
पोखरा – बगरमा रहेका दुई मेडिकलले म्याद गुज्रेका औषधि बिक्री गरेको पाइएको छ । पिएन क्याम्पसको माथिल्लो गेट नजिकै रहेको आचार्य मेडिकल र बगर ट्याक्सी चोकमा रहेको एरिया मेडिकलले म्याद नाघिसकेको औषधि बिक्री गरेको उपभोक्ताले गुनासो गरेका हुन् ।
४ वर्षदेखि सुगर रोग पीडित पोखरा १ बगर निवासी कमल थापाले नियमित औषधि सेवन गर्ने क्रममा केही दिन अघि मात्रै दुवै मेडिकलले आफूलाई म्याद नाघेको औषधि बिक्री गर्ने गरेको पत्तो पाएको बताए ।
‘एरिया मेडिकलबाट मेटाफोरमिन ५ सय एमजीको औषधि दुई पत्ता एक महिनाअघि किनेर नियमित खाइरहेको थिए’, उनले भने, ‘चैत १६ गते शनिबार एरिया मेडिकल बन्द रहेछ र बगरमा रहेको आचार्य मेडिकलबाट एक ग्लायकोमेट ५ सय एमजीको औषधि किनेको थिए ।’
एरिया मेडिकलबाट किनेको २ पत्ता औषधिका ३० ट्याब्लेट एक महिनामा सबै खाइसकेको थापाले जानकारी दिए । मेडिकलले सो औषधी एक महिना अघि थापालाई बिक्री गरेको थियो । जसको म्याद सन् २०१८ अगस्टमा सकिसकेको छ ।
आचार्य मेडिकलबाट किनेको ग्लायकोमेट ५ सय एमजी एक पत्ता औषधिबाट एक ट्याबलेट मात्रै खाएको उनले बताए । सो औषधिको म्याद ३ महिना अगावै गुज्रिसकेको छ ।
म्याद गुज्रेको औषधि फिर्ता गर्न सोमबार आचार्य मेडिकलमा पुगेका थापालाई मेडिकल सञ्चालक तोयानाथ आचार्यकी पत्नीले उल्टो उपभोक्ता दोषी भएको बताइन् । ‘औषधि हेरेर लैजानुपर्छ भन्ने कुरा उपभोक्ताले नि जान्नुपर्ने हो’, उनले भनिन् ।
सञ्चालक तोयानाथ आफू मेडिकलमा बसिरहन नपाउने हुँदा परिवारका सदस्यले पसलबाट औषधि बिक्री गर्ने गरेको बताए । मेडिकलले म्याद गुज्रेको औषधि फिर्ता लिई पैसा फिर्ता गरेको छ ।
एरिया मेडिकलका सञ्चालक ईश्वर काफ्लेले आफूले म्याद गुज्रेको औषधि बिक्री नगरेको दाबी गरे । ‘औषधि कहिले किनेको हो थाहा भएन’, उनले भने, ‘त्यस्ता औषधि हामीले राख्दैनौँ ।’
औषधि खरिदको बिल नदिएको भएपनि एक महिना अघि सोही मेडिकलबाट आफूले सो औषधि लगेको उपभोक्ता कमलले दाबी गरे । म्याद कायम भएको उक्त औषधि पुनः सोमबार खरिद गरेका कमललाई मेडिकलले बिल दिन तयार भएन ।
यस्ता प्रतिनिधि घटनाले हरेक हप्ता जिल्ला प्रशासन कार्यालयको अनुगमन संयन्त्रले गर्ने निरीक्षण माथि नै प्रश्न उठेको छ ।
उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले मेडिकलले म्याद गुज्रेको औषधि बिक्री गरेको पाइएमा उपभोक्ता हित संरक्षण ऐन अनुसार स्रीघ कारवाहीको लागि पहल थालिने बताए ।
म्याद नाघेको औषधि घातकः चिकित्सक
सुगर कन्ट्रोल गर्न खाने औषधीको म्याद गुज्रेको छ भने त्यसले कुनै असर नै नगर्ने हुँदा समस्या नियन्त्रणको साटो झन् बढिरहन सक्ने चिकित्सक बताउँछन् ।
‘जुन समस्या नियन्त्रणको लागि भनेर औषधि खाएको छ त्यसको म्याद नाघिसकेको छ भने त औषधिले असर नगरी झन् रगतमा ग्लुकोजको मात्रा बढिरहेको हुनसक्छ’, मणिपाल शिक्षण अस्पतालका एक प्राध्यापक चिकित्सकले भने, ‘मानसिक रुपमा औषधि खाइरहेको छु भन्ने तर त्यसको असर शरीरमा नपर्दा रोग झनै बल्झिरहेको हुनसक्छ ।’
औषधि रसायनिक पदार्थ भएकोले निश्चित म्याद सकिएपछि औषधिको रसायनमा परिवर्तन भई विषालु पदार्थको रुप लिनसक्ने हुँदा त्यस्ता औषधि सेवन आफैमा घातक भएको उनको भनाई छ ।
भुलवंश म्याद गुज्रेको औषधि सेवन गरेका रोगीहरुले तत्कालै चिकित्ससँग भेट गराई उचित परामर्श लिन उनले सुझाए ।