
धनगढी– खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीले हाल सुदूरपश्चिमको राजधानी रहेको धनगढीका होटेल तथा रेष्टुराँको स्तरीकरण गरेको छ।
खाद्य स्वच्छताको आधारमा होटल तथा रेष्टुराँ व्यवसायलाई स्वच्छ र मर्यादित बनाउन पहिलो चरणमा धनगढीका १६ वटा होटललाई स्तरीकरण गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय धनगढीका खाद्य अनुसन्धान अधिकृत दिपक कुँवरले जानकारी दिए।
१६ वटा होटल मध्ये होटल फ्लोरा र होटल सनलाइट मात्रै उत्तम देखिएको उनले बताए। उनका अनुसार होटल दिनेश, होटल रूवश, होटल जलशा, आफ्नो घर टेम्पल रिसोर्ट र होटल डिभोटी भने सन्तोषजनक रहेका छन्। होटल साथी, होटल होली प्यालेस, होटल हटपट, होटल सोराइ, होटल ज्ञानु प्लाजा, होटल के आइ, होटल नयाराम, होटल विकास, होटल आस्था भने सामान्य रहेको खाद्य अधिकृत कुँवरले बताए।
स्तरीकरणका क्रममा अति उत्तम भने एउटा पनि होटल नरहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, धनगढीले जनाएको छ।
खाद्य स्वच्छताका आधारमा होटल, रेष्टुराँ स्तरीकण गर्ने निर्देशिका–२०७४ अनुसार गरिएको मुल्याङ्कनका आधारमा स्वच्छताको स्तर छुट्याउने गरिएको उनले बताए। निर्देशिका अनुसार खाद्य स्वच्छता स्तर अति उत्तम भएका होटलमा ‘क’ वर्गको तीन तारे हरियो ‘स्टिकर’ टाँस्ने गरिएको छ। यस्तै उत्तम भएकोमा ‘ख’ वर्गको दुई तारे हरियो ‘स्टिकर’ र सन्तोषजनकमा ‘ग’ वर्गको एक तारे हरियो ‘स्टिकर’ र सामान्यमा ‘घ’ वर्गको पहेँलो ‘स्टिकर’ टाँस्ने गरिएको छ। ‘स्टिकर’ टाँससँगै व्यवसाय सञ्चालकलाई खाद्य स्वच्छता स्तरको प्रमाणपत्र समेत प्रदान गर्ने गरिएको छ।
होटल, रेष्टुराँको खाद्य स्वच्छता स्तर मूल्याङ्कनका लागि ५० वटा प्रश्नावली तयार पारिएको छ। सोही आधारमा ९० भन्दा बढी अङ्क पाउने अति उत्तम ‘क’, ८० देखि ८९ भित्रको अङ्क पाउने उत्तम ‘ख’, ६५ देखि ७९ सम्म अङ्क पाउने सन्तोषजनक ‘ग’ र ५० देखि ६४ सम्म अङ्क पाउने सामान्य ‘घ’ वर्गमा पर्ने गरेका छन्।
यस अघि धनगढी उपमहानगरपालिकाका मेयर नृप वडले होटेलमा स्टिकर टाँसेर कार्यक्रमको उद्घाटन गरेका थिए।