
पोखरा – नेपालमै पहिलो पटक सिमेन्ट कंक्रिट ढलान गरिएको पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ‘रन वे’ निर्माणको काम सम्पन्न भएको छ।
२ हजार ५ सय मिटर लम्बाई, ४५ मिटर चौडाइ भएको ‘रन वे’ को सिमेन्टेड ढलान ३४ सेन्टिमिरटको छ।
‘रन वे’ निर्माणको काम सम्पन्न भएसँगै विमानस्थल आयोजनाको ३५ प्रतिशत काम सम्पन्न भएको चिनियाँ ठेकदार कम्पनी सिएमसीईका जनसम्पर्क अधिकृत कृष्ण चापागाईले जानकारी दिए।
‘महत्वपूर्ण रन वेको काम सकेका छौं’, उनले भने, ‘टर्मिनल भवनको फाउन्डेशन उठाएर टाइबिम कस्ने काम भइरहेको छ। एप्रोन निर्माणको काम यस अघि नै सकिसकेका छौं।’
झण्डैं २२ अर्ब चिनियाँ ऋण सहयोगमा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको काम यहिँ स्तरमा भइरहे सम्झौता समय अगावै निर्माण सम्पन्न हुने आयोजना पक्षको दाबी छ।
राष्ट्रिय गौरवको आयोजना अन्तर्राष्ट्रिय विमानस्थल निर्माण थालेको १५ महिनामा ३५ प्रतिशत काम सकिएको चापागाईले जानकारी दिए। ‘सम्झौता समय अगावै निर्माण सम्पन्न गर्नेगरी काम गरिरहेका छौं’, उनले भने ।
विमानस्थलमा बन्ने १४ हजार स्क्वायर मिटरको टर्मिनल भवन बन्न लागेको हो। अन्तर्राष्ट्रिय टर्मिनल भवनका लागि ८ हजार र डोमेस्टिक उडान प्रयोजनको लागि ६ हजार स्क्वायर गरी वार्षिक ५ लाख यात्रु क्षमता सहित टर्मिनल भवन निर्माण भएको बताइएको छ।
ट्याक्सी पार्किङ, ड्रेन, ह्याङगर निर्माण, जमिन पाट्ने सहितका कामहरु समेत उहिँ गतिमा अघि बढाइरहेको चापागाईले जनाए।
सरकारले विमानस्थल निर्माणका लागि सन् २०१४ मे १२ मा चिनियाँ ठेकेदार कम्पनी सिएएमसिईलाई ठेक्का दिएको थियो।
विमानस्थल अन्तर्राष्ट्रिय उड्यन संस्था (आइकाओ)को मापदण्ड अनुसार फोरडी मोडलमा निर्माण हुने जनाइएको छ। विमानस्थल सञ्चालनमा आएसँगै बोइङ ७५७ र एयरबस ३२० वा सो सरहका जहाजले उडान भर्नेछन्।
विज्ञहरुका अनुसार ७३ टनसम्मका जहाज तत्कालै उडान अवतरण गर्न सक्ने भएपनि बोइङ ७५७ र एयरबस ३२० लगायतका ठूला जहाजको उडान भने तत्काल गर्न मिल्दैन।
चिनियाँ ठेकेदरा कम्पनी सिएमसिईसँग नेपाल सरकारले गरेको सम्झौता अनुसार सन् २०२१ जुलाई १० मा सम्पन्न गरी विमानस्थल हस्तान्तरण हुनेछ।
सन् २०१७ को नोभेम्बरदेखि विमानस्थलको निर्माण सुरु गरिएको हो। विमानस्थलको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओलीले २०७३ वैशाख १ गते गरेका थिए।