए ।
उनका अनुसार प्रदेश भरिका १ सय सहकारीलाई बढीमा २० लाख सम्म अनुदान दिनका लागि आवेदन माग गरेकोमा १ सय ७८ सहकारीको निवेदन परेको छ । मन्त्रालयले माघ मसान्त भित्रै सहकारी छनोट गरिसक्ने बताएको भएपनि अझैसम्म निर्णण हुन सकेको छैन् ।
केही सहकारीले प्रदेश मन्त्रालयमै र केहीले जिल्ला जिल्लामा निवेदन दिएका थिए । ति सबै फाइल मन्त्रालयमा पुगिसकेका भएपनि छनोटका लागि मन्त्रालयले अझै चासो दिएको छैन ।
सहकारीलाई दिने अनुदान आयोजना संचालन गर्नका लागि रहेकाले यसै आर्थिक बर्ष भित्र काम सम्पन्न गरिसक्नुपर्ने प्राबधान छ तर यो आर्थिक वर्ष सकिन झण्डै ३ महिना मात्र बाँकी रहँदा समेत सहकारी छनोट हुन सकेका छैनन् ।
मन्त्रालयका एक कर्मचारीले भने–‘अनुदान दिनुपर्ने १ सय वटा सहकारी हो तर १ सय ७८ सहकारीको आवेदन परेकाले छनोटमा केही समस्या भएको छ ।’ उनले थपे–‘छनोटमा भनसुन गर्ने गरेको भएपनि मन्त्रालयले तयार गरेको मापदण्ड अनुसार नै छनोट हुन्छ ।’ उनका अनुसार सहकारी छनोटका लागि राजनीतिक दलका नेताहरुको दवाव आएको छ जसका कारण पनि केही ढिलाई भएको छ ।
शाखा प्रमुख जैशीले माघ मसान्त भित्र सहकारी छनोट गर्ने भनिएको भएपनि बिचमा मन्त्रालयको अर्को काम परेकाले केही ढिलाई भएको बताए ।
उनले भने–‘स्वरोजगारमुलक तालिम सञ्चालनका लागि चैत १५ भित्रको समयसिमा रहेकाले त्यसमा लागेका छौं, त्यस लगत्तै सहकारी छनोटको काम पनि अघि बढ्छ ।’ शाखा प्रमुख जैशीले यसका लागि कार्यबिधि बनाउँदा ढिलाई भएका कारण पनि काममा ढिलाई भएको बताए ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































