भूकम्पपछिको पुनर्निर्माण कास्कीमा सुस्त

भत्के ६ हजार, बने साढे ३ सय

भत्के ६ हजार, बने साढे ३ सय
+
-

पोखरा – विनाशकारी भूकम्प गएको ४ वर्ष बित्यो । भूकम्पको प्रभावबाट कास्की अछुतो रहेन । जहाँ ६ हजार २६ घर पूर्ण क्षति भए । सरकारले कम प्रभावित १७ जिल्लामध्ये कास्कीलाई पनि समावेश गर्‍यो ।

क्षतिको आधारमा मूल्यांकन गर्दै जिल्ला सूचीकृत गर्न सरकारले समय लगायो । त्यसको प्रभाव हाल कास्कीमा भूकम्पपछिको पुनर्निर्माणमा देखिएको छ ।
भूकम्प पीडितको संकलित विवरणको आधारमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)कास्कीले लाभग्राहीलाई अनुदान रकम सिफारिस गर्छ ।

कार्यालयका अनुसार अनुदान हस्तान्तरणको समयसीमा असार मसान्त आइपुग्न लाग्दा पनि कास्कीमा उल्लेखनीय रुपमा पुनर्निर्माण सम्पन्न भइसकेको छैन् ।
भूकम्प प्रभावित जिल्ला छनोटमा बिलम्ब हुनु । क्षति भएका घरको लगत संकलनमा समय लाग्नु । आयोजना कार्यान्वय इकाईसँग स्थानीय तहको तालमेल हुन नसक्नु जस्ता समस्याले पुनर्निमाण अलमलियो ।

केही ढिला गरी थालिएको निजी आवास पुनर्निर्माण अनुदान कार्यक्रम प्रभावकारी बन्न नसक्दा प्रभावितले राहत विश्वास गर्न सकेनन् । सम्बन्धित कार्यालयबाट स्थानीय तह (फिल्ड)मा प्राविधिक पुग्न नसक्दा आफूखुसी घर निर्माण भए । मापदण्ड पूरा नगरी निर्माण थालिएका कतिपय घरहरु अझैसम्म पनि अलपत्र अवस्थामा छन् ।

वास्तविक भूकम्प प्रभावित जसले प्राविधिक पुग्न अगावै घर बनाए । अनुदानको आसमा लाभग्राहीको सूचीमा त्यस्ता नामावली अझै छन् । जसकारण पुनर्निर्माण सम्पन्न भइसकेको छैन् ।

इकाई कार्यालय कास्कीका अधिकृत (फोकल पर्सन) अर्जुन न्यौपानेका अनुसार वैशाख पहिलो सातासम्म ३ सय ६७ घरले मात्रै पूर्ण अनुदान रकम लिएका छन् ।
बाँकी ५ हजार ६ सय ५९ प्रक्रियामा छन् । पूर्ण क्षति भएका लाभग्राहीलाई सरकारले ३ किस्तामा ३ लाख रुपैयाँ वितरण गरेको छ ।

पूर्ण र आंशिक क्षति गरेर दुई समूहमा वर्गीकरण गरिएको छ । यहाँ आंशिक क्षति व्यहोर्ने थोरै छन् । २ सय ४२ घरले आंशिक क्षतिको लाभग्राही सूचीमा समावेश छन् ।
कम क्षति भएकालाई सरकारले प्रवलीकरण (रेक्टोफिटिङ) बापत १ लाख रुपैयाँ अनुदान रकम उपलब्ध गराउँछ । जिल्लाका १ सय २२ घरले हालसम्म पहिलो किस्ता बापतको ५० हजार रुपैयाँ बुझेका छन् ।

सरल प्रक्रिया टुंगिने भएपनि बाँकीले चासो नदेखाएको अधिकृत न्यौपाने बताउँछन् । पूर्ण क्षति भएकामध्ये ५ हजार ६ सय २० घरधुरीले पुनर्निर्माण सम्झौता गरी पहिलो किस्ता ५० हजार बुझे । सोहीमध्ये २ हजार ३ सय ३४ घरले पुनर्निर्माण थाल्दै टाइबिमसम्मको प्रगति देखाएर दोस्रो किस्ता १ लाख ५० हजार लिइसकेका छन् ।

२ लाख अनुदान रकम लिइसकेका १ हजार ९ सय ६७ घर समयमै सम्पन्न गर्न नसक्दा तेस्रो किस्ता बापतको बाँकी १ लाख रुपैयाँ लिन सकेका छैनन् ।
सरकारले लाभग्राहीको सूचीमा समावेश निजी आवासको पुनर्निर्माण सक्न आउँदो असार मसान्तलाई तोकेको भएपनि यस किसिमको प्रगति विवरणले त्यस समयमा काम सम्पन्न गरिसक्न हम्मे छ ।

नाम समावेश भएका तर प्रक्रिया झन्झट मान्ने लाभग्राहीको व्यक्तिगत स्वभावले समेत पुनर्निर्माण ढिला भएको कार्यान्वय इकाई कार्यालयको दाबी छ । न्यौपाने भन्छन्, ‘पहिलो किस्ता लिँदा नै पीडितले घर पुनर्निर्माणका लागि प्रतिबद्धतासहित सम्झौता गर्नुभयो ।

तर दोस्रो किस्ता लिनका लागि उहाँहरुले घरको टाइबिम गर्नुभएन । काम सकेकाहरुले लिनुभयो । तर तेस्रो किस्ता लिँदाखेरी अधिकांशले मापदण्ड अनुसारको भवन निर्माण नहुँदा सिफारिसमा परेनन् ।’

मापदण्डसँगै परिवारमा सम्पत्ति स्वामित्व हस्तान्तरण लगायतमा समस्या देखिँदा निजी घर बनाउन कठिन भएको उनले बताए । विवरण संकलनको आधारमा पहिलो किस्ता सम्झौता गरेर पैसा पाउने अधिकांश लाभग्राहीले दोस्रो किस्ता पाउन सकेनन् । कतिपय सुकुम्बासीको हकमा समेत यस्तो समस्या देखियो ।

प्राविधिक फिल्डमा पुग्न अगावै बनिसकेका घरमा भने अनुदान रकम वितरणमा समस्या थियो । भूकम्पपछि तत्काल बस्ने विकल्प नभएकाहरुले सरकारलाई नपर्खी निजी लगानीमा बनाइएका घरका सम्बन्धमा निर्णय भएको अधिकृत न्यौपानेले जानकारी दिए ।

‘त्यस्ता घरहरुको हकमा सम्बन्धित स्थानीय तह गाउँपालिका/नगरपालिकाको सिफारिसमा अनुदान रकम वितरण गर्ने भन्ने निर्देशन छ,’ उनले भने, ‘असारमसान्तभित्र त्यस्ता समस्या देखिएका लाभग्राहीको सूचीमा भएका घरलाई अनुदान वितरण गर्ने तयारी छ ।’

कतिपयको हकमा भने पुनर्निर्माण सम्झौता गरेर पहिलो किस्ता लिने तर घर भत्काउन आवश्यक नदेख्दा रेक्टोफिटिङको विकल्प खोजेकाले लगत अनुसारको काम भए नभएको यकिन गर्नसमेत समस्या छ ।

रेक्टोफिटिङको विकल्प लिन चाहने घरलाई भने प्रक्रियामा कुनै झन्झट नहुने कार्यालयले जनाएको छ ।

गुनासो सम्बोधन भएन


जिल्ला आयोजना कार्यान्वय इकाई कास्कीमा पुनर्निर्माण सम्बन्धी ३ हजार ३ सय ८८ गुनासा दर्ता भएका छन् । बढी गुनासो लाभग्राही सूचीमा नपरेकाहरुले गरेको कार्यालयका अधिकृत न्यौपानेले जानकारी दिए ।

प्राविधिकसहितको सर्भे स्थानीय तहमा गएको भएपनि सामान्य त्रुटिका कारण नाम छुटेको हुन सक्ने कार्यालयको अनुमान छ । कुनै स्थानमा भने सर्भे नै नपुग्दा लाभग्राहीमा पर्न नसकेको भन्दै गुनासो आउने गरेको अधिकृत न्यौपानेले जानकारी दिए ।

पुनःनिर्माणसम्बन्धी गुनासो व्यवस्थापन कार्यविधि, २०७४ अनुसार फछ्र्यौट गर्न सकिने छ । कार्यविधिमा स्थानीय तहका वडास्तरीय गुनासो व्यवस्थापन समिति सम्बन्धित वडाध्यक्षको संयोजकत्वमा गठन हुने व्यवस्था गरिएको छ ।

समितिमा प्राधिकरणबाट इन्जिनियर वा सबइन्जिनियर सदस्य र वडा सचिवलाई सदस्यसचिव तोकिएको छ । प्राप्त गुनासो सम्बोधनका लागि वडास्तरबाट प्रक्रिया थालिने भएपनि हालसम्म काम भने भएको छैन ।

४३ विद्यालयसँग पुनर्निर्माण सम्झौता


भूकम्पले हल्लाएर क्षति पुगेका १ सय ७० विद्यालय भवनमध्ये ४३ विद्यालयले भवन पुनर्निर्माण सम्झौता गरेका छन् । पोहोर ९ विद्यालय र यो वर्षमा ३४ विद्यालयले आरसिसी फ्रेममा संरचना बनाउन राजी भएका हुन् ।

पहिलो चरणमा १ सय ७० विद्यालयले भवन बनाउन प्रस्ताव राखे पनि थोरै संख्यामा मात्र सम्झौता भए । ४ कोठे भवन निर्माणका लागि १८, ३ कोठे भवनका लागि ६ र २ कोठे आरसिसी भवन निर्माणका लागि १८ विद्यालयले काम थालिरहेको जनाइएको छ ।

विद्यालय व्यवस्थापन समितिको बैठकबाट पारित भवन निर्माण लागतसहितको प्रस्तावनामा कार्यान्वयन इकाईले रकम सिफारिस गर्छ ।

१८ महिनाभित्र २ सडक सम्पन्न गर्ने लक्ष्य


जिल्ला आयोजना कार्यान्वयन इकाई कास्कीले अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार क्षेत्र हेर्दै आइरहेको छ । कार्यालयले स्थानीय पूर्वाधार अन्तर्गत कास्कीका २ सडक निर्माणको जिम्मेवारी लिएको थियो ।

हेमजा खानेपानी मुहान–लुम्र–सिदिङ सडक १५.९ किमी आयोजना निर्माण ठेक्का सम्झौता भएको छ । २६ करोढ २ लाख रुपैयाँमा १८ महिनाभित्र निर्माण सक्ने सम्झौतासहित हिमदुङ एन्ड थोकर ड्यागन जेभीलाई ठेक्का दिइएको छ ।

शिशुवा–पोल्याङटार सडक निर्माण अर्को आयोजना हो । कुल २१ करोड ३२ लाख ९९ हजार लागतमा १६.२ किमी सडकको निर्माण आशिष एन्ड फेवा जेभिले गरिरहेको छ ।

दुवै सडक निर्माण ठेक्का सम्झौता २०७५ असार अन्तिम साता भएको थियो । दुवै आयोजनाको हालसम्मको पूर्वाधार विकास प्रगति ३५ प्रतिशत रहेको कार्यालयले जनाएको छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?