
पोखरा – लेखनाथ भण्डारढिकस्थित राधेराधे डाँडामा १६ करोड बढी लगानीमा ‘सेभेन लेक्स रिसोर्ट’ सञ्चालनमा आएको छ। पोखरेली व्यावसायि बिनोद गुरुङले ३ वर्ष अघिदेखि निर्माण थालेको रिसोर्ट शुक्रबारदेखि सञ्चालनमा ल्याइएको हो।
गण्डकी प्रदेश उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री विकास लम्सालले रिसोर्ट सञ्चालनमा आउनुले पर्यटन सेवा विस्तारमा एउटा इट्टा थपिएको बताए। ‘प्रदेशलाई समृद्धितर्फ उन्मुख गराउने एक सूचक पर्यटन पनि हो,’ उनले भने, ‘समग्र गण्डकी प्रदेशलाई पर्यटकीय गतिविधिमा केन्द्रीत गर्न प्रदेश सरकारको ध्यान गइरहेका बेला रिसोर्ट सञ्चालन हुनु सुखद् पक्ष हो।’
लगानीको उचित वातावरण तयार भएको प्रशस्त आधार यस्ता किसिमका लक्जरी रिसोर्ट सञ्चालनले प्रष्ट पारेको उनले बताए। ‘कुनैपनि किसिमको द्विविधा छैन । पर्यटनमा लगानी गर्ने लगानीकर्ताले निश्चिन्त भएर डाँडाकाँडामा लगानी गर्नुभए हुन्छ,’ उनले आह्वान गर्दै भने । स्थायीत्व र समृद्धि लक्ष्य राखेको सरकारले निजी क्षेत्रबाट आउने लगानीलाई स्वागत योग्य नीति बनाएको बताए।
विदेशका अनेकौं मुलुकको भ्रमणले आफ्नै ठाउँमा रिसोर्टको कल्पना त्यसबेला गरेको रिसोर्टका फाउन्डर चियर मेन बिनोद गुरुङले सुनाए । ‘३ वर्ष अघि मर्निङ वाक्मा आउँदा यहाँबाट देखिएको दृश्यले म लोभिएको थिएँ’, उनले भने, ‘पर्यटन क्षेत्रमा रुचि राखेर झाडी पाखोमा रिसोर्टको कल्पना गरेको थिएँ।’
४२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टमा फेमिली डिलक्स, डबल डिलक्स, सुपर डिलक्स गरी १९ सुविधासम्पन्न कोठा छन् । मिनिबार, बाथ टप, निशुल्क वाइफाइ, फोन सुविधा र बेडरुमबाटै हिमश्रृखंला नियाल्न सकिने व्यवस्थापन भएको रिसोर्टका फाउन्डर बिनोद गुरुङले जानकारी दिए ।
रेष्टुरेन्ट एण्ड बार, आउटडोर रेष्टुरेन्ट, बिबिक्यू, स्विमिङ पुल, ट्राभल्स सुविधा रिसोर्टमा पाइने सुविधा हुन् । समथर जमिनको सतहबाट ४ सय मिटर उचाईमा अवस्थित रिसोर्टबाट बेगनास, दिपाङ र मैदी ताल सहजै अवलोकन गर्न सकिन्छ ।
कार्यक्रम तथा सेमिनारका लागि एसी जडित सय जना क्षमताको सेमिनार हलको समेत व्यवस्था भएको रिसोर्टका व्यवस्थापक बिनोद पौडेलले जानकारी दिए । हाल प्रत्यक्ष ३० जनाले रोजगारी पाइरहेको रिसोर्टमा आगामी दिनमा ५० जनासम्मलाई रोजगारी सिर्जना हुने पौडेलले जनाए ।