
काठमाडौं-नेपाल आँखा अस्पताल त्रिपुरेश्वरले ४५औँ वार्षिकोत्सवका अवसरमा मोतियाविन्दु भएका व्यक्तिको निःशुल्क शल्यक्रिया गरेको छ।
अस्पतालले वार्षिकोत्सवको अवसरमा ४५ जना मोतियाविन्दु भएका व्यक्तिको निःशुल्क शल्यक्रिया गरेको हो।
मंगलबार अर्थमन्त्री डा. युवराज खतिवडाले वार्षिकोत्सवको औपचारिक उद्धघाटन गर्दै ४५ जना शल्यक्रिया गरिएका बिरामीको आँखाको पट्टी खोलेका हुन्।
अर्थमन्त्री खतिवडाले आफू अस्पतालको सेवासँग परिचित भएको बताउँदै अस्पतालको भौतिक संरचना र उपकरणमा सुधार भएको बताए।
उनले स्वास्थ्य सेवालाई सर्वव्यापी बनाउनका लागि स्वास्थ्य बिमा कार्यक्रम लागू गरेको समेत बताए। उनले भने, ‘३५ सय तिरेर बिमा सदस्य बनि एक लाख बराबरको निःशुल्क उपचार सेवा लिने व्यवस्था गरिएको छ, तर बिमा रकम तिर्न नसक्ने विपन्न वर्गको हकमा भने सरकारले नै बिमा रकम वापतको शुल्क तिरिदिने व्यवस्था गरेको छ।’
अर्थमन्त्री खतिवडाका अनुसार सविधानले स्वास्थ्यलाई मौलिक हकका रुपमा सुनिश्चित गरेको र अब त्यसको कार्यान्वयन गर्नका लागि स्वास्थ्यसम्बन्धी कानुन बनाइएको छ। त्यसैगरी, नेपाल आँखा अस्पतालका संस्थापक नेत्र रोग विशेषज्ञ डा. रामप्रसाद पोखरेलले विशेषगरी ५/६ वर्षको उमेरका बालबालिकाको आँखा जाँच गराउनु पर्ने बताए।
‘सानो उमेरमा बच्चाले आँखामा भइरहेको समस्या थाहा नपाउँदा त्यसले पछि जटिलता उत्पन्न गर्नुका साथै अन्धोपना पनि निम्त्याउन सक्छ’, उनले भने, ‘पछिल्लो समयमा अन्य कारणले भन्दा पनि मधुमेहका कारणले अन्धोपना बढीरहेको छ, अहिले अन्धोपनको पहिलो कारण मोतियाविन्दु नै हो तर मधुमेहका कारणले आँखाको ज्योति गुमाउनेको संख्या बढ्दो क्रममा छ।’
उनले काठमाडौं उपत्यकालाई अन्धोपना निवारण गरिनु पर्नेमा समेत जोड दिएका छन्।