
पोखरा- नागढुंगाबाट ठाडै पृथ्वीचोकतर्फ ट्याक्सी हुइकाउँदै उकालो लागेका बिर्खबहादुर गुरुङलाई एक व्यक्तिले इसारा गरे।
इसारा दिने व्यक्ति सामुन्ने ट्याक्सी रोकेर सोधें ‘कहाँ जाने ?’
गुरुङले जवाफ पाएँ ‘पृथ्वीचोक ट्राफिक गोलघर अघि’ ती व्यक्तिले सोधें भाडा कति ? उनले भने ‘जम्मा सय रुपैयाँ’। यात्रु बोकेर ट्याक्सी पृथ्वीचोकतर्फ कुद्यो।५ मिनेट अन्तरमै गोलघर अगाडि पुगेर टक्क अडियो।
यात्रु बनेर सादा पोशाकमा खटिएका प्रहरीले उनलाई कारवाहीको फन्दामा पारे। मिटरमा नगुडि सीधैं भाडा मागेको आरोप लगाए र ओर्लदै भने, ‘यहाँबाट कतै नजानु तपाई कारवाहीमा पर्नु भएको छ।’
मिटरमा नचलेको आरोपमा ट्याक्सी चालक गुरुङ कारवाही स्वरुप ट्राफिक गोलघर पुग्दा उनीसहित थुप्रै ट्याक्सी जम्मा भइसकेका थिए। अधिकांश ट्याक्सी मिटरमा गुड्न नमान्ने गुनासो आएपछि मंगलबारदेखि ट्राफिकले कारबाही स्वरुप अप्रेशन नै चलाएको छ।
प्रहरीको सहयोगमा ट्राफिकले चलाएको अप्रेशनमा पोखराका विभिन्न स्थानबाट ३१ वटा ट्याक्सी नियन्त्रणमा लिइएको जिल्ला ट्राफिक इन्स्पेक्टर मुरारी मिश्रले जानकारी दिए।
‘दिउँसोबाट नै प्रहरी परिचालन गरी मिटरमा नचल्ने ट्याक्सीलाई कारवाही तीव्र बनाएको छौं,’ उनले भने, ‘नियन्त्रणमा लिइएको ट्याक्सीलाई कस्तो प्रकृतिको कारवाही गर्ने टुंगो लागेको छैन्, बैठकबाट आवश्यक निर्णय लिन्छौं।’
यसअघि मिटरमा जान नमान्ने ट्याक्सीलाई कारवाहीका लागि जिल्ला प्रहरीले यातायात व्यवस्था कार्यालय गण्डकीलाई सिफारिस गरेको थियो।
हालसम्म पोखरामा २ सय बढी ट्याक्सी कारवाहीमा परेको तथ्यांक प्रहरीमा छ। कारवाही सिफारिसमा परेका ट्याक्सीलाई यातायातले ५ हजार जरिवाना तिराउँदै आएको थियो।
ट्याक्सीको मनोमानी ठगि रोक्न २०७३ पुसदेखि अनिवार्य ट्याक्सीमा मिटर जडान गर्ने प्रावधान लागू भएको हो। तर सो अनुरुप ट्याक्सीले नियम कार्यान्वयन नगर्दै आफूखुसी भाडा लिने गरेको गुनासो व्यापक सुनिएपछि कडा कारवाहीको प्रक्रिया थालिने भएको ट्राफिकले जनाएको छ।
सरकारी ऐन मै जरिवाना रकम न्यून भएकाले ट्याक्सी कारवाही परे पनि जरिवाना तिर्दै पुनः मनोमानी भाडा असुल्ने गरेको पाइएको ट्राफिक प्रहरीको भनाई छ।
कति छ भाडादर ?
यातायात व्यवस्था विभागको ०७५ असोज ७ गतेको परिपत्र अनुसार मिटर जडान ट्याक्सीको भाडा समायोजन दर सार्वजनिक गरेको छ।जसमा ट्याक्सी उपभोग गर्ने बित्तिकै १४ रुपैयाँबाट भाडादर सुरु हुनेछ।
त्यसमा प्रति २ सय मिटरमा ७ रुपैयाँ ८० पैसाको दरले रकम बढ्दै जानेछ।कुल एक किलोमिटर यात्रा गर्ने यात्रुले ३९ रुपैयाँमा (फल्याक डाउन) मिटर चढेको १४ रुपैयाँ गरी ५३ रुपैयाँ तिर्नुपर्ने हुन्छ।
सोभन्दा बढी यात्रा गर्ने यात्रुबाट प्रति किलोमिटरको ३९ रुपैयाँका दरले जोडेर ट्याक्सीले लिन पाउने नियम छ।