
पोखरा – प्रायः पुरुषको वर्चश्व रहने जिम हाउसमा दीवा रानामगर आफूलाई फिट बनाउन लागिरहँदा समयको रफ्तारले उनलाई कास्कीमै पहिलो बडी बिल्डरको रुपमा चिनायो ।
२०७४ भदौमा रानीपौवा स्पोर्टस सेन्टरले पोखरामा पहिलो पटक पावर लिफ्टिङ्ग च्याम्पियनसिप आयोजना ग¥यो । त्यसमा सहभागी भइन् दीवा ।
कूल ८ प्रतिस्पर्धीमा उनले सबैलाई पछि पारिन् र च्याम्पियन बनिन् ।
१५ वर्षे छोराकी ३२ वर्षीया आमा दीवा च्याम्पियन बनेपछि उनको दिनचर्याको अहम हिस्सा बिरौटास्थित बुल्स जिम एण्ड फिजिकल फिटनेस क्लबमा निरन्तर बनिरह्यो ।
च्याम्पियनसिपमा सहभागी हुँदा पहिलो भएकी दीवाले ‘स्कट लिफ्टिङ’ १०० केजीमा प्रथम स्थान, ‘डेड लिफ्टिङ’ ११० केजीमा द्वितीय स्थान, र ‘बेस्ट प्लेयर्स’ को उपाधिसमेत हात पारिन् ।
आयोजकको भनाई अनुसार उनले उचालेको तौलले नेपाललाई अन्तर्राष्ट्रिय स्पर्धामा पनि लक्ष्यको नजिक पुर्याउन सक्छ ।
बिहानै ७ बजे उठेर नजिकको जिममा १० बजेसम्म एक्सरसाइज गर्दा उनको शरीरले जति क्यालोरी घटाउँछ त्यति नै उर्जा थप्न ‘ब्यालेन्स डाइट’ मिलाउनु अर्काे रुटिन बन्छ ।
‘च्याम्पियनसिप जितेपछि अब आगामी दिनको लागि थप मेहेनत गर्नु र उपाधितर्फ उन्मुख हुनु स्वभाविक हो’ उनी भन्छिन् ।
उनको शरीर र एक्सरसाइज हेर्दा उनमा त्यो केही गरेरै छाड्ने चाह देखिन्छ । अझ महत्वपूर्ण कुरा त उनमा रहेको विश्वास हो ।
‘टर्नआउट’ मा तौल
पोखरामा भाडाको घरमा जीन्दगी ।
स्कूल जाने छोरा ।
परदेशिएका श्रीमान लगायतको झमेलाबिच उनको मोटो शरीरले दिनचर्या केही असहज बनाइरहेको थियो।
९१ किलोको तौलले जीवनका सबै तारतम्य मिलाउन बोझ भइरहेको बेलासँगै बस्ने दिदीकी छोरी सुष्माले फिटनेश क्लब जाने सल्लाह दिएपछि दुवै त्यतै लागे ।
क्लबमा जुम्बा र एरोबिकले ज्यान केही त घट्यो तर मसल झोल्लिँदै गएको अनुभव भएपछि दीवा लागिन् फलामको डम्बेल उचाल्न जिम हाउसतर्फ ।
बिरौटाको बुल्स जिममा एक वर्ष कडा मेहेनत गरेपछि उनको शरीर घटेर ७३ किलोमा झर्यो, मसल टाइट भयो ।
झट्ट हेर्दा फाइटर वुमनको रुप देखियो उनको शरीरमा ।
यसैबिच, रानीपौवाको स्पोर्टस सेन्टरले वेटलिफ्टिङ्ग च्याम्पियनसिप आयोजना गर्यो । अन्तरक्लब विधा अन्तर्गत आयोजना गरिएको प्रतिस्पर्धामा सहभागिताका लागि बुल्समा चिट्ठी आएपछि दीवालाई भाग लिन हौस्याइयो ।
साथीहरु र जिम गुरु उत्तममान उदासको आग्रहमा ‘लौ न त’ भन्दै दीवाले फर्म बुझाइन् । अन्ततः परिणाम उनकै पोल्टामा आयो । र, भइन् ‘पावर वुमन’ ।
बडी बिल्डिङ्ग आफैमा शरीर प्रदर्शनको कला हो । उचाई र शारीरिक बनोटबिचको आकर्षक तालमेल पनि ।
दीवालाई कसैको शैली पछ्याउनु छैन । म कसैलाई पछ्याउन चाहन्न, उनी भन्छिन, ‘बरू, अरूले नै मेरो सिको गरुन् ।’
खान्कीः उमालेको सागपात र मासु
जिमर हुन र त्यसलाई गन्तव्यमा पुर्याउन उचित खानपानमा ध्यान दिनु पर्ने दीवाको अनुभव छ ।
आफूले चाहेको खाने वा आफ्नो डाइट आफैले तय गर्ने नभई प्रशिक्षकको निर्देशनलाई अनुशरण गर्नुपर्ने उनी बताउँछिन् ।
उचित आहारविहार नभएको भए उनको शरीर जिमले अझ भीमकाय बनाउने थियो ।
प्रशिक्षक उदासले दीवालाई ब्यालेन्स डाइटबारे जानकारी दिँदै कडा निगरानीमा राखे । दीवालाई थाहा थियो, खानपान नमिल्दा मसल्सको साटो भुँडी मात्र बढ्छ ।
बडी बिल्डिङ्ग कठोर अनुशासनको प्रतिफल हो । यसमा तौलेर, नापेर मात्र खानुपर्छ । स्वादे जिब्रोलाई पूरै नियन्त्रणमा लिइन् । विवाह–पार्टीतिर सहभागी हुँदा स्वनियन्त्रण गरिन् ।
प्रायः उमालेको सागपात र मासु हुन्छ उनको खुराक । कार्बोहाइड्रेड कम, प्रोटिन ज्यादा ।
खान्की मिलाउन नसके नतिजा राम्रो आउँदैन । बाहिरको खानेकुरा खानै नहुने गुरुको मार्गदर्शन छ ।
उनी भन्छिन्, ‘हप्ताको एकपटक मम, चाउमिन, पिज्जाको स्वाद पनि लिन्छु, तर नियमित गरे नतिजा उल्टो निस्कन्छ ।’
उनको मेनु अजबको छ । दिनहुँ कम्तिमा पाँच सय ग्राम कुखुराको मासु, १० वटा अन्डा, स्याउ, केरा लगायतका फलफुल, काजु, बदाम, पेस्ता, ओटमिल, दूधलगायत ।
खाने तालिका दुई–दुई घन्टाको फरकमा दैनिक ६ पटक ।
सप्लिमेन्ट प्रोटिन अतिरिक्त डाइट हो ।
दीवाको एकदिने बजेट नै अहिले १ हजार ५ सय रुपैयाँको हाराहारी छ ।
‘इच्छा भएर मात्र बडी बिल्डर बन्न सकिँदैन’ उनी सुनाउँछिन्, ‘यसका लागि पैसा पारिवारिक सहयोग र समर्थन पनि चाहिन्छ ।’
पारिवारिक सहयोग
नेपाली समाजमा केही अवपादलाई छाडेर महिलाले एक्लैले सफलता हाँसिल गरेको कथा विरलै सुन्न पाइन्छ । यहि पंक्तिमा पर्छ दीवाको सफलता ।
आफ्नो कमाई नभएका महिलालाई कुनै पनि क्षेत्रमा अघि बढ्न फलामको चिउरा चपाउनु सरह हो । तर, यस मामलामा दीवालाई भाग्यमानी मान्नु पर्छ ।
विदेशमा रहेका श्रीमान विनोदले दीवाको इच्छालाई आफ्नै खुशी ठानिदिएपछि उनको पैताला एरोबिक हुँदै जिम क्लबसम्म पुग्यो ।
जिम जानु, २–३ घण्टा पसिना बगाउनुमात्र हैन खानपानका लागि रकम समेत चाहिन्छ । जसलाई सहजै स्वीकारिदिए पति विनोदले ।
विवाहित महिला साथमा छोराको हेरविचार यावत कामलाई व्यवस्थापन गर्दै आफ्नो अस्वभाविक तौललाई नियन्त्रण गर्न सुष्माले दिएको सल्लाह आफैमा विशेष छ ।
अझ, सुष्माको सल्लाह नै पहिलो मार्गदर्शन बन्यो । सुष्माले समेत कलेजपछिको समयसँगै जिम हाउस जाने योजना बनाएपछि उनको जिम सपना पूरा भएको हो ।
कोरियामा रहेका पतिको साथ र सहयोगले उपाधि जितेपछि त्यहाँबाट विनोदले फोनमा दिएको बधाई दीवाका लागि झनै प्रेरणादायी भएको छ ।
स्याङजा पुतलीबजारको ठूलाडिही स्थायी घर भएकी दीवाले कुराकानीकाक्रममा सासु, ससुरालाई पनि त्यत्तिकै सम्झिइन् ।
‘हुन त म बुहारी हुँ, बच्चा पढाउन पोखरा आएँ । तर उहाँहरुले दिएको माया ममताले मेरो सफलतामा त्यत्तिकै महत्व राख्छ’ उनी भन्छिन्, ‘आवश्यक परेको बेला खर्चसँगै घरका खाने कुरा बोकेर पोखरा आइहाल्ने उहाँहरुको स्नेहले मलाई उत्साहित बनाउँछ ।’
सेवा निवृत्त भारतीय आर्मी ससुरा र कुशल गृहणी सासुलाई सम्झँदै दीवाले सुनाइन्, ‘सबैलाई यस्तै सासु–ससुरा परिदिए हुन्थ्यो ।’
‘तन्दुरुस्ती चाहन्थेँ’
जिम जानै पर्छ, शरीर बनाउ नै पर्छ भन्ने मान्यतासँग सहमति जनाउँदिनन् दीवा ।
‘मलाई जानै पर्ने बाध्यताजस्तै थियो’ उनी भन्छिन्, ‘म तन्दुरुस्ती चाहन्थेँ, उपाधि मेरो लक्ष्य थिएन ।’
तर शारीरिक चुस्तता भने हुनै पर्ने उनको भनाई छ । ‘शारीरिक कसरतले शरीर मात्र हैन दिमाग पनि बलियो बनाउँछ । मानसिकरुपमा स्वस्थ हुन पनि जिमले सघाउँछ ।’
उनी थप्छिन्, ‘जस्तोसुकै भए पनि दैनिकरुपमा केही न केही कसरत गर्नुहोस् जसले तपाईँलाई अनुशासित बनाउँछ, तपाईँलाई ‘कन्फिडेन्ट’ बनाउँछ । स्वस्थ जीवनको मूल आधार नै शारीरिक कसरत हो ।’
कुनै पनि आधारभूत अभ्यासबाट शरीर मेन्टेन हुने मात्र हैन ब्लड प्रेसर, सुगर, मोटोपन, डायबिटिजजस्ता रोगबाट बच्न पनि उत्तिकै लाभ मिल्ने उनको बुझाई छ ।
कार्डियो, वाकिङ, साइक्लिङ र जगिङ नियमित गरे पनि पूर्ण स्वस्थ हुने बताउँदै उनले भनिन् ‘एक्सरसाइजले हामीमा सकारात्मक सोंचतर्फ अघि बढाउँछ ।’
‘व्यायाम जुनसुकै उमेर समूहका लागि अनिवार्य छ, मलाई त एक दिन केही कारणले जिम जान पाइन भने भोलिपल्टदेखि शरीर दुख्न थाल्छ, खानामा अरुचि हुन्छ’ उनको अनुभव छ ।
अबको बाटो
पोखरामा उपाधि जितेपछि अब थप प्रतिस्पर्धामा सहभागी हुने लक्ष्य छ । यसैप्रति आकर्षण बढेपछि थप स्पर्धामा जाने योजना सामान्य रहेको उनी सुनाउँछिन् ।
भर्खरै दुई महिना बित्न आँट्यो उनी ट्रेनीबाट ट्रेनर समेत बनेकी छन् । अमरसिंहचोकस्थित ‘पावर जिम’ मा उनी प्रशिक्षकको रुपमा कार्यरत छिन् ।
नियमित कर्म बनेको जिम बाहेक यसबाट अपेक्षा राख्नु भनेको दिवाले अब राष्ट्रिय च्याम्पियनसिपमा स्वर्ण जित्नु हो । त्यससँगै, अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिने दीवाको चाहना छ ।
निरन्तरको अभ्यासले उत्साही उनले हाँस्दै भनिन्, ‘मोटोपन भएर ज्यान घटाउन जिम पुगेकी अबको लक्ष्य देश विदेशमा पुगेर ‘गोल्ड’ भित्र्याउने छ ।’