
काठमाडौँ – बारा र पर्साका विभिन्न ठाउँमा आइतबार बेलुका आएको हावाहुरीका कारण कम्तिमा २७ जनाको ज्यान गएको पुष्टि भएको छ । आइतबार बेलुका ८ बजेतिर अकश्मात ठूलो हावाहुरी चल्दा बारामा ठूलो जनधनको क्षति भएको हो ।
बारामा अहिलेसम्म कम्तिमा २६ जनाको ज्यान गएको पुष्टि भएको जिल्लाका डिएसपी हेमबहादुर शाहीले देश सञ्चारलाई जानकारी दिएका छन् ।
उनले भने, ‘अहिलेसम्म जिल्लामा १५ जना महिला र ११ जना पुरुष गरि कम्तिमा २६ जनाको ज्यान गएको पुष्टि भएको छ । अहिले पनि उद्धारको काम जारी छ ।’

हावाहुरीले भत्काएको विद्युतको पोल। विद्युत अवरुद्ध भएपछि यहाँका गाउघर अन्कारमय भएको छ। तस्बिर-राममण्डल/देश सञ्चार
उनले अघि भने, ‘हामीले रातभरि नै उद्धारको काम जारी राखेका हौँ । अहिले हुरीबतास चलेको छैन । तर बेलुकाको हावाहुरीमा भत्किएका घर तथा त्यसमा प्रभावित भएकाको उद्धारको काम भने चलिनै रहेको छ । चार सयजना भन्दा बढि घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ ।’
अहिलेसम्म भौतिक क्षतिका आंकलन नै नगरिएको उनले बताए ।

आइतबार साँझ आएको हावाहुरीले घर भत्काएपछि ट्याक्टरमा चढेर सुरक्षित स्थानतर्फ जाँदै स्थानीयहरु । हावाहुरीले कम्तिमा २४ जनाको ज्यान लिएको छ भने सयौ स्थानीय घाइते भएका छन्। तस्बिर-राम मण्डल/देश सञ्चार
यस्तै पर्सामा एकजनाको ज्यान गएको त्यहाँका एसपीले जानकारी दिएका छन् । जिल्लाका एसपी रेवती ढकालले अहिलेसम्मको जानकारी अनुसार पर्सामा एकजनाको ज्यान गएको पुष्टि भएको हो ।
घाइतेहरुको नारायणी उपक्षेत्रीय अस्पताल, गण्डक अस्पताल, विरगञ्ज हेल्थ केयर, नेशनल मेडिकल कलेजमा उपचार भइहरेको छ ।