सुर्खेत – र्याकमा भरीभराउ पुस्तक । मनले रोजेको र खोजेका पढ्न पाइने । हप्ताभरी पढेका पुस्तकमाथिको छलफल अनि धेरै अध्ययन गरेवापत पुरस्कार । यो कुनै निजी कलेज, विश्वविद्यालय तथा पाठ्य संस्थानहरुले आयोजना गरेको प्रतियोगिता होइन्, सुधार गृहका रुपमा विकास गरिएको कर्णालीका कारागार भित्र सञ्चालन हुने क्रियाकलाप हुन् । जहाँ कैदीबन्दीले आफ्नो कैद भुक्तान मात्रै होइन, जीवन उपयोगी ज्ञानसमेत प्राप्त गर्नेछन् ।
कारागारलाई सुधार गृह बनाउने उद्देश्यसहित कर्णाली प्रदेश प्रहरी कार्यालयले प्रदेशका १० जिल्लामा रहेका कारागारमा पुस्तकालय स्थापना गरेको छ ।कैदीबन्दीको सुधार र सामाजिक पुनस्र्थापनाका लागि कारागार व्यवस्थित पुस्तकालय स्थापना गरिएको हो । मंसिरदेखि पाठ्यपुस्तक संकलन थालेको प्रहरीले आज (शनिबार) पुस्तकालय उद्घाटन गरेको छ ।
कैदीबन्दीमा पुस्तक अध्ययन गर्ने बानीको विकास गर्न जिल्ला तथा प्रदेश कारागारमा बुक क्लव गठन गरिएको हो । ‘भन्ने बित्तिकै पुस्तक अध्ययन गराउन सहज छैन, कैदीबन्दीलाई पुस्तकप्रति आकर्षित गराउन बुक क्लव गठन गरिएको छ’ प्रदेश प्रहरी प्रमुख डिआइजी महेशविक्रम शाहले भने, ‘गठन भएका ती क्लवमा हरेक शनिबार पुस्तक अध्ययन प्रतियोगिता र समिक्षा गर्नेछन् । हप्ताभरी अध्ययन गरेका पुस्तकमाथि विचार विमर्श हुनेछ । त्यसमध्ये उत्कृष्ट अध्ययनकर्तालाई पुरस्कृत गरिनेछ ।’
महिनामा उत्कृष्ट हुने कैदीबन्दीलाई पुस्तक पढेवापत कारागारको चिनोका रुपमा पुस्तक नै उपहार प्रदान गरिने छ । सुर्खेत, सल्यान, रुकुम पश्चिम, जाजरकोट, दैलेख, जुम्ला, डोल्पा, कालीकोट जिल्लामा कारागारभित्रै पुस्तकालय स्थापना हुनेछ ।
हुम्ला र मुगुमा भर्खरै निर्माण भएका कारागार भवन हस्तान्तरण नभएकाले हुम्लाको जिल्ला प्रशासनको कार्यालयभित्र र मुगुको जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय स्थापना गरिदै छ ।
यसरी गरियो पुस्तक संकलन
प्रहरीले प्रदेशमा कर्णाली प्रदेश प्रहरी प्रमुख डीआइजी महेशविक्रम शाहको संयोजकत्वमा पुस्तक संकलन अभियान समिति निर्माण गरेको थियो । जिल्ला–जिल्लामा प्रहरी प्रमुखको संयोजकत्वमा गठित समितिले पुस्तक संकलन गरेको छ ।
प्रदेश र जिल्ला प्रहरीले आठ हजार तीनसय ८८ वटा पुस्तक संकलन गरिसकेको छ । चार हजार दुईसय ८८ र जिल्लागत समितिबाट चार हजार एक सय ६ पुस्तक संकलन भइसकेको कारागारमा किताव अभियानका संयोजक एवम् डिआइजी शाहले बताए ।
अभियानका क्रममा ९ लाख ६८ हजार ६ सय ७५ रुपैयाँ बराबरको प्रदेश पुस्तकालय र ११ लाख ४० हजार एक सय ९७ रुपैयाँ बराबरका जिल्ला कारागारको पुस्तकालयका लागि पुस्तक खरीद गरिएको छ ।
यस्तै अभियानका क्रममा पुस्तक प्रकाशन गृह, पुस्तकालयबाट पनि आवश्यक पुस्तक सहयोग मागिएको थियो । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले पुस्तक खरिदका लागि पाँँच लाख रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत उक्त अभियानको परिकल्पना गरिएको थियो । पुस्तक संकलन भएसँगै अभियान सफल भएको डिआइजी शाहले बताए ।
अब ‘कैदीबन्दीसँग साहित्यकार’
कारागारमा पुस्तकालय स्थापना भएसँगै प्रहरीले साहित्यकार र लेखकहरुसँग कैदीबन्दीको अन्तरक्रिया गराउने भएको छ । कारागारमा पुस्तक अभियानको दोस्रो चरणमा साताको शनिबार कैदीबन्दी र लेखकबीच पुस्तक विमर्श गरिने भएको हो ।
स्थानीय साहित्यकार र प्रतिष्ठीत व्यक्तिहरुलाई कारागारमा बोलाएर जीवन सुधारका लागि अन्तरक्रिया गरिनेछ । यो अभ्यास कर्णालीका कारागारमा सम्भवत् पहिलो पटक हो । पुस्तकालयलाई औपचारिक रुपमा संचालनसँगै प्रहरीले कैदीसँग साहित्यकार अभियान पनि सुरु गरिनेछ ।
देशका प्रतिष्ठीत १५ जना वरिष्ठ साहित्यकारहरुले पहिलो पटक कैदीबन्दीसँग अन्तरिक्रिया गर्नेछन् । जसका लागि प्रदेश प्रहरीले साहित्यकार र जिल्ला कारागारबीच समन्वय गरेको छ । पुस्तकालय उद्घाटन सँगै वरिष्ठ साहित्यकार सनत रेग्मी, वरिष्ठ उपन्यासकार एवम् कथाकार नयनराज पाण्डे, कवि नवराज पराजुली जिल्ला कारागार सुर्खेत आउने छन् ।
निबन्धकार शेखर खरेल र उपन्यासकार तथा कथाकार कुमार नगरकोटी दैलेख कारागार पुग्ने छन् । सल्यानमा उपन्यासकार उमा सुवेदी र रामलाल जोशी, रुकुम (पश्चिम)मा कथाकार राजेन्द्र पराजुली र निबन्धकार कुमारी लामाले कैदीबन्दीसँग विमर्श गर्ने तालिका प्रहरीले सार्वजनिक गरेको छ ।
उपन्यासकार अर्चना थापा र सुविन भट्टराई जाजरकोट कारागार पुग्ने छन् भने उपन्यासकार युग पाठक कालिकोट आउने छन् । जुम्लामा उपन्यासकार सिवानीसिंह थारु र डोल्पामा उपन्यासकार तथा कथाकार अमर न्यौपानेले कैदीबन्दीसँग अन्तरक्रिया गर्दैछन् ।

                                                                                                                    
                                            
                            
                            
                            
                            
                            
भर्खरै
लोकप्रिय
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                
                
                




















 





































































 







































 

































































