 
                            धनगढी-सुदूरपश्चिम प्रदेश सरकारले आफ्नो पहिलो पूर्ण बजेट मार्फत ल्याएको प्रदेश बस सञ्चालन योजनाबारे आर्थिक बर्ष सकिन एक महिना मात्र बाँकी रहँदा छलफल शुरु गरेको छ।
प्रदेश सरकारले यसै बर्ष भित्र प्रदेश बस सञ्चालन गर्ने घोषणा गरेको थियो तर घोषणा अनुसार कार्यान्वयनका लागि भने हाल सम्म प्रदेश सरकारसँग कुनै योजना नै छैन। यस बिषय संग सरोकार राख्ने प्रदेशको भौतिक पुर्वाधार विकास मन्त्रालयका मन्त्री देखि सचिवसम्म अहिलेसम्म अलमल्ल देखिएका छन्।
प्रदेश सरकारले चालु आर्थिक बर्षमा प्रदेश बस सेवा संचालनका लागि २० करोड बजेट समेत बिनियोजन गरेको छ। सोमबार प्रदेशको यातायात पुर्वाधार निर्देशनालयले आयोजना गरेको ‘प्रदेश बस संचालन सम्बन्धी अध्ययन अन्तरक्रिया तथा परामर्श गोष्ठी’ मा सहभागि सचिब देखि मन्त्रीका तर्क नै फरक फरक देखिए।
मन्त्रालयका सचिब इन्जिनियर इन्द्रदेव भट्टले चालू आर्थिक बर्षमा दुई बस मात्रै भए पनि सञ्चालन गर्ने मन्त्रालयको तयारी रहेको बताए । तर अहिले सम्म कसरी संचालन गर्ने, काँ गर्ने भन्ने बारेमा बिधि भने बनेको छैन। सचिब भट्टले भने–‘नेपाल र बिदेशमा पनि सरकारले संचालन गरेका वस सेवा घाटामा छन, सफल बनाउन गम्भिर तयारी आवश्यक छ।’
एकातिर सचिवले अबको एक महिना भित्र २ बस भएपनि प्रदेश सरकारले संचालन गर्ने बताए भने अर्कोतीर सरकारले संचालन गरेका बस सेवा घाटामा रहेको बताए। सोही मन्त्रालयका मन्त्री पठानसिंह बोहोराले यो बिषय अत्यन्तै नौलो रहेकाले सबै अलमलमा रहेको बताए।
उनले भने–‘जनतालाई सहज र सुलभ यातायात दिने उदेश्यले यो योजना ल्याईएको हो तर अझै धेरै छलफल बाँकी छ ।’ प्रदेश सरकारले आगामी आर्थिक बर्षको निति तथा कार्यक्रमको तयारी शुरु गरिसकेको छ तर अघिल्लो आर्थिक बर्षको प्रदेश सरकारको महत्वपुर्ण योजनाको भने छलफल नै हुन वाँकी रहेको मन्त्री बताईरहेका छन्।
योजनाबारे तयारी केही नभएपनि यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले भने-‘प्रदेश सरकारले बस सेवा संचालन गर्छ, यसमा कुनै शंका छैन।’ उनले दिर्घकालिन हुने चिज काममा ढिलाई भएपनि त्यसमा कुनै समस्या नहुने बताए। उनले भने–‘नयाँ कामको शुरुवात भएकाले केही अन्यौलता हुनु स्वभाविक हो, तर प्रदेश सरकार बस सेवा संचालन गरेरै छोड्छ।’
प्रदेश सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयले चैत मा काठमाण्डौंको ग्रिड कन्सल्ट प्रालिलाई अध्ययनको जिम्मेवारी दिएको थियो । सो परामर्शदाता कमपनीले सुदूरपश्चिम भरी यायायात सेवाको अवस्था र सडकको अवस्थाकबारे अध्ययन गरेको जनाएको छ।
सोमबार धनगढीमा आयोजित कार्यक्रममा कन्सल्टेन्सीका प्रमुख डा. प्रदीपकुमार श्रेष्ठले सुदूरपश्चिम प्रदेशमा शहरी यातायातको अवस्था कमजोर रहेको, पूर्वाधारको अभाव रहेको र अनुगमन संयन्त्र प्रभावकारी नभएको आफुले अध्ययनको क्रममा पाएको बताए।
उनले प्रदेश सरकारका तर्फबाट सुदूरपश्चिम प्रदेशमा छोटो र लामो दुरी गरी तत्काल ४ वटा बसहरु सञ्चालन गर्न सकिने अवस्था रहेको बताए।
प्रदेशमा सडकको अवस्थामा सुधार ल्याई ठूलो बस, मिनि बस र माइक्रो बस गरी तीन थरीका बसहरु सञ्चालन गर्न सकिने अवस्था रहेको कन्सल्टेन्सीले जनाएको छ । कन्सल्टेन्सीका प्रमुख श्रेष्ठले अहिले आफुहरुले प्रारम्भिक अध्यन मात्र गरेको बताए।

 
                                                                                                                     
                             
                             
                             
                             
                             
                             भर्खरै
भर्खरै लोकप्रिय
लोकप्रिय 
                                         
                                         
                                         
                                         
                                        
 
                 
                 
                 
                 
                 
                 
                 
                 
                





















 
 





































































 
 







































 
 

































































