
काठमाडौँ – टिनका चारवटा लामा टहरा, टहरातिरबाट आवाज आइरहेको छ–ख्याट, ख्याट । टहराभित्र चियाएर हेरेपछि थाहा हुन्छ आवाज मेसिनहरुको हो ।
मेसिनमा काम गरिरहेका महिलाहरु। उनीहरुका हातखुट्टा मेसिनमा सँगसँगै चलिरहेका थिए। कोही महिला तानमा बुन्दै थिए, कोही धागो काटिरेका । धागोको डल्लो बनाइरहेका पनि थिए । ती सबैको बिचमा एकजना पुरुष यताबाट उता गरिरहेका थिए। उनी हुन् बाजुराका ३६ वर्षीय खड्क सिंह बोगटी।
२ लाख ५० हजारमा बुढानीलकण्ठमा जमिन भाडामा लिएर उद्योग सञ्चालन गरेको ७ वर्ष भयो। विगत सात वर्षदेखि उनी आफ्नो परिवारसँग बुढानीलकण्ठमा बदै आएका छन्। उनको परिवारमा तीन छोराछोरी, श्रीमती र आमा छिन्। तर आमा भने बाजुरामा नै बस्छिन्। उनी आठ कक्षामा हुँदा उनका बुबाको निधन भएको थियो।
बुबाको निधनपछि परिवारको जिम्मेवारी उनको काँधमा आयो। परिवारको जीविका चलाउन अध्ययन रोक्नु प¥यो। उनले पैसा कमाउन सुरुमा तरकारी खेती गरे तर बजारको अभावले राम्रो आम्दानी भएन। ३ वर्षसम्म नेपाली कागज बनाउने काम पनि गरे, त्यसबाट पनि सोचे अनुरुप व्यापार भएन। परिवारको जिम्मेवारी बढ्दै गएपछि रोजगारीको सिलसिलामा भारत जाने निर्णय गरे। भारतमा एक वर्ष काम गरेर १ लाख ५० हजार बचत गरि फर्किए।
भारतबाट कमाएर ल्याएको पैसाले बाजुराको एयरपोर्टमा पसल राखे। उक्त पसलबाट राम्रो आम्दानी भएको थियो। तर अल्लोबाट उत्पादन भएका धागो तथा सामग्रीहरुलाई बजारसम्म पु¥याउने समस्या आयो। त्यसपछि उनले पसलबाट बचत भएको पैसाले धागोलाई गलैँचा कारखानासम्म पु¥याउने काम सुरु गरे। त्यसका साथै उनी आफै पनि अल्लोका सामग्री बनाउन थाले। उनले त्यो काम ४ वर्ष सम्म गरे। तर बजारको अभावका साथै अल्लोका सामग्री सम्बन्धी स्थानीयलाई त्यति राम्रो ज्ञान नभएकाले बाजुरामा राम्रो व्यापार भएन।
काम गर्दै जाँदा उनलाई लाग्यो कतिसम्म धागो मात्र ओसारपसार गर्ने, यो काम आफै पनि गर्न सक्छु। त्यसपछि आफैले कपडा बुन्न थाले। यसका साथै उनी जस्तै अरुलाई पनि साना तथा घरेलु उद्योगले अल्लो सम्बन्धी तालिम पनि दियो। त्यस तालिमबाट उनलाई थप अल्लो सम्बन्धी ज्ञान प्राप्त भयो।
उनले अल्लोबाट ब्याग र गलैँचा बनाउन सुरु पनि गरे तर बिडम्बना बजार र यातायातको समस्या जस्ताको त्यस्तै। जसका कारण उनको यो व्यापार पनि फस्टाउन सकेन। उनले भने ‘बाजुराका मानिसहरु अल्लोबाट बनेका सामग्री मन पराउँदैनन्। कसले किन्छ, यस्ता बोराका जस्ता सामानहरु भन्छन्।’ कहिलेकाहिँ विदेशी पर्यटक आउँदा अल्लोका सामग्री किन्थे तर त्यतिले मात्र राम्रो आम्दानी हुँदैन।
अल्लो सम्बन्धी काम गर्नेहरु मिलेर कोसेली घर नामको समूह बनाएका थिए। उनीहरुले उत्पादन गरेका वस्तुहरु त्यो समुहमा राखिन्थ्यो र पर्यटक वा गाँउ हेर्न आउने ठूलाबडालाई मायाको चिनोको रुपमा दिने चलन थियो। चलनले मात्र यसको महत्व र फइदा थाहा हुँदैन,उनले सोचे राम्रो बजार भएको क्षेत्रमा यसको व्यापार गर्नुपर्छ।
उनले जिल्ला प्रशासनमा गएर कुरा राखेपछि प्रशासनले उनलाई काठमाडौँमा भइरहेको अन्तर्राष्ट्रिय साना तथा घरेलु उद्योग मेलाका लागि सिफारिस गरिदियो। उनी २०५८ सालमा काठमाडौँ आए, आफ्ना हस्तकलाका सामग्री लिएर। उनी उक्त मेलामा सहभागि भए र उत्कृष्ट उद्यमीको सम्मान पनि पाए।
उनी भन्छन् ‘मलाई नगद लिनु हुन्छ कि भन्नु भयो तर मैले होइन म नगत लिँदैन विभिन्न ठाउँमा घुम्छु र घरेलु उद्योग सम्बन्धी अरु देशमा कसरी काम गरिरहेका छन्।’
काठमाडौँमा उनले २०६८ सालमा अल्लोको व्यापार सञ्चालनमा ल्याए। उनलाई काठमाडौँमा व्यापार गर्न त्यति सजिलो थिएन। तीन लाखको लागतमा ३ मसिन र ३ जना कर्मचारीबाट सुरु गरेको उद्योगलाई काठमाडौँ जस्तो शहरमा स्थापित गर्न त्यति सजिलो कहाँ थियो र?
उनले आफ्नो संघर्ष सम्झिए, ‘जसरी एउटा किसानले दिनरात, घामपानी नभनी राम्रो फसल उत्पादन गर्छ त्यसरी नै हामी पनि यस काममा खटेको हौँ। भोकनिन्द्रा केही नभनी बिहान ४ बजेदेखि रातिको १० बजेसम्म काम गर्यौँ। एकातिर छोराछोरीलाई हेर्नुपर्ने अर्को तिर व्यापारलाई अगाडि बढाउने चिन्ता। बजार बजार गएर आफूले उत्पादन गरेका बारेमा जानकारी दिनुपर्थ्यो। तर पनि हाम्रो सामानलाई विश्वास गर्दैनथे।’ उनी आफै बजारमा गएर सामान बेच्न सुरु गरे।
सुरु सुरुमा उनी ठूला उद्यमीसँग सम्पर्क गर्थे। तर उनलाई त्यसबाट कुनै प्रतिक्रया आएन। उनले हार पनि मानेनन्। आफ्नो कामलाई निरन्तरता दिए। विस्तारै उनले साना उधोग र पसलहरुमा आफ्ना सामानहरु बेच्न सुरु गरे। त्यसपछि उनको व्यापार उकालो लाग्न थाल्यो।
सुरुवातमा उनले १४ लाखको कारोबार गरे। कारोबार बढे सँगै १० मेसिन र १० कर्मचारी राखे। उनको व्यापार दिनप्रति दिन राम्रो हुँदै गइरहेको थियो। उनले फेरि १४ जनाकर्मचारी राखे।
उनी यतिमा मात्र रोकिएनन्। उनले अल्लोका ब्याग बनाउन पनि सुरु गरे। अल्लोबाट कपडा, ब्याग, जुत्ता, चप्पल र पर्स उत्पादन गर्न सकिन्छ। तर उनले ब्याग मात्र बनाउन थाले।
ब्यागले राम्रो बजार पाउन थाल्यो। विभिन्न स्कूल, अफिस, सरकारी तथा गैरसरकारी संघ–संस्थाबाट अल्लोका कपडा र ब्यागको माग आउन थाले। व्यापार वृद्धिसँगै आम्दानीमा पनि वृद्धि भयो। उनी सँग अहिले २२ मेसिन छन् ती मेसिनबाट उनले ५० लाखको कारोबार गर्छन्।
नेपालको ३६ जिल्लामा अल्लो पाइन्छ। उनले १८ जिल्लाका महिलाहलाई अल्लो सम्बन्धी तालिम दिएर उनीहरुले उत्पादन गरेका सामग्रीहरु काठमाडौँ ल्याएर बिक्री गर्छन्। यति मात्र होइन लोक्ता कुट्ने मेसिन, फाइबर मेसिन, धागो बान्ने मेसिन र तान बुन्ने मेसिन आफै बनाउँछन्।
वर्तमान समयमा अल्लोबाट बनेका सामग्रीको माग बढेको छ। आन्तरिक र बाह्य पर्यटकहरु हस्तकलाका वस्तु बढि प्रयोग गरिरहेका छन्।
तर वर्षायाममा उनको व्यापार ठप्प हुन्छ। सुरक्षित भवन नहँुदा उनका कपडा र मेसिनहरु खराब हुन्छन्। लाखौँको नोक्सान हुन्छ। उनले धेरैलाई रोजगार दिएका छन्, उनीहरु सबै वर्षाको मारमा पर्छन्।
उनले आफ्नो उद्योगमा २८ जनालाई रोजगार दिएका छन्। जस मध्ये २२ जना त महिला छन्। यसका साथै टिनका १८ टहरा बनाएर १८ परिवारलाई रोजगारसँगै बास पनि दिएका छन्। ती सबै परिवार सुदूरपश्चिमका नै हुन्। ती परिवारका बालबालिकाहरु १६ जना ओम विद्यालयमा पढ्छन्, ७ जना बालबालिका बुढानीलकण्ठ विद्यालयमा र ३ जना बालविकासमा पढ्छन्।
त्यस्तै बाजुरामा एसएलसी दिएर बसेका ७ जना युवतीलाई रोजगारका साथै पढाइदिन्छु भनेर बोलाए। उनीहरुलाई तालिम दिएर रोजगारी पनि दिए र क्याम्पसमा भर्ना समेत गरे। ती मध्येकी एक हुन् देउकी रोकाया। उनी अहिले १२ मा अध्ययनरत छिन्। उनले यसरी काम गर्न लागेको २ वर्ष भयो। भन्छिन् ‘हामीलाई एकदमै राम्रो भएको छ। गाँउमा उच्च शिक्षा लिन सकिन्थेन। तर यहाँ आफ्नो पढाइ खर्च र आफ्नो खर्च चलेको छ।’
उनी जस्तै काम गर्ने बाजुराकी हुन् गोकुला साउद। उनले काम गर्न लागेको ४ वर्ष भयो। विगत ४ वर्षदेखि उनी र उनका छोराछोरी त्यही काम गर्दै आएका छन्, उनको श्रीमानको निधन भैसक्यो। उनी भन्छिन् ‘हामी खुशी छौँ। हामीलाई राम्रो ठाँउमा ल्याएर केही गर, आफ्ना छोराछोरीको जीवन सुधार भनेर रोजगार दिनुभयो। हामी जस्ता अशिक्षित र एकल महिलाले पनि काम गरेर आफ्ना सन्तानलाई राम्रो शिक्षा दिन सक्ने बनेका छौँ।’
काठमाडौँमा व्यापार व्यवस्थित भएपछि उनाई बाजुरामा नै यस्ता उद्योगहरु सञ्चालन गर्ने उनको योजना छ।
हस्तकलाका सामग्रीहरु विदेशी पर्यटक मात्र होइन। स्वदेशी पर्यटक र स्थानीय बासिन्दाहरुले पनि किन्छन्। विशेषगरि शहर क्षेत्रमा मानिसहरुले हस्तकलाका सामग्री मन पराउँछन्।
प्लाष्टिकका सामग्री अत्याधिक मात्रमा प्रयोग भैरहेको सन्दर्भमा विश्वका १३० देशले सन् २०३० सम्ममा प्लाष्टिक र प्लाष्टिकजन्य सामग्रीको प्रयोग घटाउने प्रतिबद्धता जनाएका छन्।
यस अभियानमा खड्ग सिंह बोगटीले सञ्चालन गरेका अल्लोका उद्योगले ठूलो सहयोग गर्ने देखिन्छ।