
पोखरा-पोखरा विश्वविद्यालय केन्द्रीय कार्यालय परीसरमा विरोध प्रदर्शनमा उत्रिएका ११ विद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय कास्कीले पक्राउ गरेको छ । सम्बन्धन प्राप्त ४२ क्याम्पसका ‘डि प्लस’ विद्यार्थीलाई रजिस्ट्रेसन लिई परीक्षामा सहभागि गराउन सर्वोच्चले दिएको आदेश विरुद्धमा विद्यार्थी शुक्रबारदेखि आन्दोलित छन्।
विश्वविद्यालयले आज सोमबारदेखि सञ्चालन गरेको सबै संकायका सेमेष्टर अन्तर्गतको अन्तिम परीक्षामा सहभागि हुन जाने विद्यार्थीलाई अवरोध पु¥याएको आरोपमा पक्राउ गरिएको कास्की प्रहरी उपरीक्षक ओम रानाले जानकारी दिए।
पक्राउ पर्नेमा फिरोज सुवेदी, प्रताव बाँनिया, रोशन सुनार, सरोज शाह, प्रविण ओझा, राधव तिवारी, सुस्मा गौतम र विकास रानाभाट छन् । पक्राउ ८ जनालाई वडा प्रहरी कार्यालय रामबजारको नियन्त्रणमा राखिएको छ । बाँकी असिम पौडेल, अशोक तिवारी र मदन साउदलाई जिल्ला प्रहरी कार्यालय कास्कीको नियन्त्रणमा राखिएको एसपी रानाले बताए।
‘परीक्षा सञ्चालन हुने समयमै परीक्षामा सहभागि हुन जाने विद्यार्थीलाई असहज गराएपछि पक्राउ गरेका हौं,’ एसपी रानाले भने। विश्वविद्यालयले स्नाततक तह व्यवस्थापन संकायमा भर्ना हुन कक्षा ११ र १२ मा १ वा सोभन्दा बढी विषयमा न्यूनतम ‘सि’ ग्रेड ल्याउनुपर्ने प्रावधान बनाएको भएपनि सम्बन्धन प्राप्त काठमाडौंका ४२ कलेजले ‘डि ल्पस’ ग्रेड ल्याएका विद्यार्थी भर्ना लिएपछि तनाव उत्पन्न भएको हो।
अनेरास्ववियु, नेविसंघ, अखिल (क्रान्तिकार)ि सम्बद्ध विद्यार्थी संगठनले उक्त कलेजलाई कारबाही गर्नुपर्ने माग राख्दै आएका छन्। सर्वोच्चले सम्बन्धन प्राप्त क्याम्पसमा भर्ना भई शुल्क बुझाएर नौ महिनासम्म निरन्तर पढिरहेका विद्यार्थीलाई परीक्षाबाट बञ्चित गर्न नहुने आदेश गरेको थियो।
३ सय ४४ विद्यार्थीलाई पोखरा विश्वविद्यालयको परीक्षा समितिले परीक्षामा सामेल गारउने निर्णय यसअघि नै गरिसकेको छ।