
पोखरा-मुलुकमा विदेशी पर्यटकको आवागमनसँगै भित्रिने आपराधिक क्रियाकलाप न्यूनिकरणका लागि सम्बद्ध सबै निकायले सर्तकता अपनाउन अध्यागमन विभागले आग्रह गरेको छ।
यहाँ आयोजित अध्यागमन प्रशासन, पर्यटन र सरोकारवालाहरुको भूमिका विषयमा आयोजित अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देशक ईश्वरराज पौडेलले पर्यटकका गतिविधि तीनै तहका सरकारका साथै स्थानीयस्तरका नागरिकले पनि नियाल्नु पर्नेमा जोड दिए।
‘पोखरामा केही वर्षभित्रमा नै अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुँदैछ। यहाँ स्वतः विदेशी पर्यटकको पनि बढेत्तरी हुन्छ,’ उनले भने, ‘भित्रिने पर्यटकले कहाँ–कहाँ कस्तो मुभमेन्ट गरिरहेका छन्, तिनको निगरानी स्थानीय सरकारदेखि नागरिक, सम्बद्ध व्यावसायीले पनि गर्न आवश्यक छ।’
पर्यटकको राजधानी पोखरा भनिरहँदा यहाँ विदेशी पर्यटकमार्फत हुने अनेकौँ अपराध रोकथामका लागि ट्राभल एजेन्सी, होटल व्यवसायीले उनीहरुको लगत विवरण यथेष्ट लिएर मात्रै सेवा दिनुपर्नेमा महानिर्देशक पौडेलले आग्रह गरे।
विभागले आगामी वर्षभित्र नेपाल भित्रिने तथा बाहिरिने हरेक विदेशी यात्रुहरुको वायोमेट्रिक विवरणसहितको अध्यागमन सूचना प्रणाली सञ्चालनमा ल्याउने उनले जनाए।
‘नेपाल भित्रिने सबै पर्यटकको विवरण अब नेपाली पोर्ट सफ्टवेयर मार्फत विभागमार्फत रुलिङ गर्ने प्रणालीको विकास गर्छौं।’ उनले थपे। सञ्चालनमा ल्याइने प्रणालीले पर्यटकको यथोचित नियमन हुन सक्नेमा विभागको विश्वास छ।
वर्तमान सरकारको आगमनसँगै अध्यागमन विभागमा केही सुधारको संकेत देखिएको गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता रामकृष्ण सुवेदीले दाबी गरे। नेपालको मुहार कस्तो छ भन्ने संकेत अध्यागमन कार्यालयबाट थाहा पाइने हुँदा दिइने सेवा पारदर्शी बनाउन उनको जोड थियो। विदेशी नागरिक अनुमगन निर्देशिका ०७५ कार्यान्वयनमा आइसकेको प्रसंगमा प्रवक्ता सुवेदीले नेपाल भ्रमण वर्ष २०२० मनाउने तयारी गरिरहँदा भित्रिने विदेशी पाहुनाको उचित निगरानी राख्न सबै तहका सरकारको दायित्व भएको बताए।
‘टुरिष्टको रुपमा आउने तर निा इजाजत पेसा व्यवसायमा संलग्न हुने पनि देखिएका छन्,’ उनले भने, ‘त्यस्ता टुरिष्टहरुको सुरक्षा निकाय मार्फत कागजात चेकजाँच गर्ने र कारवाहीका लागि प्रक्रिया अघि बढाउन विभागमा सूचना दिने परिपाटीको विकास जरुरी छ।’
सामाजिक कार्यक्रमको बहानामा राष्ट्रिय सूचना बाहिरीने खतरा बढ्ने भएकोले विदेशीले सञ्चालन गर्ने कार्यक्रम अनिवार्य परराष्ट्र मन्त्रालयबाट स्वीकृत भएको हुनुपर्ने उनले स्पष्ट पारे।
लागूऔषध, चोरी तस्करी, वैदेशिक मुद्राको ओसापसार जस्ता अपराधमा संलग्न पर्यटकलाई कानुनी कारवाहीबाट उम्कन नदिन स्थानीयस्तरबाट नागरिकहरुले सूचना दिएर सहयोग गर्न प्रवक्ता सुवेदीले अनुरोध गरे। पोखराका पर्यटन व्यावसायीहरुले खुला सिमानाका कारण नेपालमा आपराधिक क्रियाकलाप बढिरहेकोले नियन्त्रण गर्न अध्यागमन विभागको संयन्त्र कडा बनाउन सुझाव दिएका थिए।
भारतीय सवारी निर्वाध रुपमा नेपाल प्रवेश गरिरहँदा नेपाली सवारी भने भारत प्रवेशमै समस्या भएकोले पर्यटकीय गतिविधि विस्तारमा समस्या भएका हुँदा नीतिगत निर्णय गरी गाँठो फुकाउन व्यावसायिको आग्रह छ। विना इजाजत लेकसाइड लगायतका क्षेत्रमा व्यापार गर्ने विदेशीलाई कारवाहीको दायरामा ल्याउन व्यावसायीको आग्रह छ।