
धनगढी– चिकित्सकको लापरवाहीले सुत्केरीको मृत्यु भएको भन्दै शुक्रबार विहानैदेखि तनावग्रस्त बनेको धनगढीको सेती अञ्चल अस्पतालको अवस्था सर्वपक्षिय बैठकले छानविन समिति गठन गर्ने निर्णय गरेपछि सामान्य बनेको छ।
दिनभरको छलफलपछि मृतकका परिवार र सरकारी पक्षविच ५ बुँदे सहमती भएको छ। प्रदेशको सामाजिक विकास मन्त्रालयका प्रतिनिधि, सेती अञ्चल अस्पतालका प्रतिनिधि, धनगढी उप–महानगरपालिकाका जनप्रतिनिधि, पीडित पक्षविच भएको छलफलपछि ५ बुँदे सहमति भएको हो।
५ बुँदे सहमति अनुसार मृतक धनगढी उप–महानगरपालिका वडा नम्बर–१२ जुगेडाकी २२ बर्षिया रेखा थापाका छोराको २४ बर्षको उमेरसम्म निशुल्क उपचार हुने र त्यसको जिम्मेवारी सेती अञ्चल अस्पताल र सामाजिक विकास मन्त्रालय लिने सहमतिमा उल्लेख छ।
यस्तै मृतकका छोराको शिक्षको जिम्मा पनि सामाजिक विकास मन्त्रालय मार्फत प्रदान गरिने सहमति भएको छ। उनको छिटो उपचारका लागि विशेष परिचयपत्र पनि बनाउने सहमति भएको छ।
यस्तै मृतकका आफन्तले चिकित्सकको लापरवाहीले सुत्केरीको मुत्यु भएको आरोप लगाएकाले छानविनका लागि समिति गठन गर्ने पनि निर्णय गरिएको छ।
समिति गठनका लागि सामाजिक विकास मन्त्रालयले एक जना स्त्रीरोग विशेषज्ञ डाक्टर स्वास्थ्य तथा जनसङख्या मन्त्रालयबाट माग गर्ने निर्णय भएको छ। नवजात शिशुको पालनपोषणका लागि प्रदेशको सामाजिक विकास मन्त्रलायले प्रदेश मन्त्री परिषद्को बैठकमा प्रस्ताव लैजाने पनि निर्णय भएको छ।
डाक्टरको लापरवाहीले बिहीवार सेती अञ्चल अस्पतालमा सुत्केरी महिलाको ज्यान गएका भन्दै आफन्त तथा गाउँहरुलेहरुले शुक्रबार बिहानै देखि प्रदर्शन गरेका थिए। उनीहरुले लापरवाही गर्ने डाक्टरमाथि कारवाही र बच्चाको जिम्मेवारी लिनुपर्ने माग गर्दै आन्दोलन गरेका थिए।
सामान्य तरिकाले बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गरिएकी धनगढी उपमाहनगरपालिका वडा नम्बर १२ की २२ बर्षिया रेखा थापाको शल्यक्रिया भएको दुई दिन पछि मृत्यु भएपछि आफन्तहरुले अस्पतालमा बिरोध प्रदर्शन गरेका हुन्।
शल्यक्रिया भएको दोस्रो दिन पेट सुन्निन थालेपछि डाक्टरलाई सोध्दा ग्याष्ट्रिक भएको हुनसकछ भन्दै वास्ता नगरेको मृतकका आफन्तहरुले बताएका छन्।
मृतकका श्रीमान् जयबहादुर थापाका अनुसार पेट सुन्निएपछि डाक्टरले जन्डिस भएको भन्दै उपचार गरेको तर पेट सुन्निने समस्या यथावत रहेपछि बिहिवार विहान उपचार सम्भव नभएको भन्दै डाक्टरले अन्यत्र रेफर गरेका थिए।
कोहलपुर लैजाने क्रममा उनको बाटोमै मृत्यु भएको मृतकका श्रीमान जयबहादुरले बताए। मृतक रेखाको शल्यक्रियामा स्त्री तथा प्रसुति रोग बिशेषज्ञ डाक्टर सरिता गुरुङ सहभागी रहेको आफन्तहरुले बताएका छन्।
अस्पतालका स्त्री तथा प्रसुति रोग विभागका प्रमुख डाक्टर खगेन्द्रराज भट्टले भने सामान्य रुपमा बच्चा जन्माउन नसकेपछि शल्यक्रिया गर्नुपरेको र त्यसपछि स्वास्थ्यमा सुधार आएको र एक्कासी बिहिवार स्वास्थ्यमा समस्या आए पछि सेती अस्पतालबाट सम्भव नहुने भन्दै अन्यन्त्र रेफर गरेको बताए। रेफर गरेको केही रेखाको बाटोमै मृत्यु भए पछि आफन्तहरु आक्रोसित बनेका थिए।