
धनगढी– अछाम जिल्लाको साँफेबगर नगरपालिका–२ जाल्पादेवी स्थित त्रिपुरा बहुमुखी क्याम्पसको भवन निमार्णका लागि जग खन्ने क्रममा सुनचाँदी भेटिएको छ।
भवनको पिल्लरका लागि जग खन्ने क्रममा मजदुरले १९ तोला ८९ लाल सुन र १ सय ३२ तोला ७३ लाल चाँदी फेला परेको प्रहरीले जनाएको छ।
जग खन्ने मजदुरहरुबीच फेला परेको सुनचाँदी भागवण्डामा विवाद भएपछि कुरा बाहिर आएको वडा नम्बर २ का अध्यक्ष कालुसिंह कुँवरले बताए। उनले भने, ‘करिब एक हप्ता अगाडी नै फेला परेको सुनचाँदी हो, तर मजदुरबिच कुरा नमिल्दा शुक्रबार मात्र बाहिर आयो।’ अहिले प्रहरीको निगरानीमा खन्ने काम भइरहेको छ। सो ठाउँबाट पुराना मूर्ति समेत फेला परेका छन्।
फेला पारेको सुनचाँदी इलाका प्रहरी कार्यालय साँफेबगरमा राखिएको छ। वडा अध्यक्ष कुवँरले भने–‘पहिले राजाको बसोबास रहेको ठाउँ भएकाले पुराना सुनचाँदीहरु भेटिएको हो।’
फेला परेको सुन सुनचाँदी व्यवसायीसँग जाँच गराएपछि इलाका प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार मजदुरले फेला पारेको केही सुन बेचेर खाएको आशंकामा ६ जनालाई हिरासतमा राखेर सोधपुछ समेत चलिरहेको छ।
त्यस ठाउँमा वि.सं. १४२४ मा श्रीकोटमा राजा सूर्य मल्लको दरबार रहेको इतिहास छ। वि.सं. १४०९ मा डोटीलाई राजा निरय पालले स्वतन्त्र घोषणा गरेपछि उनको प्रभावलाई अन्त्य गर्न र सिंजाको पकडमा डोटीलाई पार्न सूर्य मल्ल श्रीकोटमा दरबार बनाएर बस्न थालेपछि त्यस बेला सो ठाउँलाई सूर्यकोट दरबार भन्न थालिएको स्थानीयले बताएका छन्।