
धनगढी– धनगढी उप–महानगरपालिकाले बुधवारदेखि नगरमा ग्रीन क्लीन अभियान सुरु गरेको छ। उप-महानगरपालिकाका मेयर नृपबहादुर ओडले बुधबार एक कार्यक्रमकाबिच धनगढी उप–महानगरपालिका–८ को क्याम्पस चोकमा अभियानको उद्घाटन गरे।
उपमहानगरले अभियान शुरु गरेसँगै अब उप–महानगरपालिका क्षेत्रमा निर्माण हुने नीजि तथा सरकारी घरमा हरियो रंग लगाउन सबैलाई अनुरोध गरेको छ। घरमा लगाईने जस्ताहरु पनि हरियो रंगको नै लगाउनु पर्ने छ। धनगढी उप–महानगरपालिकाको अफिसियल रंग अब हरियो भएको बताउँदै नगरप्रमुख वडले अब नयाँ निर्माण हुने नगरका संरचनामा पनि हरियो रंग नै प्रयोग गर्न आग्रह गरे।
यस अभियानमा एक घर दुई बिरुवा रोप्नुपर्ने कुरालाई पनि राखिएको छ। धनगढी उप–महानगरपालिकाले यसका लागि गत बर्ष मात्रै बिभिन्न वडामा २० हजार लिची र आँपका बिरुवा वितरण गरेको थियो।
उप-महानगरपालिकाले अनिवार्य दुईवटा फलफुलका बिरुवा रोपेमा मात्रै घर सम्पन्नको प्रमाणपत्र दिने व्यवस्थासमेत गरेको छ। धनगढी उप–महानगरपालिका वडा नं. ८ का अध्यक्ष नारायण प्रशाद बरालले विजया सिमेन्ट प्रा.ली.को प्रायोजनमा वडा नं ८ को क्याम्पस चोक क्षेत्रमा निजीघरहरुमा हरियो रंग लगाउन सुरु गरिएको बताए।
धनगढीलाई सफा राख्नका लागि धनगढी उप–महानगरपालिका र कैलाली उद्योग बाणिज्य संघले हरेक १५ दिनमा धनगढी नगर सरसफाई अभियान समेत सुरु गरेका छन्।