 
                            धनगढी– नेपाली कांग्रेसका सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवालाई धनगढीमा सम्मान गरिएको छ। उनले एसएलसीसम्म अध्ययन गरेको विद्यालयले एक कार्यक्रमकाबिच उनलाई शनिबार सम्मान गरेको हो।
डोटीको उच्चाकोटमा अवस्थित सीताराम माध्यामिक विद्यालयबाट पहिलो व्याजमा २०१९ सालमा एसएलसी पास गरेका देउवालाई सम्मान–पत्र सहित सम्मानित गरिएको हो। महेश रामायण सभाद्वारा संचालित सीताराम माध्यामिक विद्यालयको हिरक महोत्सव–२०७६ को समापनको अवसरमा देउवालाई दोसल्ला तथा कदरपत्रसहित सम्मानित गरेको हो। विद्यालयले एसएलसीको पहिलो व्याजमा पास हुने देउवा लगायत तीन जनालाई सम्मानित गरेको हो।
देउवासँगै त्रिभुवन विश्वविद्यालयका पूर्वडिन डाक्टर प्रेमराज पन्त र गोविन्द केसीले सो विद्यालयबाट प्रवेशिका परिक्षा उत्तीर्ण गरेका थिए। सभापति देउवालाई विद्यालयका पूर्वप्राचार्य लोकराज पन्तले दोसल्ला ओढाएर प्रमाणपत्र प्रदान गर्दै सम्मान गरे भने पन्त र केसीका आफन्तलाई पूर्वप्रधानमन्त्री सभापति देउवाले प्रमाणपत्र प्रदान गरेर सम्मान गरेका हुन्।
देउवासहित प्रतिनिधि सभा सदस्य एवं नेकपा स्थायी समिति सदस्य लेखराज भट्ट, पूर्वमन्त्री भक्तबहादुर बलायर, वीरबहादुर बलायर, प्रदेश सभा सदस्य पूर्णा जोशी लगायतलाई पूर्व विद्यार्थीका रुपमा सभाले सम्मान गरेको छ।

यस्तै, सभाले विद्यालयका पूर्वप्राचार्य, संस्थापक सदस्य, चन्दादाता, समाजसेवीलाई प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेको छ। सभाले डाक्टर मेघनाथ पन्तलाई विद्यालयमा ४ लाख ५० हजारको छात्रवृत्ति अक्षय कोष स्थापना गरेकोमा सम्मान गरेको छ।
सम्मानित भएपछि देउवाले सीताराम माध्यामिक विद्यालय रामाश्रम उच्चकोट डोटीले दिएको शिक्षाले गर्दा नै आफू यहाँसम्म पुगेको बताए। देउवाले सुदूरपश्मिको विकासका लागि आफू गृहमन्त्री हुँदादेखि नै सक्रिय भएको बताए। यसअघि सञ्चारकर्मीसंग कुरागर्दै देउवाले सरकारले स्वतन्त्र प्रेसमाथि अंकुश लगाउन खोज्नु दुर्भाग्य भएको बताए। स्वतन्त्र प्रेसमाथि सरकार निरंकुश बन्दै गएको सभापति देउवाको आरोप छ।
‘सबै क्षेत्रमा सरकारले हस्तक्षेप गर्न खोजेको छ, त्यसको कांग्रेसले प्रतिरोध गर्छ’, देउवाले भने, ‘कांग्रेसले जागरण अभियानमार्फत आफ्ना कुरा जनतामा पुर्याउने छ।’
पूर्वप्रधानमन्त्री देउवाले संसदमा सभामुखको भूमिका पनि राम्रो नभएको बताए। देउवाले आफ्नै पहलमा सुदूरपश्चिमलाई काठमाडौँसंग जोडेको उल्लेख गर्दै भने,‘कर्णालीमा पुल बनेको छ, राजमार्गमा दर्जनौ पुलहरु बनेका छन्, पहाडमा बाटाघाटाहरु बनेका छन्।’
देउवाले यस क्षेत्रको विकासमा सबै मिलेर जानु पर्ने बताए। उनले सुदूरपश्चिम विश्वविद्यालय लथालिङ भएको र गेटा मेडिकल कलेजको काम अझै नसकिएकोले यस क्षेत्रका लागी अझै धेरै गर्नु पर्ने बताए।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































