
नेपालगञ्ज – विश्व क्षयरोग दिवसका अवसरमा बाँकेमा क्षयरोगीलाई फलफूल वितरण गरिएको छ । नेपालगञ्ज–४ मा रहेको टिबी नेपालको अस्पतालमा रहेका बिरामीलाई बेडमै पुगेर फलफूल वितरण गरिएको हो । स्वास्थ्य कार्यालयको आयोजनामा बिरामीलाई फलफूल वितरण गरिएको थियो ।
बाँकेमा ९ सय ४३ जना बिरामीले औषधी खाइरहेका छन् । आर्थिक वर्ष २०७४/७५ को अभिलेख अनुसार, नयाँ खकार पोजिटिभ ४ सय ५१, खकार नेगेटिभ पुरुष ३ सय ४८ र अन्य १ सय ४४ गरी ९ सय ४३ जना बिरामीले औषधी खाइरहेका छन् ।
जिल्लामा बहुऔषधी प्रतिरोध विरामी ७० जना रहेका छन् । जिल्लामा ६० वटा डट्स सेन्टर, १५ वटा प्रयोगशाला र दुई स्थानमा जिनस्पोट सञ्चालनमा रहेको छ । टिबी नेपाल बाँकेमा बहुऔषधी प्रतिरोध उपचार केन्द्र सञ्चालनमा रहेको छ ।
जिल्ला समन्वय समितिका सदस्य चेतबहादुर घर्ति, स्वास्थ्य कार्यालयका अधिकृत रामबहादुर चन्दलगायतले क्षयरोगीलाई फलफूल वितरण गरेका थिए ।
‘समय अबको: क्षयरोग अन्त्यको’ भन्ने मूल नाराका साथ विश्व क्षयरोग दिवस मनाइएको छ । आइतबार नै क्षयरोगसम्बन्धी अभिमुखीकरण र साँझ दीप प्रज्वलन कार्यक्रम राखिएको छ ।
सरकारले सन् २०१६ देखि २०२१ सम्ममा नयाँ केस पत्ता लगाउने र उपचार गर्ने रणनीति बनाएको छ । नेपालबाट सन् २०५० मा क्षयरोग निवारण गर्ने तयारी रहेको छ । सरकारले क्षयरोगको उपचार पूर्णरुपमा निशुल्क गरेको छ ।
अझै करिव २२ प्रतिशत बिरामी निशुल्क उपचारको पहुँचमा पुगेका छैनन् । विश्व स्वास्थ्य संगठनका अनुसार, नेपालमा प्रतिवर्ष ४५ हजार नयाँ क्षयरोगका बिरामी थपिने गर्दछन् । पुरानो र नयाँ गरेर ६० हजार क्षयरोगी निजी क्षेत्रबाट उपचार लिएको आशंका गरिएको छ । करिव १३ हजार नयाँ बिरामी सरकारको तथ्यांकमा छैन । स्वास्थ्य अधिकृत रामबहादुर चन्दले सम्पर्कमा नआएका बिरामीलाई उपचार पद्धतिमा ल्याउने अहिलेको चुनौती रहेको बताए ।
नियमित औषधी खाँदा क्षयरोग निको हुन्छ । नयाँ ९१ र पुरानोमा ८९ प्रतिशत निको हुने दर रहेको छ । क्षयरोग नियन्त्रणका लागि नेपालमा ४ हजार ३ सय २३ वटा डट्स उपचार केन्द्र, ६ सय ४ वटा प्रयोगशाला, ५६ वटा जीवन एक्सपर्ट केन्द्र र २ वटा राष्ट्रिय परीक्षण प्रयोगशाला क्रियाशील रहेका छन् । बहु औषधी प्रतिरोधी क्षयरोगका लागि २१ वटा उपचार केन्द्र र ८१ वटा उपकेन्द्र रहेका छन् ।