लक्ष्मीको साहस

भाँचिएको ढाडले रोकेन नेशनल च्याम्पीयन हुन

भाँचिएको ढाडले रोकेन नेशनल च्याम्पीयन हुन
+
-

काठमाडौँ – अनपेक्षित संकट आइलाग्दा ‘मर्नुको विकल्प छ्रैन’ भन्ने सोच आउँछ। तर धैर्य, विवेक र उचित प्रयासका साथ अघि बढ्दा त्यही संकट अवसरको रुपमा परिवर्तित बन्छ। र, त्यही स्थिति गर्वको विषय बन्छ।

लक्ष्मी कुँवर त्यस्तै परिस्थिति र संघर्षको उपज हुन् । रुखबाट बजारिदा ढाड भाँचिएपछि दुवै खुट्टा एकाएक नचल्ने भए । केही समयका लागि जीवनको अर्थ र सान्दर्भिकता सकिए जस्तै लाग्यो ।

पुकार गरिन, ‘मलाई मृत्यु देउ भगवान।’ तर त्यसको १२ वर्षपछि आफ्नो कारण विदेशमा देशको झण्डा उपयुक्त र उचाईमा फहराउँदा, आफ्ना कारणले आफू जस्तै अरुको दिनचर्या सहज भइदिँदा र मृत्यु नजिक पुगेकाहरु जीवनको गोरेटोमा फर्कन चाँहदा आफूमा अपांगता भएकोमा चिन्ता गर्नु पर्ने कारण देख्दिनन् उनी । बरु गर्व नै गर्छिन् त्यसमा ।

कठिन र कष्टपूर्ण यथार्थ स्वीकार गर्न मन सहजासँग तयार हुँदैन । गुल्मीको सामान्य परिवारकी लक्ष्मीकालागि घरको कामकाज सकेपछि दौढिएर भए पनि समयमै स्कूल पुग्नुले अर्थ राख्थ्यो। एक दिनको त्यस्तै दौढ अन्तिम बन्यो उनका लागि २०६३ साल माघ १९ गते घाँस काट्दै गर्दा रुखबाट खसेपछि।

उनको गन्तव्य स्कुल हैन राजधानीको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल बन्न पुग्यो । शल्यक्रियामार्फत उनको ढाडमा पाता राखियो, तर उनको खुट्टा त्यसबेला चिकित्सकका लागि प्राथमिकता बनेन् ।

जोरपाटीस्थित स्पाइनल कर्ड इन्जुरी पुनस्र्थापना केन्द्रको परामर्शमा उनले बल्ल पत्तो पाइन्, ‘अब मेरा दुवै खु्ट्टा चल्दैनन्।’ त्योसँगै उनका अनगिन्ती सपना विलिन भएको ठानिन् र ‘व्हीलचेयर’ उनको सहारा भयो। पीडा शब्द भन्दा आँसुबाट बगाउनु नियती बन्यो। एकाएक आफू सबैका लागि बोझ बने जस्तै लाग्यो।

सायद लक्ष्मीको पीडा उनलाई उक्त पुनस्र्थापना केन्द्रमा सिलाईको तालिम दिने पूर्णिमाले बुझिन्। उनलाई ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर’ लगिन् । आफू जस्तै अपांगता भएका तर आफ्ना लागि सबै काम, आफै गर्ने, जागिर खाने र अध्ययन अघि बढाएकाहरु भेटिन उनले त्यहाँ।

भोजराज र कृष्णले प्रेरित गरे। उनको मनोबल एकाएक बढ्यो । काठमाडौँमै बसेर अध्ययन अघि बढाउने अठोट गरिन्। नयाँ जुट्यो । त्यही सन्टरले छात्रवृति दियो उनलाई । काठमाडौँमा डेरा पाउनु अर्को चुनौति बन्यो उनका लागि।

‘कतिले झपारेर, कतिले रुवाएर पठाएको स्मरण छ उनलाई। म जसरी पनि पैसा तिर्छु। सरसफाई मेरो जिम्मा भयो भन्दै कड्किएपछि जोरपाटीमा एउटा कोठा पाएँ’, लक्ष्मीले विगत सम्झिन्। शौचालय उनको अनकुल थिएन। प्लास्टिकको कुर्ची काटेर ‘कोमढ’ बनाइन्।

तर अँध्यारो एउटा कोठा, एक्लो बसाई उनका लागि पट्ट्यार लाग्दो थियो । त्यसमा पनि अपांगता भएकाले कसरी पकाउँछन्? कसरी सुत्छन् अनि कसरी लुगा धुन्छन्? छिमेकी झयालबाट चिहाउने गर्थे। परिस्थितिलाई बदल्ने क्षमता उनमा थिएन । तर सामना गर्ने साहस पलाई रहेको थियो उनमा।

कठनाईकाबिच ९ कक्षाबाट अध्ययन सुरु गरिन्। तर अपांगमैत्री थिएन स्कुल । ‘अरु विद्यार्थी पास भएपछि माथिको कक्षा कोठामा जान खोज्छन्। तिम्रा लागि मात्रै तल कक्षा राख्न सकिन्न’, यस्तै जवाफ पाउँथिन स्कूलबाट उनले।

कक्षा १० मा अध्ययनका क्रममा नेपाल स्पाइनल कर्ड इन्जुरी खेलकुद संघ स्थापना गर्ने प्रस्ताव केही सिनियर साथीहरुबाट आयो। खेल कहिल्यै खेलेकी थिइनन्। तर यो प्रस्तावमा उनले अवसर देखिन्। २०६६ सालमा स्थापना भएको संघको उपाध्यक्ष भइन्।

एक वर्षपछि उनको समूहले खेलको तालिम लिन र अरुलाई पनि सिकाउन थाल्यो। उनले उच्चशिक्षालाई पनि अघि बढाइन् । व्हीलचियर स्वीमिङ, बास्केट बल लगायत खेल उनका रोजाईमा परे। उनको सक्रियतामा व्हीलचियर बास्केट बलमा १२ वटा समूह पुगे, महिलाका मात्रै ७ वटा ।

स्वीमिङ खेल्ने दुई जनाबाट दर्जनौँ भए। आफू नेशनल च्याम्पियन बनेको समेत पत्तो पाइनन् उनले, उपाधी हात पर्दा विजय भाव भन्दा खुसीका आँसुको वेगको अनुभूति गरिन उनले भित्रभित्रै।

यात्रा अघि बढी रह्यो। सन् २०१६ मा ब्राजिलको पारा ओलम्पीक, सन् २०१४ मा कोरियाको एसियन गेममा छनौट भइन्। जापान, डेनर्माक लगायत देशमा तालिमका लागि पुगिन । फर्केर आफ्नो अनुभव अरुलाई बाड्न थालिन ।

अहिले उनीसँग खेल सिक्ने महिला भन्दा पुरुष बढी छन्। ‘सुरुमा म विदेश गएँ तालिमका लागि । अहिले अरुलाई पठाउँछु । महिलालाई खेलमा ल्याउन मन छ तर उनीहरुको अनगिन्ती समस्या हुन्छन् अपांगताभित्र पनि ।’

‘नेशनल च्याम्पियन’ बनिसकेपछि लक्ष्मीले थाहा पाइन अन्तर्राष्ट्रिय उपाधि हात पार्ने तरिका।

अन्य मुलुकबाट उनीसँग प्रतिश्पिर्धा गर्ने खेलाडीका लागि एक जना सहयोगी, चिकित्सक, छ्टै फ्ल्याट, भत्ता लगायतको व्यवस्था सरकारले गरेको थियो । उनीहरुको काम खाने र खेल्ने मात्रै थियो। तर आफ्नो छाक आफै जुटाइरहेकी थिइन लक्ष्मी।

सरकारको दायित्व उनीमाथि थिएन। ‘हामी माथि सरकारले लगानी गर्दैन। किनकी उसलाई लाग्छ हामी केही पनि गर्न सक्दैनाैँ। सायद लगानी भएको भए उपाधी पनि जित्थ्यौँ होला। अहिलेका लागि अन्तर्राष्ट्रिय प्रतियोगतामा सहभागि हुनुलाई नै ठूलो ठानेको छु मैले’, लक्ष्मीले भनिन्।

उनीसँग स्वसिर्जित आत्मविश्वास कुन हद सम्म छ भने काठमाडौँबाट आफ्नो जन्मथलो गुल्मी स्कुटरमा पुगिन्, पछाडि व्हीलचियर झुन्डाएर। ‘ढाँड भाँचिएकी केटी मरी सकिहोली भनेको त यसरी गाउँ आइ भन्दै कुरा गरे।

मलाई गाउँ देख्न मन थियो अनि अपांगता भएकाले पनि अध्ययन र काम गर्न सक्छन् भन्ने सन्देश पनि दिनु थियो’, लक्ष्मीले भनिन्। अघिल्लो पल्ट दसैँ ताका मन थाम्न नसकेपछि उनी सार्वजनिक बसमा गुल्मी जाँदाको पीडाले उनलाई स्कुटर चलाउन सहास दियो।

आफन्तले उचालेर गाडीमा हाल्नु पर्ने, आफै झर्न नसकेपछि शौच गर्न नपाइने, खान नपाइने, पुगेपछि पनि आफन्त झार्न र बोक्न आउनुपर्ने झमेलाबाट मुक्त हुन चाहान्थिन् उनी ।

र अब यता उनी स्कुटरमा दैनिक जोरपार्टीबाट ललितपुर सानेपास्थित काम गर्न आउँछिन् । ‘मलाई देख्नासाथ रोकिएको सार्वजनिक बस पनि कुद्थ्यो। तपाईँलाई कसरी उचाल्ने, व्हीलचियर कहाँ राख्ने भन्दै बसका सहचालकहरु पन्छिन्थे।

केहीसमय जोरपाटीबाट शंखमुल टेम्पमा र त्यसपछि व्हीलचियरमा सानेपा आउँथे । गाह्रो भयो अनि स्कुटर किने त्यसमा बुवााआमाले सहयोग गर्नु भयो’, लक्ष्मीले भनिन्।

तर आफ्नो सबै काम व्हीलचियरबाट सक्दा गर्विलो स्वाविमान अनुभुत गर्छिन्। खाना पकाएर र खाएर करिव बिहान ८ बजे उनी कार्यालयतर्फ मोडिन्छन् उनी । लामो, कच्ची र धुलाम्मे सडक कष्टकर लाग्छ । कार्यालय पुगेपछि त्यो बाटोका सबै दुःख भुल्छिन्।

प्लस टू सकेपछि आफूलाई अध्ययनका लागि छातवृत्ति दिलाउने भोजराज र कृष्णको संस्थामा गएर भनेकी थिइन्, ‘मलाई तपाईँहरुले पढाउनु भयो अव मैले गर्न सक्ने केही काम छ भने दिनुहोस म गर्छु ।’

‘केही राम्रो गर्न मलाई भगवानले अपांगता दिनु भएको रहेछ। मेरो खुट्टा चल्ने भएको भए त्यतिबेलै माग्न आउँथे, बिहे हुन्थ्यो र चुलोचौकोमा सीमित हुन्थे’, उनले भनिन्।

लक्ष्मीको काँधमा अहिले खासगरी दुई वटा जिम्मेवारी छ । आफू जस्तैका लागि खेलक्षेत्रको विकास गर्ने र अपांगता भएकाको जीवन सहज बनाउने। त्यसलाई जीवनको ‘मिसन’ बनाएकी छन्।

उनले दोहोराइन्, ‘अहिले अपांगता भएका कारण देशको झण्डा बोकेर बाहिर चिनाउन पाएकी छु, त्यसले सबैभन्दा धेरै खुशी दिन्छ।’

सबै तस्बिर : रविन आचार्य/देश सञ्चार

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?