
पोखरा – गण्डकी प्रदेश सामाजिक विकास मन्त्रालयले विभिन्न ६ विषयगत क्षेत्रमा ९० जना स्वयंसेवकका लागि दरखास्त आह्वान गरेकोमा झण्डैं पाँच गुणा बढीले आवेदन भरेका छन् ।
मन्त्रालयले प्रदेश विकास स्वयंसेवकका लागि माग गरेको स्वास्थ्य, इन्जिनिरयरिङ, कृषि, पशु–भेटेनरी, वन–वातावरण, कम्प्युटर जस्ता विषय क्षेत्रमा प्रदेशका ११ जिल्लाका ६ सय ५१ जनाले आवेदन दिएका हुन् ।
फागुन २७ गतेसम्म परेको आवदेनमा स्वास्थ्य क्षेत्रमा सबैभन्दा बढी ३ सय १० जनाले स्वंयसेवाका लागि निवेदन परेको छ । स्वास्थ्य क्षेत्रमा निर्धारण गरिएको ३५ जनाको कोटामा उल्लिखित संख्याको आवेदन परेको मन्त्रालय प्रशासन तथा योजना महाशाखाले जनायो ।
इन्जिनियरिङ क्षेत्रमा स्यवंसेवा गर्न इच्छुक ८५ जनाले आवेदन दिएका छन् । कृषिमा ९७, पशु–भेटेनरीमा १ सय १५ जना, वन–वातावरणमा २० जना, कम्प्युटरमा २४ जनाले स्वयंसेवाका लागि आवेदन भरेका छन् ।
प्रदेशमा अभाव जनशक्तिको परिपूर्तिका लागि मन्त्रालयको प्रस्तावमा गएको माघ २० गतेको मन्त्रिपरिषद बैठकको निर्णयले ११ वटै जिल्लाका लागि कुल १ सय ३६ जना स्वयंसेवकका लागि दरबन्दी स्विकृत गरेको थियो । मन्त्रालयले पहिलो चरणमा स्वास्थ्यतर्फ ३५ जना, इन्जिनियरिङ, कृषि, पशु–भेटेनगरीतर्फ १५–१५ जना, वन–वातावरण र कम्प्युटरमा गरी ५–५ जनाका दरले ९० पदका लागि दरखास्त आह्वान गरेको हो ।
स्वयंसेवा गरे बापत जिल्लाको वर्गीकरण अनुसार स्वयंसेवकले जीवन निर्वाह भत्ता पाउनेछन् । प्रदेशमा ११ वटा जिल्लालाई सुगम र दुर्गमको आधारमा वर्गीकरण गरिएको छ । स्नातकोत्तर उर्तीण स्वयंसेवकले मुस्ताङमा स्वयंसेवा गरेबापत २१ हजार रुपैयाँ प्राप्त गर्नेछन् । सोही योग्यता हाँसिल गरेको स्वयंसेवकले कास्कीमा १९ हजार २ सय प्राप्त गर्नेछ । प्राविधिक तथा अप्राविधिक विषयगत क्षेत्रमा आधारमा समेत तलबमानमा भिन्दाभिन्दै व्यवस्था छ ।
छनोटमा परेका उम्मेदवारहरुलाई समितिको निर्णयानुसार सरकारी वा स्थानीयत तहको सम्बन्धित विषयगत क्षेत्रमा खटाइनेछ । स्वयंसेवकको करार अवधि २ वर्षको हुने कार्यविधिमा व्यवस्था गरिएको छ ।
प्रदेश स्वयंसेवक परिचालन कार्यविधि २०७५ अनुसार प्रदेशका सबै जिल्लाबाट १८ वर्ष पुगेका नागरिकहरुले आवदेन दिएका हुन् । सार्वजनिक लाभको पदमा बसेका र फौजदारी अभियोगमा संलग्न भई अदालतबाट दोषी प्रमाणित भएका व्यक्तिले भरेका आवेदन छनोटका क्रममा रद्द हुनेछन् ।
योग्यता नपुगेका र प्रमाणपत्र पेश नभएका आवेदन उपर छनोट पश्चात्त अन्तिम विवरण सार्वजनिक गर्ने मन्त्रालयको तयारी छ । आवेदक स्वयंसेवकहरुको छनौट कुल सय पूर्णाङ्कमा शैक्षिक योग्यता, भौगोलिक क्षेत्र र अन्तर्वार्ता मार्फत मूल्यांकन हुनेछ ।