
काठमाडौं-राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका इन्जिनियरहरुले सामूहिक राजीनामा दिएका छन्।
भूकम्पपछिको पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउनुपर्ने आफूहरुको माग सरकारले सुनुवाई नगरेको भन्दै सामूहिक राजीनामा दिएको घोषणा गरेका हुन।
चार वर्षअघि विनाशकारी भूकम्प गएको स्मृतिमा बिहीबार देशभर विभिन्न कार्यक्रम भइरहँदा पुनर्निर्माणमा जुटेका इन्जिनियरहरुले भने सरकारले आफूहरुको माग सुनुवाई नगरेको भन्दै काठमाडौंमा पत्रकार सम्मेलन गरी सामूहिक राजीनामा दिएको जानकारी गराएका छन्।
भत्तालगायतका सेवा सुविधा उपलब्ध गराउन गर्दै आएको माग नौं महिनासम्म पनि सरकारले सुनुवाई नगरेपछि ३२ जिल्लामा पुनर्निर्माणमा जुटेका इन्निनियरहरु सामूहिक राजीनामा दिन बाध्य हुनु परेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण प्राविधिक राष्ट्रिय हक हित संरक्षण समितिका अध्यक्ष अविनाश अमरले बताए।
उनले भने, ‘सरकारले दिने भनेको स्वास्थ्य, सञ्चार, यातायात खर्च लगायत मासिक तलब दिने भनेको सरकारले हामीलाई उक्त सेवासुविधा दिएन। हामीमाथि सरकारले अन्याय गर्यो। जबसम्म हाम्रो माग पूरा हुँदेन। हामी सबैले राजीनामा पेश गर्छौ। पुनर्निर्माणका कामहरु सबै रोक्छौ आजैदेखि।’
प्राधिकरणका इन्जिनियरहरुले विगत नौं महिनायता कटौती गरिएको भत्तालगायतका सेवा, सुविधा उपलब्ध गराउन सरकारसँग माग गर्दै आन्दोलन गर्दै आएका थिए। तर त्यसको सुनुवाई नभएपछि बाध्य भएर राजीनामा दिनु परेको समितिका अध्यक्ष अमरको भनाई छ। समितिले आफूहरुको माग सरकारले सम्बोधन गरे पुनर्निर्माणको काममा पुन: फर्कने प्रतिवद्धता पनि जनाएको छ।
भत्तालगायतको सेवा, सुविधा उपलब्ध गराउन माग गर्दै पुनर्निर्माणमा खटिएका करिव १ हजार ५ सय इन्जिनियरहरुले गत फागुन २५ गतेबाट आन्दोलन सुरु गरेका थिए।