
पोखरा- फागुन दोस्रो साता सोलो उडानका क्रममा चार दुघर्टनामा दुई जना विदेशी नागरिकको ज्यान गएपछि चनाखो बनेको सुरक्षा निकायले पोखराका प्याराग्लाइडिङ कम्पनीहरुको विकृति एकपछि अर्को गर्दै फेला पारेको छ।
अनुगमनका क्रममा आइतबार वडा प्रहरी कार्यालय बैदामले फर्जी प्यारापाइलटद्वारा व्यावसायिक (टेन्डम) उडान गर्दै आइरहेका आठजनालाई नियन्त्रणमा लियो। पोखराका विभिन्न कम्पनीमार्फत उनीहरुले यात्रुसहित उडान भरी अवतरण गर्ने क्रममा नियन्त्रणमा लिएको प्रहरीले जनायो।
प्रहरीको नियन्त्रणमा परेकाहरुमा हरिप्रसाद भण्डारी, जीवन क्षेत्री, विशाल लामा, पवन शर्मा, नवीन परियार, कमल तिमिल्सिना, रामबहादुर तामाङ र दीपक पहारी छन्।
लाइसेन्स साथमा नभएका तर यात्रुसहितको उडान भर्ने आठजनालाई नियन्त्रणमा लिएर छाडिएको वडा प्रहरी कार्यालय बैदामका प्रमुख तथा डिएसपी कोमल शाहले जानकारी दिए। अनुसन्धान भइरहेको र दोषी पाइएमा कारबाहीका लागि सम्बन्धित निकायमा पठाउने डिएसपी शाहले बताए।
बैदाम प्रहरीले बुद्ध प्याराग्लाइडिङ कम्पनीका महेन्द्रबहादुर भट्टराईको जिम्मा लगाई आठैजनालाई जिल्ला प्रहरी कार्यालयमा सम्पर्क गर्ने गरी सोही दिन नै छाडेको थियो।
स्रोतका अनुसार आठजनाले बिनालाइसेन्स विभिन्न कम्पनीमार्फत अवैध उडान विगतदेखि नै गर्दै आइरहेका थिए। स्पष्ट कानुनको अभावमा प्रहरीले विभिन्न समयमा यसरी पक्राउ गर्ने गरेका गैरप्यारापाइलटलाई सामान्य प्रक्रिया पूरा गरी छाड्दै आएको छ।
यससँगै पटकपटक गैरप्यारापाइलटले यात्रु लिएर उडान भर्दा भवितव्य हुन सक्ने दुर्घटनामा कसले जिम्मेवारी लिने प्रश्नसमेत उठेको छ। लाइसेन्स लिएका बैधानिक प्यारापाइलटलाई महँगो शुल्क तिर्न अससमर्थ कम्पनीले जानाजान समस्या निम्त्याइरहेको जानकारहरु बताउँछन्।
अस्वस्थ्य प्रतिस्पर्धाका कारण गैरप्यारापाइलटलाई न्यूनतम शुल्कमा सम्झौता गरी यात्रु उडाउन दिनु गैरकानुनी हो। प्याराग्लाइडिङ स्कुलबाट ट्रेनिङ लिएर लाइसेन्सको प्रक्रिया पूरा गर्न आवश्यक पर्ने फ्लाइटका लागि कम्पनीले त्यस्ता सिकारु पाइलटलाई उडान भर्न दिन्छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) अन्तर्गतको फ्लाइट सेफ्टी स्टान्डर्डस् विभागले दर्ता भएका र सञ्चालनमा रहेको प्याराग्लाइडिङ कम्पनीलाई नियमन गर्छ । ठोस कानुनको अभावमा विभागले गर्ने कारबाही फिलतो भएको बताउँछन् क्यान पोखरा शाखाका सूचना अधिकारी काशीनाथ पौडेल।
‘प्राधिकरणले प्याराग्लाइडिङ कम्पनीहरुलाई नियमन गर्न समयसमयमा अनुगमन गर्ने गरेको छ,’ उनी भन्छन्, ‘अनुगमनमा बिनालाइसेन्सका पाइलटले समेत यात्रु लएर उडाउन खोज्ने, तोकिएका क्षेत्रबाहेक अन्यत्र स्थानबाट उडान गर्न खोज्ने, विदेशी पाइटल जसले सोलो उडान अनुमति लिएका छन्, उनीहरुले समेत जथाभावी उडान गर्ने पायौं।’
पर्याप्त जनशक्तिको अभावमा नियमित अनुगमन गर्न सम्भव नभएकाले प्याराग्लाइडिङ कम्पनीलाई उचित नियमन हुन नसकेको उनी स्वीकार्छन्।
व्यावसायिक उडानमा समेत फर्जी पाइलटले उडान भर्नु गैरकानुनी भएको भन्दै त्यस्तो पाइएमा कारबाहीका लागि विभागमा सिफारिस गर्ने उनले स्पष्ट पारे।
यसअघिका केही प्रतिनिधि घटनामा पाँच देखि २५ हजारसम्म जरिवाना गरी छाडिएको शाखाले जनाएको छ। तर हालसम्म फर्जी प्यारापाइलटद्वारा यात्रु सहित उडान गराउने कम्पनीलाई कारवाही गरिएको रेकर्ड छैन्।
क्यान पोखरा शाखाका निर्देशक भोलाप्रसाद गुरागाई प्याराग्लाइडिङ कम्पनीमा देखिएको यस्तै समस्याबारे काठमाडौंस्थित फ्लाइट सेफ्टी स्टान्डर्डस् विभागसँगको निरन्तर छलफलमा रहेको पौडेलले जानकारी दिए।
विभागले नेपालमा दर्ता सञ्चालनमा भएका सम्पूर्ण प्याराग्लाइडिङ कम्पनीलाई ०७५ जेठ ९ गते गरेको परिपत्र अनुसार सरकारले तोकेको सर्त बेगर उडान गरे पाइलटको लाइसेन्स खारेजीदेखि कम्पनीको इजाजत पत्र समेत रद्द गर्न सकिने कारबाहीको व्यहोरा उल्लेख छ।
त्यस्तै, कम्पनीको सञ्चालन प्रमाण पत्र बैधता नरहेको अवस्थामा व्यावसायिक उडान गरेको पाइएमा प्रचलित फौजदारी कानुन अन्तर्गत सञ्चालक तथा पाइलटहरुलाई कारवाही हुने व्यवस्था छ।
प्याराग्लाइडिङ कम्पनीहरुको आधिकारिक छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना) पोखरामा सक्रिय छ। प्राधिकरणले कम्पनीहरुको सम्पूर्ण नियमन गर्ने भएको हुँदा फर्जी पाइलट राखेर गैरकानुनी काम गर्ने कम्पनीलाई संस्थामार्फत कारबाहीको लागि सिफारिस गर्न सकिने अध्यक्ष योगेश भट्टराईले बताए।
कास्कीमा पोखरा १८ स्थित सराङकोट, तोरीपानी र मान्द्रेढुंगा क्षेत्रबाट व्यावसायिक तथा एकल उडानका लागि अनुमति छ।सराङकोटबाट उडान अनुमति पाएका कम्पनीले खपौदीमा ल्याण्डिङ गर्नुपर्ने हुन्छ । तोरीपानीबाट अनुमति लिएका कम्पनीले चंखपुरमा ल्याण्डिङ गर्नुपर्ने हुन्छ।
मान्द्रेढुंगा क्षेत्रबाट उडान अनुमति लिने कम्पनीले पामेमा अवतरण गर्नुपर्ने नियम सहित प्राधिकरणले सबै क्षेत्रको एयर स्पेस तोकेको छ। तोकिएको क्षेत्रभन्दा अन्य क्षेत्रबाट उडान अवतरण गर्न अनिर्वाय रुपमा प्राधिकरणबाट अनुमति लिनुपर्ने व्यवस्था छ । अधिकांश कम्पनीले प्राधिकरणको नियमलाई लत्याउँदै आएका छन्।
मान्द्रेढुंगा र तोरीपानीबाट उडान अनुमति पाएका कम्पनीले समेत सराङकोट क्षेत्र नजिकै पर्ने भएको हुँदा त्यहीँबाट उडान गर्ने गरेको पाइन्छ।
पोखरा १९ स्थित घार्मी माथि ढिकीडाँडाबाट क्यानको अनुमति लिएर उडान हुने गरेको छ । सो क्षेत्रबाट अत्यन्तै कम संख्यामा मात्रै उडान हुने गरेको क्यानका सूचना अधिकारी काशीनाथ पौडेलले जानकारी दिए।
३६ कम्पनीले बुझाए महानगरलाई कर
दर्ता नभएका र कर नतिरेका प्याराग्लाइडिङ कम्पनी विरुद्ध आक्रामक भएको पोखरा महानगरपालिकाले ३६ कम्पनीलाई दायरामा ल्याएको छ।
६१ वटा पोखराबाट उडान अनुमति पाएका कम्पनीमध्ये सक्रिय सञ्चालनमा रहेका ४५ कम्पनी छन्।
सोमबारसम्म ३६ कम्पनीले मात्र महानगरमा दर्ता भई कर बुझाएको वडा ५ का अध्यक्ष समेत रहेका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए। चार वर्षदेखिको एकमुष्ठ ८६ हजार रुपैयाँ बापतको रकम महानगरलाई बुझाएपछि कम्पनीले उडान यथावत पाएका हुन् । अन्य कम्पनीलाई भने महानगरले प्रहरीको सहायतामा नाकाबाट नै फिर्ता गरिदिएको जनाएको छ।
सोमबार कारबाहीको सिलसिलामा महानगरले गोल्डेन हेभन र एड्भान्स प्याराग्लाइडिङ कम्पनीको उडानमा रोक लगाएको छ । समयमै कर नबुझाउने कम्पनीलाई मासिक पाँच हजार दरले जरिवाना लिने महानगरको निर्णय छ।
पर्यटन शुल्क बापत गण्डकी प्रदेश सरकारलाई प्रत्येक कम्पनीले चालु आर्थिक वर्ष २०७५÷०७६ असारमसान्तसम्ममा एक लाख रुपैयाँ रकम दाखिला गर्नुपर्ने व्यवस्था छ । सो रकम समेत महानगरबाट संकलन हुनेछ।