 
                            धनगढी-स्वास्थ्य वीमा दिवसको अवसरमा सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुबेदीले स्वास्थ्य वीमा गरेका छन्।
सोमबार धनगढीमा आयोजित स्वास्थ्य वीमा दिवस कार्यक्रममा मन्त्री सुबेदीले आफु सहित ५ जनाको परिवारको वीमा गराएका हुन।
मन्त्री सुबेदीले स्वास्थ्य वीमा कार्यक्रमलाई प्रभावकारी बनाउन र यसमा सर्बसाधारणको आबद्धता बढाउन आफुले वीमा गरेको बताए। साथै उनले स्वास्थ्य वीमा कार्यक्रममा आबद्ध हुन सबैलाई आग्रह गरे।
कैलालीमा स्वास्थ्य विमा कार्यक्रम लागु भएको तीन वर्षको अवधिमा १४ प्रतिशत जनसंख्या मात्र आवद्ध भएको छ । नेपाल सरकारले सामाजिक स्वास्थ्य सुरक्षा विकास वोर्ड मार्फत २०७२ साल चैत २५ गतेदेखि स्वास्थ्य विमा कार्यक्रमको आरम्भ गरेको थियो।
२०६८ को जनगणना अनुसार कैलालीमा सात लाख ७१ हजार चार सय ७५ जनसंख्या रहेको छ । स्वास्थ्य विमाको प्रदेश कार्यालयको तथ्यांक अनुसार कैलाली जिल्लामा एक लाख दुई हजार पाँच सय २२ जना यस कार्यक्रममा आवद्ध भएका छन्।
कार्यालयका अनुसार विमा कार्यक्रममा महिलाको सहभागिता बढी रहेको छ। यस कार्यक्रममा ५३ हजार नौ सय ९५ महिला र ४८ हजार पाँच सय २७ पुरुष आवद्ध भएको स्वास्थ्य विमा कार्यालयको तथ्यांकमा उल्लेख छ।
स्वास्थ्य विमा कार्यक्रम सुदूरपश्चिमका सात जिल्लामा विस्तार गरिएको छ । कैलालीबाट शुरु भएको यो कार्यक्रम यस प्रदेशको बैतडी, बाजुरा, अछाम, बझाङ, कञ्चनपुर र दार्चुलामा विस्तार भइसकेको छ।
बोर्डका प्रदेश संयोजक जनक साउँदका अनुसार कैलाली, बैतडी, बाजुरा, अछाम र बझाङमा सेवा विस्तार भइसकेको र दार्चुला र कञ्चनपुरमा जेठ देखि सेवा विस्तार गरिने छ । यस प्रदेशको डोटी र डडेल्धुरामा पनि विमा कार्यक्रम विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार यस प्रदेशको कुल जनसंख्यामध्ये १० दशमलब ३८ प्रतिशत जनसंख्या स्वास्थ्य विमा कार्यक्रममा आवद्ध भएका छन्। प्रदेशको कैलालीमा एक लाख दुई हजार पाँच सय २२, अछाममा १७ हजार तीन सय ५४, बैतडीमा छ हजार पाँच सय ६८, बाजुरामा १९ हजार आठ सय ७९ र बझाङमा २० हजार सात सय ९३ गरि एक लाख ६७ हजार एक सय १६ जनसंख्या विमा कार्यक्रममा आवद्ध भएको जनाइएको छ।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































