
आइफोन निर्माता अमेरिकी कम्पनी एप्पलले महत्वकांक्षी उत्पादन सम्बन्धी परियोजना बन्द गर्ने भएको छ अर्थात त्यसको प्रयोग गरिने छैन । एप्पलले वायरलेस चार्जर एयरपावरले राम्रोसँग काम नगरेकाले बन्द गर्ने निर्णय गरेको हो ।
सन् २०१७ मा तार बिना नै एकपटक एकभन्दा बढि डिभाइस चार्ज गर्न मिल्ने एयरपावर एप्पलले घोषणा गरेको थियो । तर एयरपावर चाँडै निकै तातो हुने समस्या देखियो ।
एप्पलका इन्जिनियरले यो समस्याको समाधान गर्न सकेनन् र अहिले एयरपावरको उत्पादन तथा प्रयोग नै बन्द गर्ने निर्णयमा कम्पनी पुगेको हो ।
एप्पलले भनेको छ, ‘सक्दो प्रयासपछि पनि एयरपावरले हाम्रो स्तर हाँसिल गर्न सक्ने देखिएन र हामीले यसलाई बन्द गर्ने निर्णय गरेका छौँ ।’ कम्पनीले यसबारे थप केही बताएको छैन ।
सन् २०१७ को सेप्टेम्बरमा एप्पलले यसको घोषणा गरेदेखि नै समस्या देखिएको आशंका गरिएको थियो । सन् २०१८ मा सार्वजनिक गर्ने भनिएको एयरपावर सार्वजनिक भएन । एप्पलले विश्वस्तरीय वायरलेस चार्जिङ्ग सोलुसन भनेको एयरपावर जस्तो महत्वकांक्षी परियोजना बन्द गर्ने निर्णयमा कम्पनी पुगेको हो ।