पोखरा – झण्डै २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम अहिलेकै गतिमा भइरहे सम्झौता समय अगावै निर्माण सम्पन्न हुने विश्वास लिइएको छ ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालेको १४ महिनामा ३० प्रतिशत काम सक्नुले सोको विश्वासको आधार तय भएको आयोजना प्रमुख विनेश मनकर्मी बताउँछन् ।

dav
‘सम्झौता समय अगावै निर्माण सम्पन्न गर्नेगरी काम गरिरहेका छौं,’ उनले भने, ‘रन वे निर्माणको काम यहीँ चैत्र महिनाभित्रै सक्ने लक्ष्य छ । टर्मिनल भवन निर्माणको काम समेत उस्तै गतिमा अघि बढाइरहेका छौं ।’
हाल विमानस्थलमा २ हजार ५ मिटर लम्बाईको रन वे निर्माण झण्डैं ७० प्रतिशत पूरा भएको उनले जनाए । काममा व्यबधान नआए चैत्र महिना भित्रमा रन वे ढलानको काम सम्पन्न हुने आयोजना प्रमुख मुनंकर्मीले भनाई छ ।
विमानस्थलमा बन्ने १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन निर्माण जारी छ । अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि ८ हजार र डोमेस्टिक उडान प्रयोजनको लागि ६ हजार स्क्वायर गरी वार्षिक ५ लाख यात्रु क्षमता सहित टर्मिनल भवन निर्माण भइरहेको आयोजना पक्षले जानकारी दिएको छ ।
केही क्षेत्रमा कडा चट्टान फेला परेकोले बिस्फोटक पदार्थ प्रयोग गरी ब्लास्टिङका लागि प्रक्रिया अघि बढाइसकिएको आयोजना प्रमुख मुनंकर्मीले बताए ।
साथै, एप्रोन, ट्याक्सी पार्किङ, ड्रेन, ह्याङगर निर्माण, जमिन पाट्ने सहितका कामहरु समेत धमाधम भइरहेका छन्। विमानस्थल निर्माणका आधार तयार गर्ने महत्वपूर्ण कामहरु बितेको १४ महिनामा सम्पन्न गरिसकिएको आयोजना प्रमुख मुनंकर्मीले जानकारी दिए ।
सरकारले विमानस्थल निर्माणका लागि सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सिएएमसिइलाई ठेक्का दिएको थियो ।
बन्ने विमानस्थल अन्तर्राष्ट्रिय उड्यन संस्था (आइकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण हुने जनाइएको छ । विमानस्थल सञ्चालनमा आएसँगै बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजले उडान भर्नेछन् ।

dav
चिनियाँ ठेकेदार कम्पनी सिएमसिईसँग नेपाल सरकारले गरेको सम्झौता अनुसार सन् २०२१ जुलाई १० मा सम्पन्न गरी विमानस्थल हस्तान्तरण हुनेछ । सन् २०१७ को नोभेम्बरदेखि विमानस्थलको निर्माण सुरु गरिएको हो ।